logo
२०८१ बैशाख ११ मंगलवार



पश्चिमी सीमा नाका भएर आउने विदेशी पर्यटक नगन्य 

विदेश |
खुला |


पश्चिमी सीमा नाका भएर आउने विदेशी पर्यटक नगन्य 


 कञ्चनपुर, साउन २७ गते । कोरोनाको सङ्क्रमणको जोखिमका कारण पश्चिमी सीमानाका गड्डाचौकी भएर यस वर्ष दुई पर्यटक मात्रै भित्रिएका छन् । भारतस्थित नेपाली राजदूतावासबाट अनुमति लिएर आएका दुई जना भारतीय पर्यटक अगस्त महिनामा भित्रिएका थिए ।    
    
 अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार सन् २०२१ को अप्रिलमा एक जना र जुलाईमा २० जना गरी २१ जना भारतीय पर्यटक सीमानाका हुँदै भारततर्फ गएका छन् । कोरोनाको दोस्रो लहर शुरु भएपछि सीमानाका भएर विदेशी पर्यटक भने नभित्रिएको अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले बताउनुभयो ।    
    
 उहाँका अनुसार सन् २०२० को जनवरीदेखि डिसेम्बर महिनाको अवधिमा सीमानाका भएर ६२० पर्यटक नेपाल भित्रिएका थिए । सोही अवधिमा ५१९ पर्यटक भारततर्फ गएका थिए । कोरोनाको पहिलो लहर शुरु हुनुभन्दा अघि सीमानाका हुँदै प्रतिवर्ष दुई हजारको हाराहारीमा पर्यटक नेपाल भित्रिने गरेका थिए । सोही सङ्ख्यामा पर्यटक भारततर्फ जाने गरेका थिए ।    
    
 “कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि सीमानाका बन्द गरिँदा पर्यटक आउन पाएनन्”, अध्यागमन कार्यालयका सूचना अधिकारी भट्टले भन्नुभयो, “हाल सीमानाका भएर नेपाल र भारतका व्यक्तिलाई मात्रै जान दिइने गरेको छ । दूतावासबाट अनुमति लिएर आएका विदेशीलाई मात्रै सीमा प्रवेश दिइने गरेको छ ।” अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार सन् २०१९ मा सीमानाका भएर दुई हजार ९३४ पर्यटक भित्रिएका थिए । सोही अवधिमा दुई हजार २९२ पर्यटक सीमानाका हँुदै बाहिरिएका थिए ।    
    
 सन् २०१८ मा दुई हजार ९३० पर्यटक भित्रिएकोमा दुई हजार २२२ पर्यटक बाहिरिएका थिए । सन् २०१७ मा दुई हजार ७४५ आएका, एक हजार ७८९ बाहिरिएका थिए । सन् २०१६ मा दुई हजार ५६२ पर्यटक भित्रिएका थिए । सोही अवधिमा एक हजार ५५९ पर्यटक बाहिरिएका थिए । अध्यागमन कार्यालयका कर्मचारीका अनुसार कोरोनाको सङ्क्रमण नरोकिँदासम्म विदेशी पर्यटक आउने सम्भावना छैन । विदेशी पर्यटक नआएपछि राजस्व सङ्कलनसमेत प्रभावित भएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?