logo
२०७७ माघ १४ बुधवार

सहरी हावाले बदलिएको मौलिकता

खुला |


2020-11-12-26410



चाँदनी हमाल

सिद्धलेख (धादिङ) कात्तिक २७ गते । लाइछौ बेसन चिन्न नि नसक्ने आइछ फेसन... नेपालमा पश्चिमा पहिरनको दबदबा सुरु भएकै बखत गाइएको हो यो गीत । यो गीतमा भनिए झैँ गौथले गाउँकी ८२ वर्षीया कान्छी मगरको गहनाको फेसन उहिलेभन्दा अहिले धेरै बदलिएको छ । कलिलो बैँसमा बिहे गरेर श्रीमान्को घरमा भित्रँदा उहाँलाई श्रीमान्ले झपक्कै नाक ढाक्ने सुनको लाहुरे फुली उपहार दिनु भएको थियो ।
अरू गहना बेलाबेलामा फेरेर नयाँ बनाए पनि लाहुरे फुली भने लामो समय आफ्नो नाकको शोभा बनाएर राख्नुभयो तर अहिले त्यो लाहुरे फुली उहाँको नाकमा छैन । कता गयो त लाहुरे फुली ? उहाँको जवाफ थियो, “बूढाले माया गरेर दिएको फुली बूढाले नै फुकालेर फ्याँके, यस्तो लाउनु हुँदैन पाखे भन्छन् भने ।”
त्यसपछि उहाँको नाकमा उनियो सुनकै चुच्चे ढिक्के फुली । बुलाकी भने उहाँले फाल्न मान्नु भएन । त्यो माइतीले बनाइदिएको एक मात्र चिनो सम्झेर अझै पनि नाकको पोरामा तुर्लुङ्ग झुण्ड्याएर हिँड्नुहुन्छ । उहाँको करिब १२ वर्षकी नातिनी शीतललाई यस्ता पुराना गहनामा कुनै चासो छैन ।
झपक्क नाकको देब्रे भाग नै छोप्ने गरी गोलो र चोसा चोसा आकारको बीचमा रातो पत्थर जडेको फुली नै लाहुरे फुली हो । यसलाई कसैले झम्के फुली पनि भन्छन् । पृथ्वीराजमार्ग छाडेर त्रिशूली तरेपछि धादिङको शिद्धलेख गाउँपालिका टेक्न सकिन्छ । सलाङघाटबाट झोलुङ्गे पुल हुँदै गाउँ पस्न सकिन्छ ।
फेदीबाट भर्खर बन्दै गरेको कच्ची बाटोमा झण्डै आधा घण्टा मोटरसाइकलमा हिँडेपछि पुगिन्छ गौथले गाउँ । तल्लो र माथिल्लो गौथले गाउँमा झुरुप्पै मगर बस्ती छ । २०७२ सालको भूकम्पपछि एकीकृत बसोबासका रूपमा उस्तै उस्तै ब्लकका घरमा टिलिक्क जस्ताको छानो टल्कन्छ ।
गाउँकी जेठीबाठी कान्छी मगरको जस्तै सीता मगरले पनि लाहुरे फुली छाडेको दशक बित्यो । उहाँले पनि आफ्नै श्रीमान्को चाहना अनुसार लाहुरे फुली त्यागेको सुनाउनुभयो । “अब त यस्तो लाउनु हुँदैन, गिज्याउँछन्, सानो जातिले मात्र लाउँछन् भनेर निकालिदिए, उनले जे भने त्यही लगाउन थालँे,” उहाँले सम्झनुभयो । कानमा पनि माडबारी मासेर रिङ बनाउनुभयो । बुलाकी लाउन छाडेको पनि धेरै भयो । उहाँको पुरानो गहनाका नाउँमा एउटा जन्तर मात्र साँचेर राख्नु भएको छ ।
गहना मात्र हैन, उहाँका लुगाफाटाको भेष पनि फेरियो । लुङ्गीमाथि मखमलको चोली अनि पहेँलो पटुकाले धपक्कै बल्थे तरुनी मगर युवती । अहिले त्यो बदलिएर लुङ्गीमाथि टिसर्ट लगाउन थालेका छन् । सेती माया मगरले पनि साथी सङ्गीको देखासिकीमा बुलाकी र लाहुरे फुली लगाउन छाड्नुभयो । उहाँलाई अचेल लाहुरे फुली र बुलाकीको निकै सम्झना आउँछ । “अहिले छैन मसँग, अलिक बूढाबूढीसँग छ होला,” उहाँ भन्नुहुन्छ । अचेल त रिङ, टप अनि सहरमा चलेका गहना र कपडा लाउने होड गाउँका बूढाबूढीमा पनि सुरु भएको उहाँ बताउनुहुन्छ ।
सहरिया महिलाजस्तै आफ्नी श्रीमतीको रूप होस् भन्ने चाहनाकै कारण मगर जातिको पहिचान मानिने लाहुरे फुली महिलाका नाकबाट निकालिएको खुलबहादुर थापामगरले बताउनुभयो । अहिले गाउँमा कसैको नाकमा पनि लाहुरे फुली छैन । नयाँ पुस्ताका युवती ढिक्के फुली लगाउन त्यति मन पराउँदैनन् । सहरको हावाले छोएसँगै गाउँलेको स्वरूप बदलिँदै छ । सिद्धलेख गाउँपालिकाको ७७६ घरधुरीमध्ये अत्यधिक मगरको बसोबास छ ।
गौथले, भेडाबारी, सलाङ मैदान, चापडी आरुबासमा मात्र ३४५ घरधुरी मगरको छ । माथिल्लो गौथले गाउँमा भने ३२ घर सबै मगर जातिका छन् । बिहे भएकी मगर महिलाको माइतीले दिने पेवा सम्पत्ति राख्ने चलन पनि बिस्तारै हराउँदै गएको छ । प्रकृतिका पुजारी गौथले गाउँका मगर समुदाय अन्य हिन्दु धर्मावलम्बी जस्तै मठ मन्दिर धाउन थालेको वडा ४ का अध्यक्ष रामहरि
बराकोटीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?