logo
२०८० चैत्र १६ शुक्रवार



शारीरिक सुगठन प्रतियोगितामा नेपालीलाई अमेरिकामा स्वर्ण

विदेश |
खेलकुद |


शारीरिक सुगठन प्रतियोगितामा नेपालीलाई अमेरिकामा स्वर्ण


कृष्णराज खनाल
नर्थ क्यारोलिना । नेपाली खेलाडीहरु पनि अमेरिकी खेलक्षेत्रमा प्रवेश गरेर राम्रो नतिजा दिन थालेका छन् । यसको पछिल्लो उदाहरणका रुपमा उत्सव सिंह देखिनुभएको छ । सिंहले अमेरिकामा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा एकैसाथ दुइवटा स्वर्ण पदक प्राप्त गर्नुभएको छ ।
गत हप्ता अमेरिकाको टेक्सस राज्यको उलेन सहरमा प्रोफेसनल न्याचुरल बडी विल्डिंग एसोसिएसनले आयोजना गरेको मिष्टर तथा मिस युएसए प्रतियोगितामा सहभागी सिंहले एकसाथ दुइवटा स्वर्णपदक प्राप्त गरेर सनसनीपूर्ण नतिजा दिनुभएको छ ।
उहाँले पुरुषतर्फको फिजिक क्याटागोरी र नोभिस क्याटागोरी दुवैमा स्वर्णपदक प्राप्त गर्नुभएको हो । उहाँको यो उपलब्धि नेपाल र नेपालीका लागि गौरवको कुरा हो । अमेरिकामा संभवतः नेपाली शारीरिक सुगठन खेलाडीले प्राप्त गरेको यो स्वर्णपदक पहिलो हो । यो उपलब्धि सँगसँगै अब उहाँ व्यावसायिक खेल खेल्नका लागि योग्य पनि हुनुभएको छ । यसलाई पनि उहाँले ठूलो उपलब्धिका रुपमा लिनुभएको छ । ‘कुनै पनि खेलाडीका लागि प्रो कार्ड पाउनु अन्तिम लक्ष्य हो’उहाँले भन्नुभयो । करिब दुइ वर्ष अघि बाल्टिमोरमा सम्पन्न मेन्स फिजिक क्याटागोरीमा पनि सिंहले स्वर्णपदक प्राप्त गर्नुभएको थियो । अमेरिकामा यो उहाँको पहिलो सहभागिता हो ।
३४ वर्षीय सिंहले ‘यो नतिजााबाट आफू निकै खुसी भएको र यो सन्देश सबै नेपालीसँग बाँड्न चाहेको’ प्रतिक्रिया दिनुभयो । बुटबल स्थायी घर भई करिब सात वर्षदेखि अमेरिकाको टेक्सस राज्यमा परिवारका साथ बसोवास गर्र्दै आउनुभएका सिंहले नेपालमा हुँदादेखि नै ७५ केजी तौल समूहमा शारीरिक सुगठनका थुप्रै प्रतियोगितामा सहभागिता जनाउनुभएको थियो र त्यो पेसालाई अमेरिका आएर पनि अपनाइरहनुभएको छ ।
यसैबीच, उत्सव सिंह सुगठित शरीर हुनेहरुका लागि अमेरिकाको प्रसिद्ध पत्रिका मिष्टर हेल्थ एण्ड फिटनेसको कभर पेजमा आउने लगभग पक्का भएको छ । हालसम्म उहाँको वरियता दोस्रो छ । मतबाटै यसको निक्र्योल हुने भएकोले उहाँले अमेरिकामा रहेबसेका सबै नेपाली दाजुभाइ दिदीबहिनीसँग मतको अपेक्षा पनि गर्नुभएको छ । ‘तपाईहरुको सहयोगले म यो पत्रिकाको अग्रपृष्ठमा पुग्नसक्छु भन्ने अपेक्षा छ’ उहाँले भन्नुभयो । उक्त पत्रिकाको अग्रपृष्ठमा तस्वीर प्रकाशित भएको खण्डमा २० हजार डलर पनि प्राप्त गर्नुहुनेछ मतदानमा सहभागी हुनका लागि जुलाई १५ अर्थात् विहीवारसम्म मतदान गरिसक्नुपर्नेछ ।
‘म यो पत्रिकामा आउन सफल भएँ भने यसबाट प्राप्त रकममध्ये केही रकम बाढीपीडितका लागि, केही रकम अनाथालय र केही रकम बृद्धाश्रमलाई प्रदान गर्नेछ’ु उहाँले भन्नुभयो ।
(खनाल अमेरिकामा कार्यरत पूर्व गोरखापत्रकर्मी हुनुहुन्छ)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?