logo
२०८० चैत्र १६ शुक्रवार



मानव बेचबिखन गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि

खुला |


मानव बेचबिखन गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि


काठमाडौँ, फागुन १४ गते । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा हुने मानव बेचबिखनसँग सम्बन्धित गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि तयार गर्ने भएको छ । उक्त विषयमा यसअघि सरकारले जारी गरेको नियमवली र कार्यविधिलाई स्थानीय तहबाट प्रभावकारी कार्यान्वयनका लागि महानगरले कार्यविधि बनाउन लागेको जनाएको छ ।

सरकारले विसं २०६४ मा मानव बेचबिखनविरुद्धको ऐन, २०६५ मा नियमावली र २०७० मा कार्यविधि जारी गरिसकेको छ । सचिवस्तरीय नेतृत्वमा सङ्घमा र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा समिति गठन भएजस्तै नगरप्रमुखको नेतृत्वमा नगरमा समिति गठन हुने र यसमार्फत बेचविखन नियमन तथा नियन्त्रण प्रयासलाई अघि बढाउने कामपाको तयारी छ ।

सरोकारवालासँग यस विषयमा बिहीबार कामपामा भएको छलफलमा कामपा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले मानव बेचबिखनको स्वरूप परिवर्तन भएको उल्लेख गर्दै परिवर्तित मानसिकताले सिर्जना गर्ने समस्या समाधानको बाटो खोज्नुपर्ने बताउनुभयो । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगबाट मानिसलाई लोभ देखाउने, आफूप्रति आकर्षित गर्ने र श्रम तथा यौन क्षेत्रमा प्रयोग गर्ने समस्या बढिरहेको उपप्रमुख खड्गीको भनाइ छ ।

छलफलमा सहभागी शान्ति फाउण्डेशनका जिल्ला परियोजना अधिकृत शान्ता ढकालले बेरोजगार युवायुवती सामाजिक सञ्जालमा भेटिने अपरिचित मान्छेले देखाएको लोभमा परेर बेचिने र श्रम शोषणमा पर्ने गरेको अध्ययनले देखाएको बताउनुहुन्छ । “मनोरञ्जन क्षेत्रमा प्रवेश गर्न सजिलो भएकाले धेरै युवाको आकर्षण यतातर्फ छ । प्रवेश गर्नु र आय हुनु फरक पाटो हो”, उहाँले भन्नुभयो, “प्रवेश गरेर जीवन धान्न अप्ठ्यारो हुन थालेपछि यौन व्यवसायमा पुग्ने र यसैबाट ओसारपसार हुन थालेको छ ।”

कार्यक्रममा अन्य सहभागीले मावन बेचबिखन र ओसारपसारका दृष्टिले अपराधको प्रकृति फेरिएको बताउनुभयो । उहाँहरूका अनुसार खाजाघर, वैदेशिक रोजगार, मनोरञ्जन क्षेत्र अहिले शहरका जोखिमपूर्ण क्षेत्र हुन् । पहिले शारीरिक सम्पर्कका लागि ओसारपसार र बेचबिखन हुनेमा अहिले श्रमका नाममा आन्तरिकरूपमा ओसारपसार र श्रम शोषण हुने गरेको भन्दै त्यसतर्फ ध्यान दिन उहाँहरूले आग्रह गर्नुभयो । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?