logo
२०८० चैत्र १५ बिहीवार

   देशभर डढेलोको त्रास   



एकै दिन ७२८ स्थानमा डढेलो

मुख्य समाचार |


एकै दिन ७२८ स्थानमा डढेलो



चाँदनी हमाल

काठमाडौँ, चैत २३ गते । डोटीको तितला सामुदायिक वनमा फागुन दोस्रो साता डढेलो लाग्यो । सामुदायिक वनका संरक्षकहरू हतारमा आगो निभाउन वन नजिक पुगे । अत्याधुनिक मेसिन र उपकरण थिएन । हातले माटो, स्याउला जे–जे भेट्यो त्यसैले निभाउन थालियो । त्यही क्रममा आगो निभाइरहेका लछ्छी भुललाई आगोको लपेटाले भेट्यो । आगोले पोलेर घाइते हुनुभएका उहाँको फागुन ११ गते मृत्यु भएको सामुदायिक वन उपभोक्ता महासङ्घले जनाएको छ ।
चैत १२ गते गोरखाको सातदोबाटो सामुदायिक वनको आगो निभाउन पुग्नुभएका मोहन फेवाली पनि जोगिन सक्नुभएन । वन जोगाउन आगो निभाउँदा निभाउँदै उहाँको ज्यान गयो । यही चैत १३ गते तेह्रथुमकी नरमाया भण्डारीको स्थानीय वनमा लागेको डढेलो निभाउने क्रममा ज्यान गयो ।
नेपालमा पछिल्लो समय यसरी नै मानिसको ज्यानै लिने डढेलो फैलिँदै गएको छ । विभिन्न वन क्षेत्रमा बढ्दो क्रममा रहेको डढेलोबाट मृत्यु हुनेको यकिन तथ्याङ्क सङ्कलन हुने क्रम जारी छ ।
सामुदायिक वन उपभोक्ता महासङ्घको प्रत्यक्ष निगरानीमा सङ्कलन गरिएको तथ्यअनुसार गएको माघ १ गतेयता डढेलो निभाउन गएका व्यक्तिको मृत्यु भएको हो । डढेलोमा परेर अछाममा तीन र हुम्लामा चार जना घाइते भएका छन् । उनीहरूको अझै उपचार भइरहेको महासङ्घका क्षेत्रीय संयोजक तुलसी अधिकारीले जानकारी दिनुभयो ।
यसरी नै मानिसको ज्यान लिने गरी २०६६ सालमा नेपालमा डढेलो लागेको थियो । त्यो बेला ४९ जनाको यसरी नै आगो निभाउने क्रममा ज्यान गएको थियो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखयता हालसम्म दुई हजार ३१३ वटा डढेलोसहितका भौतिक आगलागीका घटना भएका छन् । जसमा परेर ८६ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३५५ जना घाइते भएका छन् । यी घटनाका कारण एक अर्ब ७० लाख रुपियाँभन्दा बढीको नोक्सान भएको प्राधिकरणले जनाएको छ ।

बढ्यो डढेलो
महासङ्घकी अध्यक्ष भारती पाठकका अनुसार देशका अधिकांश सामुदायिक वन यतिबेला डढेलोको चपेटामा परेका छन् । पहाडी भेगमा पानी परेपछि करिब तीन दिन मत्थर भएको डढेलो र आगलागी पुनः बढेको हो । वन मन्त्रालयअन्तर्गत रहेको वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार विगत २४ घण्टायता देशका ७२८ स्थानमा डढेलो र आगलागी भएका छन् ।
डढेलोबाट ७७ जिल्लामध्ये ६० जिल्ला प्रभावित बनेको जनाइएको छ । एउटै जिल्लामा पनि धेरै स्थानमा डढेलो लाग्दा कतिपय गाउँ नै खतरामा परेका छन् । जसअनुसार सबैभन्दा बढी सुर्खेतमा ६५ स्थानमा डढेलो लागेको छ । त्यसपछि चितवनमा ४८, डडेल्धुरामा ४७, दाङमा ४६, सल्यानमा ४१, प्युठानमा ३२, डोटीमा २८, कैलालीमा २७ र बाँकेमा २६ स्थानमा डढेलो र आगलागी भएका छन् ।
त्यस्तै कञ्चनपुरमा २५, मकवानपुरमा २१, पर्सामा १७, जाजरकोटमा १६, अर्घाखाँचीमा १५, खोटाङ÷अछाममा १३÷१३, दैलेख र कपिलवस्तुमा १२÷१२, नवलपुरमा ११ र सिन्धुलीमा १० स्थानमा डढेलो लागेको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोविज्ञ सुन्दर शर्माका अनुसार अबको डेढ महिना नेपाल डढेलोको उच्च जोखिममा छ । अहिले देशभर देखिएको डढेलोभन्दा अझ उच्च रूपमा फैलन सक्ने अनुमान उहाँले गर्नुभयो ।
लामो समय पानी नपरेर सुक्खा लागेको स्थानमा लागेको डढेलो सहजै अन्यत्र सर्ने क्रम बढेको प्राधिकरणका प्रवक्ता उद्धवप्रसाद रिजालले बताउनुभयो । अहिले कोरोना महामारीका कारण गाउँघरमा मानिसको चाप बढेको छ । जो कोहीले वन छेउछाउ चुरोट र सलाई सल्काएर फाल्ने गरेकाले डढेलो बढेको उहाँ उल्लेख गर्नुहुन्छ । उहाँका अनुसार चरनका लागि जाने गोठाला र स्थानीयवासीले घाँस पलाउँछ भन्ने आशमा पतकर र खेतबारीका छेउछाउमा आगो लगाउने गर्दा पनि त्यो बढेर वन क्षेत्रमा पुगेको हो ।

अत्याधुनिक सामग्रीको अभाव
वनमा लागेको आगो निभाउने अत्याधुनिक सामग्रीको अभावका कारण आगो निभाउन जानेको ज्यान जाने गरेको छ । कुटो, कोदालो, साबेल, गैँची, बुट, ग्लोब्सजस्ता सामान्य सामग्रीको एक÷एक सेट करिब २५ वटा सामुदायिक वनलाई मात्र उपलब्ध छ । अन्यत्र घरमै भएका सामान बोकेर गाउँले नाङ्गै खुट्टा डढेलो निभाउन पुग्छन् । “जसका कारण एकातिर वन डढेलो निभाउन कठिन भइरहेको छ, अर्कोतिर मानिसको ज्यान बढी जान थालेको छ,” सामुदायिक वन उपभोक्ता महासङ्घका क्षेत्रीय संयोजक तुलसी अधिकारीले भन्नुभयो ।
उहाँका अनुसार जीउ पूरै छोप्ने अत्याधुनिक अग्निप्रतिरोधी सामग्रीसँगै सामान्य आगो निभाउन प्रयोग गर्न सकिने सानो खालको मेसिन वन पदाधिकारीसँग छैन । नेपालको कुल भूभागमध्ये करिब ४५ प्रतिशत वन क्षेत्रले ओगटेको छ । जसमा २२ हजार ४१५ सामुदायिक वन छन् ।
यसैबीच बाँकेको नरैनापुर–४, खोदावा गाउँमा शनिबार दिउँसो १२० घरधुरी गोठ र जुम्लाको तिला गाउँपालिकामा थप ३१ घरधुरीमा भएको आगलागीबाट ठूलो क्षति भएको छ । तत्काल राहतको व्यवस्था र क्षतिको यकिन गरी पीडितहरूको निजी आवास पुनर्निर्माण गर्न गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रिय विपत् प्राधिकरणलाई निर्देशन दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?