logo
२०८१ बैशाख १३ बिहीवार



जर्जियामा डेमोक्रेटिक पार्टीको विजय, विरोध प्रदर्शनमा एकको मृत्यु, डीसीमा कर्फ्यु

विदेश |


जर्जियामा डेमोक्रेटिक पार्टीको विजय, विरोध प्रदर्शनमा एकको मृत्यु, डीसीमा कर्फ्यु


कृष्णराज खनाल
बाेस्टन, अमेरिका । अमेरिकामा हालै सम्पन्न निर्वाचन परिणामको विषयलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक भीडले गरेको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ । साथै बढ्दाे हिंसा राेक्न डीसी क्षेत्रमा कर्फ्यु लगाइएकाे छ । 
यसैबीच अमेरिकाको बहुप्रतीक्षित जर्जियाको सिनेटर पदको पुनःनिर्वाचनमा डमोक्रेटिक पार्टीका उम्मेदवार राफेल वारनक र जोन ओसोफ झिनो मतान्तरले विजयी भएका छन् । वारनक र ओसोफको यो विजयले छ वर्षपछि डेमोक्रेटिक पार्टीलाई सिनेटमा बहुमत पुगेको छ ।
‘जर्जिया जितेर अमेरिका परिवर्तन गरौँ’ भन्ने नाराका साथ अगाडि बढेको डेमोक्रेटिक पार्टीको यो विजयले अब माथिल्लो सदन सिनेटमा दुवै पक्षका ५०।५०जना सिनेटर पुगेका छन् र निर्णायक मत सिनेटको अध्यक्ष उपराष्ट्रपतिले दिन पाउने कानुनी व्यवस्थाले डेमोक्रेटिक पार्टीको पल्ला भारी भएको छ । राष्ट्रपतिमा निर्वाचित जो वाइडेन शक्तिशाली राष्ट्रपतिका रुपमा रहनुहुनेछ । उहाँलाई लगाम लगाउने कोही हुने छैनन् ।उहाँले बिग्रँदै गएको विश्वसँगको सम्बन्धलाइ प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।
मंगलवार सम्पन्न निर्वाचनको मतगणनाको परिणाम अमेरिकी समय अनुसार बुधवार साँझ आउँदा दुवै पद डेमोक्रेटिक पार्टीका उम्मेदवारको पक्षमा गएको थियो । ५१ वर्षीय वारनकले ५० वर्षीया उम्मेदवार केलीलियोफलरलाई तथा ३३ वर्षीय जोन ओसोफले ७० वर्षीय डेभिड पुर्डेलाई क्रमशः ६८ हजार र ३२ हजारको झिनो मतान्तरले पराजित गरेका हुन् । पराजित दुवै उम्मेदवार सिनेटरमा दोस्रो कार्यकालका लागि भिडेका थिए ।
डेमोक्रेटिक पार्टीका उम्मेदवारको यो विजयले अमेरिकी राजनीति अब सही दिशामा जाने आँकलन गरिएको छ । दुवै पार्टीका लागि जर्जियाको निर्वाचन अत्यन्त महत्वपूर्ण मानिएको थियो । अमेरिकाको दुइ सदनमध्ये तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा कुल ४३५ सिटमध्ये डेमोक्रेटिक पार्टीको २३२ सिटसहित स्पष्ट बहुमत छ र माथिल्लो सदन सिनेटमा पनि बहुमत पुर्या पछि भावी राष्ट्रपति जो वाइडेनले आफ्ना चुनावी एजेण्डालाई स्थापित गर्नुहुनेछ । वाइडेनले मूलतः कोरोना महाव्याधि, जनस्वास्थ्य, कर, ऊर्जा र वातावरणका बारेमा आफ्ना एजेण्डाहरु प्रस्तुत गर्नुहुनेछ । वाइडेन जनवरी २० देखि राष्ट्रपतिको जिम्मेवारीमा रहनुहुनेछ ।
जर्जियामा मंगलवार दुईवटा सिनेटरको छुट्टाछुट्टै पुनःनिर्वाचन भएको थियो । जर्जियाको यो पराजयले सिनेटका नेता मिचम्याक कोनेलको शक्ति पनि खोसिएको छ । दुवै सदनमा कमजोर रहेको रिपब्लिकन पार्टीले अब कम्तीमा पनि दुइ वर्षपछि हुने मध्यावधि निर्वाचन कुर्नुपर्नेछ ।
महँगो निर्वाचन
सम्पन्न यो निर्वाचन अत्यन्त महँगो मानिएको छ । यति महँगो निर्वाचन यसअघि राष्ट्रपतिको दुई तीनवटा निर्वाचनमा भए पनि सिनेटरको निर्वाचनमा यति धेरै खर्च भएको थिएन ।
दुवै पार्टीका नेतृत्वको गर या मरको स्थिति भएकोले पनि यो निर्वाचनमा दुवै पक्षको बढी सहभागिता र सञ्चारमाध्यममा विज्ञापनका रुपमा धेरै पैसा खर्च भएको हो । यो निर्वाचनमा दुवै पक्षको गरेर पाँच सय मिलियन अमेरिकी डलर खर्च भएको कुरा यहाँको आधिकारिक वेभसाइटमा जनाइएको छ ।
(खनाल पूर्व गोरखापत्रकर्मी तथा अमेरिकामा कार्यरत पत्रकार हुनुहुन्छ )

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?