logo
२०८१ बैशाख ११ मंगलवार

  एकल महिलाकाे साेचमा आएको परिवर्तन  



मरेर हार्न भन्दा बाँचेर जित्न सिकें

विदेश |
समाज |


मरेर  हार्न भन्दा बाँचेर जित्न सिकें


ज्ञानु पंगेनी
कावासोती, साउन १६ गते । ‘ममी नयाँ बाबा किन्न जाउँ न , बजारबाट आउँदा बाबालाई किनेर ल्याउनु है, सबैको बाबा हुनुहुन्छ, मेरो किन हुनुहुन्न ?’ यस्तो प्रश्न गर्दा एउटी आमाको मन कस्तो भयो होला ? कल्पना गर्दा पनि गहभरी आँसु भरिन्छ । भोग्नेलाई त झनै कति असह्य भयो होला ? । एउटी आमाको मन मुटु नै चिराचिरा परेको थियो छोराले प्रश्न गर्दाको त्यो समय । कलिलो बालकलाई एउटी आमाले कसरी सम्झाउने ? बाबा किन्ने वस्तु होइन भनेर ।
श्रीमतीको लागि श्रीमान् वा श्रीमान्का लागि श्रीमती नभए पनि धेरै फरक नपर्ला तर एउटा बच्चाको लागि उसका दुवै अभिभावको ममता आवश्यक पर्छ । बाल मस्तिष्कले जे कुरा आफूसँग छैन सोही कुरा पाउन जिद्दी गर्छ । कुनै वस्तु मागे त किनेर दिन पनि सकिएला तर, जन्मदिने बाबा खोज्दा कसरी किनेर ल्याउनु एउटी आमाले !
पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका – ५ निवासी दरिमाया रानाको एउटा तितो भोगाई हो यो । उहाँ अहिले ३० वर्षको हुनुभयो । उहाँको छोरा अहिले ५ वर्ष पुगेको छ । छोरो ४ वर्ष लाग्दै गर्दा पहिलो पटक उसले यसरी प्रश्न सोधेको थियो । अझै पनि बेलाबेलामा त्यसैगरी प्रश्न गरिरहन्छ । जसको जवाफ दरिमायाले दिन सक्नुभएको छैन ।
१३ वर्ष अघि आफैँ मनपराएर बिहे गरेको श्रीमान्ले वास्ता गर्न छाडे, माया नै मारे । बिहे भएको ११ वर्षसम्म खुसीयाली रहेको उहाँको जिवनमा एकाएक अन्धकार छायो । बिहे भएको लामो समयसम्म पनि सन्तान नभएपछि श्रीमान् श्रीमती दुवै मिलेर हरसम्भव प्रयास गर्नुभयो । धेरै खर्च गरी उपचार गरेपछि सन्तान पनि भयो । सन्तान नहँुदा घर परिवार र समाजले लगाएको लाञ्छना सबै बिर्सेर अगि बढ्नुभयो ।
बिहे गरेको ८ वर्षसम्म सँगै रहेका श्रीमान् सन्तानको भविश्य र परिवारको खुसीका लागि पनि पैसा कमाउन पर्छ भन्ने सोँचेर छोरो गर्भमा छँदा पहिलो पटक विदेश जानुभएको थियो । विदेश गएर पहिलो पटक आउँदासम्म सबै राम्रो थियो । सन्तान पनि भयो । कमाई पनि राम्रै छ । अब चारपाँच वर्ष विदेशमा कमाउने त्यसपछि नेपालमै केही गर्ने र सँगै बस्ने योजना बनाएर दोश्रो पटक विदेश गएका श्रीमान् उतै रमाउन थालेपछि दरिमायाको जीवन मोडियो ।

