logo
२०८० चैत्र १५ बिहीवार



पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न   

शिक्षा |


पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न   
फाईल तस्विर


काठमाडौँ, वैशाख ६ गते । छ वर्षअघिको गोरखा भूकम्पले क्षतिग्रस्त ललितपुर महानगरपालिकास्थित पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ। जापान सरकारको ऋण सहयोगमा पुनःनिर्मित विद्यालय भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले राणा शासनकालमा निर्माण भएको विद्यालय भवन भत्किएर पुनःनिर्माण हुँदा दुई शताब्दीलाई जोड्ने काम भएको बताउनुभयो । विकास र समृद्धिको सपनालाई पूरा गर्न यस्ता शैक्षिक केन्द्रले सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।    
    
 कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सामुदायिक र संस्थागत दुवै शैक्षिक संस्थाको केन्द्रका रुपमा महानगरपालिका स्थापित भएको बताउनुभयो । आकर्षकरुपमा पुनःनिर्माण भएको विद्यालय भवनमा शैक्षिक गुणस्तर पनि त्यसैअनुरुप हुनुपर्ने उहाँको भनाइ थियो ।    
    
 सो अवसरमा जाइकाका नेपाल प्रमुख आशाकुमा युनिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमान महर्जन र प्रधानाध्यापक ईश्वरमान बज्राचार्यले विद्यालयको गुणस्तर सुधार गर्न लागिपर्ने प्रतिबद्धता जनाउनुभएको थियो । विसं १९८१ मा स्थापना भएको विद्यालयको भवन दुई वर्षपछि १९८३ सालमा निर्माण भएको जानकारी सो अवसरमा गराइएको थियो । यो भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको थियो ।    
    
 जापान सरकारको रु १६ करोड ऋण सहयोगमा पुनःनिर्माण भएको विद्यालयमा २७ कक्षाकोठा छन् । विद्यालयमा प्रयोगशाला, पुस्तकालय, कम्प्युटर, अध्यापक एवं प्रधानाध्यापक कक्ष, प्रशासन, कार्यालय, महिला र पुरुषका लागि अलगअलग शौचालय जस्ता संरचना निर्माण भएको छ । अशक्त र कर्मचारीका लागि विद्यालयमा छुट्टै कक्षको समेत व्यवस्था गरिएको छ ।    
    
 विद्यालयमा हाल ४२४ छात्र र ४०९ छात्रा गरी कुल ८३३ विद्यार्थी अध्ययनरत छन् । घडी राख्ने टावर, फर्निचर, विद्युत्, पानी वितरण, सोलार ब्याक अप, खेल मैदान, पैदलमार्ग, पर्खाल, मूलढोका, पम्प सेड र सुरक्षाकर्मी कक्षसमेत निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक बज्राचार्यले सुनाउनुभयो ।      
 जाइकाको आकस्मिक विद्यालय पुनःनिर्माण आयोजनाअन्तर्गत भूकम्प अतिप्रभावित छ जिल्लामा विद्यालय पुनःनिर्माण भइरहेको छ । सो योजनाअन्तर्गत २७४ विद्यालय पुनःनिर्माण हुनुपर्नेमा हालसम्म २१८ विद्यालय पुनःनिर्माण सम्पन्न भएको सो अवसरमा जानकारी गराइएको थियो ।    
    
 उक्त योजनाअन्तर्गत भूकम्प अतिप्रभावित ललितपुर, गोरखा, नुवाकोट, धादिङ, रसुवा र मकवानपुरमा विद्यालय पुनःनिर्माण भइरहेको जनाइएको छ । छ जिल्लामा ५३ प्याकेजमा काम भइरहेको कार्यक्रममा जानकारी गराइयो । यसका लागि जापान सरकारले रु एक अर्ब ५२ करोड ऋण सहयोग गरेको जनाइएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?