logo
२०८० चैत्र १५ बिहीवार



अग्निपीडितलाई तत्काल राहत दिन्छौँ: मुख्यमन्त्री राई  

राष्ट्रिय |
प्रदेश |


अग्निपीडितलाई तत्काल राहत दिन्छौँ: मुख्यमन्त्री राई  
फाईल तस्विर


ओखलढुङ्गा, वैशाख ४ गते । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अग्निपीडित परिवारको उद्धार र राहतका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आगलागीबाट धनमालसहित घरबास गुमाएका ओखलढुङ्गाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलको घरमा पुगेर उहाँले अग्निपीडित परिवारलाई तत्काल उद्धार र राहत दिन प्रदेश सरकार लागिपरेको बताउनुभएको हो ।    
    
“आगलागीका घटना बढेकाले ठूलो जनधनको क्षति भयो । वनजङ्गलमा लागेको आगो विस्तारै नियन्त्रणमा आएपनि घरमा लागेको आगो नियन्त्रणमा नआउँदै सबै जलिसक्ने परिस्थिति छ” उहाँले भन्नुभयो, “आगोबाट छाना, खाना र नाना गुमाएका अग्निपीडितलाई प्रदेश सरकारले तत्काल राहतको व्यवस्था गर्छ ।”    
    
मुख्यमन्त्री राईले स्थानीय सरकार र सरोकारवालाले पनि विपद्मा परेका परिवारलाई मानवीय हिसाबले सक्दो सहयोग गर्नुपर्ने बताउँदै दुर्गम, भौगोलिक विकटता र आवश्यक उपकरण अभावका कारण आगलागीका घटना तत्काल नियन्त्रण गर्न नसक्दा वर्षेनी ठूलो जनधनको क्षति व्यहोर्नुपरेको उल्लेख गर्नुभयो ।    
    
भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले प्राकृतिक प्रकोपका अलवा मानवीय त्रूटि, अव्यवस्थित बसोबास र कमजोर विद्युतीय उपकरण प्रयोगका कारण हुने आगलागीबाट ठूलो जनधनको क्षति व्यहोर्नुपरेकाले यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो । उहाँले विपद्बाट बच्न सबैले सतर्कता अपनाउनुपर्नेमा जोड दिदैं सरकारबाट उपलब्ध हुने राहतले तत्कालका लागि समस्या समाधन गरे पनि स्थानीय समुदायकै साथले दीर्घकालीन संरचना निर्माणमा टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले तत्कालका लागि राहतका कार्यक्रम ल्याएर सकेको सहयोग त गर्छ नै तर छरछिमेकीको सहयोग नै यस्तो बेला महत्वपूर्ण हुन्छ ।”    
    
ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षसमेत रहनुभएका लिखु–८ का गोविन्द पौडेल र उहाँका भाइ वडा नं ८ का वडाध्यक्ष विशालकुमार पौडेलको घरमा बिहीबार राति आगलागी हुँदा रु ५० लाखभन्दा बढीको क्षति भएको थियो । वर्षात्सँगै परेको चट्याङका कारण आगलागी हुँदा ढुङ्गा, सिमेन्ट र जस्ताले बनेको दुईवटा पक्की घर पूर्णरूपमा जलेर नष्ट हुँदा रु ५० लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जनाकारी दिनुभएको छ ।    
    
गाउँपालिका अध्यक्ष पौडलका अनुसार आगलागीका कारण घरसहित नजिकै टहरालगायत अन्य संरचना पनि केही बाँकी नरहने गरी नष्ट भएको छ । बिहीबार राति २ः१५ परेको चट्याङका कारण शुरु भएको आगो इलाका प्रहरी कार्यालय गाम्नाङटार र यसमबाट खटिएको प्रहरी टोली र स्थानीयको प्रयासमा शुक्रबार ६ः०० बजे मात्र निभाइएको थियो । सबैको प्रयासमा नजिकै रहेको अर्को एउटा घर भने जोगाइएको छ । आगलागी भएपछि भाग्ने क्रममा गाउँपालिकाका अध्यक्ष पौडेलकी बुहारी बिना पौडेल सामान्य घाइते भएकी छन् । कुनै मानवीय क्षति भने भएको छैन ।    
    
ओखलढुङ्गामा पछिल्लो एक महिनायता दैनिकजसो आगलागीका घटना भइरहेका छन् । हरेक दिन हुने आगलागीका घटनाबाट दर्जनौँ घर गोठ तथा वनजङ्गल जलेर नष्ट भएका छन् । मन्त्री गुरुङको पहलमा मुख्यमन्त्री राई अग्निपीडित गाउँपालिकाका अध्यक्षलाई भेट्न शुक्रबार साँझ ओखलढुङ्गा आउनुभएको थियो ।     

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?