logo
२०८० चैत्र १६ शुक्रवार



भर्चुयल माध्यमबाट महारानीलाई नेपाली राजदूतको ओहोदाको प्रमाणपत्र

विदेश |


भर्चुयल माध्यमबाट महारानीलाई नेपाली राजदूतको ओहोदाको प्रमाणपत्र


लण्डन समाचारदाता
लण्डन, जेठ २६ गते । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायतकी महारानी एलिजावेथ द्वितीयसमक्ष बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनु भएको छ ।
लण्डनस्थित बकिङ्घम प्यालेसमा आयोजित कार्यक्रममा राजदूत रेग्मीले भर्जुअल माध्यमद्धारा ओहोदाको प्रमाणपत्र बुझाउनु भएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

कोभिड १९ को कारण प्रत्यक्ष भेटभाट बन्द गरिएकोले महारानीले विन्सर क्यासल दरबारबाट भर्चुअल माध्यममार्फत विभिन्न देशका राजदूत तथा हाइ कमिश्नरहरुको ओहोदाको प्रमाणपत्र बुझ्दै आउनु भएको छ ।
ओहोदको प्रमाणपत्र बुझाउदै राजदूत रेग्मीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बेलायती महारानीको खुशी तथा सुस्वास्थ र बेलायती जनताको निरन्तर प्रगतिको शुभकामनासहितको सन्देश सुनाउनु भएको थियो ।

राजदूत रेग्मीले नेपालको आर्थिक तथा सामाजिक विकासमा बेलायतले महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै कोभिड महामारीमा बेलायतले नेपाललाई प्रदान गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । जवाफमा महारानीले राजदूत रेग्मीलाई स्वागत तथा कार्यकाल सफलताको शुभकामना दिदै नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्ध सुमधुर रहदै आएको बताउनुभयो ।

महारानीले आफ्नो नेपालको राजकीय भ्रमणको स्मरण गर्दै नेपालमा कोभिड १९ महामारी तथा खोपको बारेमा समेत चासो व्यक्त गर्नुभएको थियो। निर्वतमान मुख्यसचिवसमेत रहनु भएका रेग्मीले गत फागुन १७ गते बेलायतका लागि नेपालको २१औँ राजदूतको रुपमा पदभार ग्रहण गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?