logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोनाविरुद्ध साझा सङ्कल्प

स्वास्थ्य |
मुख्य समाचार |


कोरोनाविरुद्ध साझा सङ्कल्प



चाँदनी हमाल

काठमाडौँ, वैशाख १ गते । नयाँ वर्ष २०७८ को शुभारम्भसँगै स्वस्थ रहने गरी आफ्ना गतिविधि सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसहित स्वास्थ्य सरोकारवाला निकायहरूले अपिल गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण उच्च दरमा आकाशिँदै गएका बखत स्वास्थ्य मन्त्रालयले नयाँ वर्षकै दिनदेखि कडा सावधानी अपनाउन सर्वसाधारणमाझ साझा सङ्कल्प प्रस्ताव नै पठाएको छ ।
मन्त्रालयले चैत मसान्त अर्थात् ३१ गते ‘नयाँ वर्षमा मेरो सङ्कल्प’ भनेर जनचेतनामूलक प्रस्ताव सार्वजनिक गरेको हो । नयाँ वर्षमा नयाँ जोश जाँगरका साथ हुलमुलमा हिँड्नुभन्दा घरपरिवारभित्र रहेर त्यो सङ्कल्प पूरा गर्ने प्रतिबद्धता गर्न मन्त्रालयले अपिल गरेको छ ।
मेरो सङ्कल्पभित्र रहेका सङ्कल्पलाई मन्त्रालयले २०७८ वैशाख १ गतेदेखि नै विविध सावधानीलाई जोडतोडका साथ अपनाउन अनुरोध गरेको छ । जसअनुसार पहिलो सङ्कल्पमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दा हात मिलाउने, जीउ जोड्ने भन्दा पनि टाढैबाट नमस्कार गर्ने संस्कारलाई जीवित बनाउन भनेको छ । विगत केही समययता भाइरस कम भएको आकलन गर्दै आममानिसले नमस्कारको संस्कार छाड्दै गएर हात मिलाउन थालेका थिए । त्यस्तै दोस्रो सङ्कल्पमा मास्क अनिवार्य लगाउने र बेलाबेलामा साबुनपानीले हात धुने उल्लेख छ । पछिल्लो समय मास्क नलगाउने र हात नधुने व्यवहार मानिसले गर्दै आएका छन् । तेस्रोमा नयाँ वर्षको अवसरमा आयोजित विविध कार्यक्रम तथा भीडभाडमा नजान भनिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो । साथै कार्यालयमा वा सार्वजनिक स्थानमा रहँदा भौतिक दूरी कायम गर्ने, खोक्दा वा हाँछिउ गर्दा हातले हैन कुहिनाले वा रुमालले छोप्ने, आफू जोगिने र अरूलाई बचाउने जस्ता सङ्कल्प रहेका छन् ।
राजधानी काठमाडौँमा यतिबेला कोभिड सङ्क्रमणको चाप बढ्दो क्रममा रहेकाले पनि नयाँ वर्षमा कुनै भीडभाडजन्य कार्यक्रम गरेर थप सङ्कट नल्याउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नयाँ वर्षमा घरमै बस्नुस्, परिवारसँग माया बाँड्नुस्, मिठोमसिनो घरमै खानुस्, बाहिर गएर भाइरस नभिœयाउनुस् नत्र अब जोगिन गाह्रो छ । उहाँका अनुसार हाल नेपालमा भित्रिएको भाइरसको यूके र अफ्रिकन मिश्रणको नयाँ भेरियन्टले धेरैलाई एकैचोटि सङ्क्रमित बनाइरहेको छ ।’’
अस्पतालमा उपचाररत चार जना घर फर्किए पनि आउनेको सङ्ख्या त्योभन्दा दोब्बर छ । दिनानुदिन बढ्दो रहेको सङ्क्रमणलाई मलजल गर्ने वातावरण नयाँ वर्षको बहानामा नबढाउन उहाँले आग्रह गर्नुभयो । नेपालमा सोमबार एकैदिन आठ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भयो । दोस्रो लहरको भाइरसको सङ्क्रमण बढेपछि ह्वात्तै बढेको मृत्यु दरमध्ये सोमबार देखिएको उच्च हो ।
नेपाल मात्र हैन दक्षिण एसियाली
(सार्क) मुलुकहरूमा अहिले कोरोना सङ्क्रमणको दरसँगै त्यसबाट हुने मृत्यु दर आकाशिँदै गएको डा. राजभण्डारीले सुनाउनुभयो । उहाँले भन्नुभयो, “छिमेकी मुलुक भारतको छत्तिसगढमा सङ्क्रमणले मानिस धेरै मरेपछि जलाउने ठाउँ पाइरहेका छैनन्, खेतबारीमा जलाइरहेका छन् ।” महाराष्ट्रमा अत्यधिक सङ्क्रमण बढेपछि कफ्र्युसम्म लगाइएको अवस्था छ । सावधानी नअपनाए नेपालमा पनि त्यस्तो अवस्था भित्रिन सक्छ । भारतमा यतिबेला दुई प्रतिशतको हाराहारी मृत्यु दर पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?