श्रीमानले फोन पनि गर्न छाडे । फोन गर्दा उठाउन छाडे , पैसा पनि पठाउन छाडे, छोराको हालखबर पनि सोध्न छाडे । सामाजिक सञ्चालमा पनि ब्लक गरिदिए । त्यति धेरै माया गर्ने श्रीमान् एकाएक किन परिवर्तन भए ? भनेर दरिमायालाई चिन्ता पर्न थाल्यो । एकदिन दरिमायाको भाईले भिनाजुको फेसबुकमा अर्कौ महिलासँगको फोटो देखे । फोटो मुनी दिदीको घरका आफन्तले भाउजु, बुहारी जस्ता कमेन्ट लेखेको देखे । दिदीलाई सो कुरा जानकारी गराए । त्यसपछि दरिमायालाई आफ्नो जिवनमा भुँईचालो नै आएजस्तो भयो । उहाँले देखेका सबै सपना भताभुङ्ग भए । एकअर्काविना बाँच्नै नसक्ने अटुट प्रेममा दरार आयो ।
घरपरिवाले पनि साथ दिएनन् । छोराकै सपोर्ट गर्ने, अर्को ल्याएपनि केही हुन्न भन्ने गर्दा दरिमाया घरमा समेत बस्न सक्ने वातावरण भएन । त्यसपछि त दरिमाया भित्रैदेखि टुट्नुभयो । – ‘दुई वर्षसम्म म कसरी बाँचे भन्ने मलाई नै थाहा छैन । नत खान मन लाग्थ्यो, न त निद्रा नै लाग्थ्यो । जतिबेला पनि श्रीमान्कै याद आउने, रोएको रोएै गर्थे , माईतीमा बस्थेँ, भाईले सम्झाउथ्यो तर, मेरो मन सम्झिन सक्दैनथ्यो । ’ दरिमायाले भन्नुभयो –
काखमा सानो बालक , बच्चाकै लागि पनि केही गर्नैपर्छ भन्ने सोँचेर उहाँका माईतीले न्यायिक समितिमा निवेदन दिए । घरपरिवारसँग छोरालाई झिकाउन भनियो । खर्च भर्न भनियो तर, केही गर्दा पनि पार लागेन । दरिमाया डिप्रेशनमा जानुभयो । उहाँलाई डिप्रेशनको औषधी खानुपर्ने भयो ।
गाउँकै कसैले उहाँलाई आप्रवासी श्रोत केन्द्रको ठेगाना दियो । विदेशबाट श्रीमान्लाई झिकाउन सकिन्छ भन्ने आशामा उहाँ छ महिनाअघि कावासोतीस्थित आप्रवासी श्रोत केन्द्रमा बुझ्न आउनुभयो । सोहीक्रममा उहाँको मनोपरामर्शदाता विमला श्रेष्ठसँग भेट भयो । त्यसपछि सुरु भयो दरिमायाको नयाँ जीवन   ।
आप्रवासी श्रोत केन्द्र कावासोती मार्फत् सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी अन्तरगत वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले मानसिक समस्यामा परेकाहरुलाई मनोपरामर्श समेत प्रदान गरिन्छ ।
मनोपरामर्शपछि नै दरिमायाको जीवनले अर्को मोड लियो । उहाँ भन्नुहुन्छ । ‘म त सबैथोक श्रीमान् नै हो भन्ने सोच्थे , श्रीमानविना म कसरी बाच्नु , बच्चा पनि सानै छ कसरी पाल्ने ? एकमनले सोच्थे जे सुकै होस् बरु मर्छु आनन्दै हुन्छ , अनि फेरि छोरा सम्झन्थे र रोकिन्थे । ’ उहाँ थप्नुहुन्छ । ‘अब मैले जिवन बुझेँ, जब मेरो माया बुढोलाई छैन । उ मबाट धेरै टाढा पुगिसक्यो, अर्कैको भइसक्यो भने म उसैको यादमा दिनरात रोएर आफैँलाई रोगी बनाएर किन बस्ने ? महिलाले पनि त गर्न सक्छन् पुरुषकै भर पर्नु पर्दैन । ’
दरिमायालाई मनोपरामर्शदाता श्रेष्ठले भन्नुभएको एउटा कुराले निकै छोयो – ‘म्याडमले भन्नुभयो तपाईं र तपाईंको श्रीमान्ले आगोमा सँगै हात हाल्नुभयो । तपाईंलाई पोल्यो अब तपाईंले पहिला कस्को हात निकाल्नुहुन्छ ? आफ्नो कि ? श्रीमानको ? त्यतिबेला मैले मेरै हात पहिला निकाल्छु भने । अनि उहाँले भन्नुभयो । यसरी नै तपाईंले अब आफ्नो जिवनलाई माया गर्नुस् । तपाईंलाई आफ्नो जीवनको माया नलाग्ने भए पहिले श्रीमानको हात निकाल्नुहुन्थ्यो होला नि तपाईंलाई त तपाईंको जीवनको धेरै माया भयो होइन र ? अनि मैले सोँच हो त । यो कुराले मलाई शक्ति दियो । अनि मैले अब मेरो लागि र छोराको लागि बाच्नुपर्छ भन्ने सोचेँ । ’
अहिले दरिमाया देवचुलीमा डेरा गरी बस्नुहुन्छ । उहाँले स्थानीय फार्मेसी र अस्पतालहरुमा सहयोगीका रुपमा काम गर्नुहुन्छ । आफ्नो र छोराको लागि आफँै कमाउन सक्छु भन्ने आँट आएको छ । उहाँ भन्नुहुन्छ – ‘मैले विगतलाई बिर्सन थालिसके म श्रीमान्लाई सम्झेर रुँदिन् । छोरोले कहिलेकाहिँ बाबा खोज्छ अनि उसले सोधेका प्रश्नले आँसु बग्छ तर , सम्हाल्छु आफूलाई, छोरो बुझ्ने भएपछि आफैँ थाहा पाउँछ । ’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?