logo
२०८१ बैशाख ६ बिहीवार



बाइडेनसामु समस्याको भारी

विविध आस्था, जाति, धर्म, लैङ्गिक भेद नगरी कडा परिश्रमका साथ काम गर्ने प्रतिबद्धता

विदेश |


बाइडेनसामु समस्याको भारी


कृष्णराज खनाल

बोस्टन (संयुक्त राज्य अमेरिका), कात्तिक २४ गते । जोए बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि विश्वभर विभिन्न प्रतिक्रिया उत्पन्न भएका छन् । अमेरिकी जनताको सर्वाधिक ठूलो प्रतिक्रिया भने यस्तो छ– यो निर्वाचनमा बाइडेन निर्वाचित भएका होइनन्, राष्ट्रपति ट्रम्प हारेका हुुन् ।’’
एउटाको हारमा अर्काको जित त हुन्छ नै । यसलाई जे जसरी अथ्र्याए पनि सही नै लाग्छ तर सामान्यतः दोस्रो कार्यकालमा पराजय भोग्ने थोरै अभागी राष्ट्रपतिको सूचीमा ट्रम्पको नाम पनि समावेश भएको छ । अमेरिका विश्वको पहरेदार सिपाही भएका कारण बाइडेनले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि (जनवरी २०) देशभित्र र देश बाहिरका अनगिन्ती समस्यासँग जुध्नुपर्ने छ ।
अमेरिकी मूल्य र मान्यतामाथि धावा बोलिएको ट्रम्प कार्यकालको समीक्षा गर्र्दै यसको पुनरुत्थान वा वापसीमा विशेष जोड दिनुपर्नेछ । स्वतन्त्रता र न्यायको आदर्श परिभाषा स्थापित गर्नुपर्ने छ । भत्किएका जनविश्वास पुनः जागृत गर्नुपर्नेछ । देशभित्रको अहिलेको सबैभन्दा जल्दोबल्दो समस्या भनेको कोरोना भाइरस (कोभिड–१९) को आतङ्क नै हो । यसले करिब दुई लाख ३४ हजार अमेरिकी नागरिकको ज्यान लिइसकेको छ ।
कोरोनालाई हल्का रूप लिएका कारण ट्रम्पको ह्वाइट हाउसबाट बहिर्गमन हुनुपर्ने एक प्रमुख कारकका रूपमा रहेको छ । यसबाहेक उहाँको बोलीचाली, व्यवहार, जनमानसमा भ्रम छर्ने, विज्ञानलाई नै चुनौती दिने किसिमका हल्का टिप्पणी र झुटका पुलिन्दाले पराजयलाई मलजल गरेको अमेरिकी सञ्चार माध्यमको विश्लेषण छ ।
बाइडेनसँग राष्ट्र र परराष्ट्रसँगको बहुआयामिक नेतृत्व गर्नसक्ने क्षमता, आँट र लामो अनुुभव छ । करिब चार दशक लामो सिनेटरको अनुभव त छ नै उहाँसँग, आठ वर्ष लामो उपराष्ट्रपतिको गहकिलो र दर्बिलो अनुभव छ । त्यसमाथि उहाँले एक सक्षम महिला कमला ह्यारिसलाई उपराष्ट्रपतिको जिम्मा दिनुभएको छ । कमला अमेरिकाको २४४ वर्षको इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला हुनुहुन्छ । उहाँ क्यालिफोर्निया राज्यको पहिलो एटर्नी जनरल तथा पहिलो अश्वेत सिनेटर हुनुहुन्छ ।
बाइडेनका लागि समय सजिलो छैन, धेरै कठिन छ । अमेरिकाको राजनीति विभाजित छ, ध्रुवीकृत छ । रङ्गभेद आरोप प्रत्यारोप चलिरहेको छ । एउटाले चिया खाएको ठाउँमा अर्को पार्टीको सांसद नजाने परिपाटीको विकास भएको छ । उहाँले यसलाई एउटै अमेरिका बनाउने भने पनि सहज छैन । अमेरिकामा कोरोना भाइरस निराकरण गर्नसक्ने अचुक खोप नबनिसकेको परिप्रेक्ष्यमा उहाँले कसरी र कस्तो प्रकारले यसलाई सामान्य रूपमा ल्याउन सक्नुहुनेछ त्यो अमेरिकी जनताको प्रतीक्षाको विषय हो ।
सेतो घरमा पुगेपछि विश्वभरका राष्ट्रसँग नयाँ सम्पर्क, सम्बन्ध र सम्झौताहरू गर्नुपर्नेछ । यसका लागि उहाँले रातदिन खट्नुपर्नेछ । ७८ वर्षीय बाइडेनका लागि यी सबै कुरा सहज हुुँदैनन् । यो महाव्याधिका बेला झन् जनता अस्थिर र मानसिक रूपले बिरामी पनि छन् । मानिस रोजगारी नपाएर पीडित छन् । स्वास्थ्य समस्या बग्रेल्ती छन् । जलवायु परिवर्तनमा अमेरिकाको भूमिका कुन र कस्तो प्रकारले हुनेछ, शिक्षालाई कसरी अगाडि बढाउने भन्ने समस्या छ । राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनले विविध आस्था, जाति, धर्म, लिङ्गको भेद नगरी आफूले पहिलो दिनदेखि नै कडा परिश्रमका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?