logo
२०८१ बैशाख ८ शनिवार



मेलम्चीको हेडवर्क निर्माण सम्पन्न, भौतिक काम लगभग पूरा

राष्ट्रिय |


मेलम्चीको हेडवर्क निर्माण सम्पन्न, भौतिक काम लगभग पूरा


मुकुन्द गैरे
काठमाडौं, जेठ २३ गते । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाकोे बाँकी काममध्ये हेडवर्क निर्माणकाे काम पनि सम्पन्न भएको छ ।
मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले हेडवर्क बनाउने काम सम्पन्न भइसकेको र बाहिर गेटका ढोका राख्नको लागि काम भइरहेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
पछि सुरुङमा जस्तै समय समयमा हेडवर्क सफा गर्नुपर्ने हुन्छ त्यसको लागि मानिस र क्रेन जान सक्ने गेट चाहिने भएकोले त्यसको लागि काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
गेटको बाँकी काम पनि अव केही समयमा सम्पन्न हुने आयोजनाको भनाई छ । यस बाहेक अब मेलम्ची आयोजनाको भौतिक निर्माणको काम लगभग सबै सम्पन्न भएको छ ।

पाइप लाइनकाे काम धमाधम
यसै गरी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा पनि मेलम्चीको नयाँ पाइपलाइनको काम भइरहेको छ ।
स्वास्थ्य मापदण्ड पालना गरी काठमाडौं उपत्यकामा धमाधम पानी परीक्षण र नयाँ पाइप विछयाउने, घरघरमा मिटर राख्ने काम भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
काठमाडौं, र ललितपुरका रिङरोड क्षेत्रमा पाइपको परीक्षण र मिटर जडानदेखि पाइप बिछयाउने काम पनि एकैसाथ भइरहेको आयोजना निर्देशनालयका उपनिर्देशक उज्वल प्रजापतिले जानकारी दिनुभयो ।

मेलम्चीको पानी काठमाडौं आए पछि सुरुमा पुरानै वितरण प्रणालीबाट पानी वितरण गरिए पनि अहिले बिस्तारै नयाँ धारामा पनि पानी वितरण बढाउँदै गएको उहाँले जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा १६२ वटा एरियामध्ये हाल पाँच वटा एरियामा नयाँ पाइपलाइनबाट पानी वितरण भइरहेको छ जसमा एउटा क्षेत्रमा मात्रै पाँचसयदेखि सातसय घरको धारा हुने गरेको उपनिर्देशक प्रजापति बताउनुहुन्छ ।
कोरोनाको कारण काममा केही असहज भए पनि नयाँ पाइपलाइनको काम तीव्र गतिमा भएकोले अवको सात महिनाभित्र सबै नयाँ पाइपलाइनबाट पानी पठाउने निर्देशनालयको योजना  छ ।

यसैगरी भक्तपुरको कटुन्जेमा पानीपोखरी बनाउने काम पनि भइरहेको छ । उपत्यकामा भित्र लगभग सबै ठाउँमा पानी ट्याङ्कीको निर्माण सम्पन्न भइसकेको छ । मेलम्ची खानेपानी आयोजनाले पानी पथान्तरणका लागि महत्वपूर्ण पूर्वाधारहरुको निर्माण सम्पन्न भएसँगै २०७७ फागुन १० गतेबाट सुरुङ परीक्षण कार्य आरम्भ गरेको थियो ।
परीक्षणको क्रममा २०७७ फागुन २२ गते सुन्दरीजलमा पानी आइपुगेको थियो । यसरी प्राप्त पानी चैत १३ गतेबाट सुन्दरीजलमा प्रसोधन गरी आंशिक रुपमा वितरण प्रणालीमा उपलब्ध गराइएको थियो ।
वितरण प्रणालीमा पूर्ण क्षमतामा पानी प्रवाह गर्ने क्रममा समितिले मेलम्ची नदीमा उपलब्ध पानीको नियमित मापन गरी अनुगमन गरिरहेको छ ।
मेलम्ची नदीको जल प्रवाह, नदी पर्यावरण तथा तल्लो भेगमा आवश्यक पानी नियमित रुपमा उपलब्ध गराउन विशेष ध्यान दिइएको समितिले बताएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप