logo
२०८० चैत्र १६ शुक्रवार



विघटित संसद् सडकबाट पुनःस्थापना सम्भव छैन : गाैतम

राष्ट्रिय |


विघटित संसद् सडकबाट पुनःस्थापना सम्भव छैन : गाैतम


लक्की चौधरी
काठमाडौं, माघ १४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले अझै पार्टी औपचारिकरुपमा फुटि नसकेकाले आफ्नो अभियानले पार्टी एकतामा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
आफू संयोजकत्वको पार्टी एकता राष्ट्रिय अभियानको बुधबार यहाँ औपचारिकरुपमा घोषणा गर्नुहुँदै नेता गौतमले त्यस्तो विश्वास व्यक्त गर्नुभएको हो । नेपालमा समाजवाद आउने बाटो जनताको बहुदलीय जनवाद (जवज) कै माध्यम उपयुक्त भएको उहाँले बताउनुभयो । पार्टी फुटको अवस्थाले संसारभरका कम्युनिष्टहरु चिन्तित रहेको उहाँले चर्चा गर्नुभयो ।
पुस ५ गते प्रतिनिधिसभा विघटन भए यता जति पनि गतिविधि भएका छन्, जुटाउनेभन्दा फुटाउनेतिर केन्द्रित रहेको उहाँले बताउनुभयो । राजनीतिबाट रिटायर्ड जीवन बिताउने बेलामा पार्टी फुटाएर कार्यकर्तालाई रुवाउने काम भएको उहाँले चर्चा गर्नुभयो ।
राजनीतिमा सधैं शत्रु र मित्र नरहने भएकाले एकअर्काप्रतिको रोषपूर्ण अभिव्यक्ति नदिन उहाँले नेताहरुलाई आग्रह गर्नुभयो । “भोलि सँगै चिया खान पनि नसक्नेगरी अभिव्यक्ति आइरहेका छन्, यसले कसलाई फाइदा हुन्छ ? ” उहाँले जिज्ञासा गर्नुभयो । छाडा संस्कृतिको विरुद्धमा आफ्नो अभियान लक्षित रहेको बताउनुहुँदै उपाध्यक्ष गौतमले भन्नुभयो, “फुटेर के प्राप्त हुन्छ ? जुटेर प्राप्त गर्न नसकिएको उपलब्धि फुटेर कसरी पूरा होला ? ”
“पार्टी जोगाउन आफूलाई अन्याय पर्दा पनि सहेर बस्नुपर्ने हुन्छ” उपाध्यक्ष गौतमले अविश्वासको प्रस्ताव सार्नुको मक्सद नै पार्टी फुटाउनु भएको बताउनुभयो । त्यसैगरी प्रतिनिधिसभा विघटन गर्नु पनि पार्टी फुटाउनकै निम्ति हो उहाँले टिप्पणी गर्नुभयो । “राजनीतिक संस्कृति ध्वस्त भयो, सामाजिक सुधार कसरी आउला यसरी ?   ” उहाँले टिप्पणी गर्नुभयो ।
“यो अभियान छुट्टै पार्टी बनाउने अभियान होइन, नेकपालाई जोड्ने अभियान हो” उपाध्यक्ष गौतमले थप्नुभयो, “पार्टी एकता चाहने सबै नेता कार्यकर्ताहरु ढिलोचाँडो यो अभियानमा सहभागी हुन्छन् ।” सर्वोच्च अदालतले अझै फैसला गरिनसकेकाले उसको निर्णयले पनि पार्टी फुट्ने कि जुट्नेमा भूमिका रहने बताउनुभयो । सर्वोच्चले कि संसद पुनःस्थापना गर्छ कि विघटन सदर गरेर निर्वाचनमा जाउ भन्छ उहाँले भन्नुभयो ।
“मेरो संयोजकत्वको अभियानले अध्यक्ष ओलीलाई प्रचण्डतर्फ र अध्यक्ष प्रचण्डलाई ओलीतर्फ फर्काउने काम गर्नेछ” उहाँले विश्वास व्यक्त गर्नुभयो । विघटित संसद सडकबाट पुनःस्थापना सम्भव नरहेको प्रष्ट पार्नुहुँदै उपाध्यक्ष गौतमले भन्नुभयो, “हामी जबजलाई मूल सिद्धान्त मान्नेवाला हौं, जबर्जस्ती सडकबाट गर्ने कुरामा हाम्रो सहमति रहँदैन ।”
आफ्नो संयोजकत्वको अभियान समाजवाद निर्माणार्थ भूमिका खेल्ने चर्चा गर्नुहुँदै उपाध्यक्ष गौतमले समाजवादबाट मात्र जनताको मुक्ति सम्भव भएको बताउनुभयो । नेकपा फुटेमा अर्को शक्तिशाली कम्युनिष्ट पार्टी जन्मन्छ र त्यसकै नेतृत्वमा समाजवाद आउँछ उहाँले भन्नुभयो । नेकपालाई जुटाउन आफ्नो प्रयास अन्तिमसम्म रहने र एकता गरेरै छाड्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । यसअघि पनि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई आफ्नो पहलमा एक गराएको उहाँले स्मरण गर्नुभयो ।
बनेको चिज फुटाउन सहज हुने भए पनि जुटाउन निकै गाह्रो काम भएको उहाँले बताउनुभयो । कानुनीरुपमा नेकपा अझै फुटिनसकेको भए पनि राजनीतिक र व्यावहारिक रुपमा फुटिसकेको उपाध्यक्ष गौतमले बताउनुभयो । दुई समूहमा विभाजित नेताहरुलाई एक ठाउँमा ल्याउने जिम्मेवारी पुनः एकता अभियानको काँधमा आएको उहाँले चर्चा गर्नुभयो ।
पूर्व कृषिमन्त्री तथा अभियानका सहसंयोजक हरिप्रसाद पराजुलीले अभियानको अवधारणा प्रस्तुत गर्दै अभियानले नेकपालाई पुनः एकसूत्रमा बाँध्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । अभियान सञ्चालन गर्ने नीति, दृष्टिकोण र सांगठनिक संरचना र कार्ययोजनाबारे उहाँले प्रस्तुत गर्नुभएको थियो ।
सार्वजनिक गरिएका एकता अभियानको अवधारणा पत्रमा अधिकतम ६ सय ५१ सदस्यीय केन्द्रीय समन्वय समिति रहने र अधिकतम १ सय ७५ सदस्यीय कार्य सम्पादन समिति रहने बताइएको छ । त्यस्तै हरेक जिल्लामा अधिकतम ७५ सदस्यीय जिल्ला समन्वय समिति रहने बताइएको छ । सोहीअनुसार ५१ सदस्यीय पालिका समन्वय समित र हरेक वडामा अधिकतम १५ सदस्यीय वडा समन्वय समितिको व्यवस्था रहने घोषणा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?