logo
२०८० चैत्र १६ शुक्रवार



बन्यो हात्ती धपाउने यन्त्र

खुला |


बन्यो हात्ती धपाउने यन्त्र



चाँदनी हमाल

कीर्तिपुर, पुस १३ गते । बाँदर धपाउने भनेर बनाइएको यन्त्रले हात्ती आतङ्क नै रोक्ने भएपछि स्थानीयवासी हर्षित भएका छन् । बाँदर धपाउने यन्त्र बनाउँदा बनाउँदै हात्ती नै धपाउन मिल्ने भएपछि स्थानीयवासी खुसी भएको बताउनुहुँदै राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले यन्त्रलाई अझ परिस्कृत बनाउने तयारीमा लागिपरेको जानकारी दिनुभयो ।
हुन पनि मानव बस्तीमा हात्तीले बारम्बार दुःख दिन थालेपछि सौराहामा स्थानीयवासी हैरान थिए । हात्ती धपाउन पुत्ले मेसिन जडान गरे । जडान गरिएको हात्ती धपाउने पुत्ले मेसिन अहिले परीक्षणका क्रममा रहेको बाघमारा सामुदायिक वनका अध्यक्ष जितु तामाङले जानकारी दिनुभयो । उहाँले यो मेसिनले धेरै आशा जगाएको छ । मेसिनले प्रभावकारी काम ग¥यो भने आविष्कार केन्द्रप्रति पीडित स्थानीयवासी खुसी हुनेछन् भन्नुभयो ।
उहाँले वन्यजन्तु मार्नु पनि भएन तर हात्तीले हैरान गर्न थालेपछि यसरी मेसिनबाट भगाउने उपाय अपनाइएको हो भन्नुभयो । विगतमा मानव बस्तीमा हात्ती पसेको थाहा पाएमा टिन ठटाउने, ठूलो स्वरमा कराउने, आगो बाल्ने र रातभरि जाग्राम बसेर बस्तीको रेखदेख गर्ने काम स्थानीयवासीले गर्थे तर जाडोको समयमा रातभर बाहिर बसेर पहरा दिन कठिन हुने गरेको उहाँले सुनाउनुभयो । त्यही कठिनाइ हटाएर घरभित्रैबाट हात्ती धपाउन सकिने मेसिन अहिले जडान गरिएको हो ।
राष्ट्रिय आविष्कार केन्द्रले बनाएको यो मेसिनले स्थानीयवासीमा आशा जगाएको आविष्कार केन्द्रले जनाएको छ । केन्द्रप्रमुख पुनले भन्नुभयो, “पहिले मकै खाएर किसानलाई दुःख दिने बाँदर धपाउनका लागि भनेर बनाउन थालिएको हो तर पछि बँदेल र मानिसको ज्यानै लिने हात्तीसमेत धपाउने गरी बनाउनुपर्ने सोच आएपछि त्यो अवधारणाको उपयोग गरिएको हो ।” उहाँले सञ्चालन गर्नुभएको राष्ट्रिय आविष्कार केन्द्रमा बनेकामध्ये एउटा मेसिन अहिले सौराहाको बाघमारा सामुदायिक वनको गेटमा राखेर परीक्षण थालिएको छ ।
उहाँका अनुसार घरमा मोबाइल चलाएकै भरमा पुत्ले मेसिन चलाउन सकिन्छ । हात्ती आएको चाल पाउनासाथ मेसिन सेट गरिएको मोबाइलबाट मिसकल आउँछ । जसका कारण मेसिन आफैँ अन भएर गीत गाउने, कराउने गर्न थाल्छ । पालैपालो अनेक आवाजसहितको गीत र स्वर सुनेपछि नजिक आएको हात्ती लगायतका जङ्गली जनावर बस्ती नपसी जङ्गल नै फर्कने गर्छन् । सोलार, ब्याट्री, बाकस, पुत्ला र भित्री पार्टपुर्जा सबै गरेर ३५ हजार जति खर्चमा एउटा मेसिन तयार हुने आविष्कार केन्द्रले जनाएको छ ।
किसान र मानिसको साथीका रूपमा बनाउन खोजिएको मेसिनको टुप्पोमा मानिसकै आकारको सेतो पुत्ला रहन्छ । त्यसलाई जिउँदो बनाउने काम सोलार र ब्याट्रीले गर्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?