logo
२०८० चैत्र १६ शुक्रवार



व्यापारीले मन्त्रीसंगै लिए चर्को मूल्य

राष्ट्रिय |


व्यापारीले मन्त्रीसंगै लिए चर्को मूल्य


सीता शर्मा

काठमाडौँ, असोज १ गते । भारतले प्याज निर्यात गर्न रोकेकै भोलिपल्ट बजारमा भाउ आकाशिएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बुधबार ग्राहकको भेषमा बल्खु बजार पुग्नुभयो ।
चारवटा पसलबाट प्रतिकेजी १२० रुपियाँका दरले प्याज पनि खरिद गर्नुभयो । सुरक्षाकर्मी र सरकारी गाडीबिना ग्राहकको भेषमा मास्क लगाएर बल्खु बजारको अनुगमनमा जानुभएका मन्त्री भट्टलाई समेत बल्खुका व्यापारीले प्रतिकेजी ४८ रुपियाँ खरिद गरेको प्याज १२० रुपियाँमा बिक्री गरे ।
प्याजमा ठगिनुभएका मन्त्री भट्टले तत्कालै स्थानीय प्रशासनलाई जानकारी गराई र बढी मूल्य लिने व्यापारीलाई कारबाही गर्न निर्देशन दिनुभयो । धेरै मूल्य लिने चार जना व्यापारीलाई प्रहरीले पक्राउ गरेर कालीमाटी वृत्तमा लगेको जनाइएको छ । ती व्यापारीलाई कालोबजारी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको कालीमाटीस्थित महानगरीय प्रहरी वृत्तले जानकारी गराएको छ ।
महानगरपालिकाको संयुक्त बजार अनुगमन टोलीले बुधबार बल्खुका आलु र प्याजका व्यापारी सुनील केसीलाई प्याजमा कालोबजारी गरेको अभियोगमा नियन्त्रणमा लिएको छ । काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले व्यापारी केसीलाई बढी मूल्यमा प्याज बिक्री गरेको अवस्थामा फेला पारेपछि नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरीको सहयोगमा महानगरको संयुक्त अनुगमन टोलीले व्यापारी केसीको पसलबाट २४० बोरा प्याज लुकाएर राखेको अवस्थामा बरामद गरेर कालीमाटी प्रहरीलाई जिम्मा लगाएको छ ।
अनुगमनमा सहभागी उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले ती व्यापारीले प्याज लुकाएर बढी मूल्य दिनेलाई दुई÷तीन बोराका दरले बिक्री गर्ने गरेको पनि फेला परेको जानकारी दिनुभयो । उहाँले प्याज प्रतिकेजी ४८ रुपियाँमा खरिद गरेर १४० रुपियाँमा बिक्री गरेको पनि अनुगमनका क्रममा फेला परेको जानकारी दिनुभयो ।
महानगर बजार अनुगमनको नेतृत्व गर्नुभएका हरिबहादुर भण्डारीले प्याजमा ती व्यापारीले कालोबजारी गरेको प्रमाणसहित फेला परेकाले कालोबजारी ऐनअनुसार कारबाही हुने बताउनुभयो । सोमबारसम्म प्रतिकेजी ६५ रुपियाँमा बिक्री भएको प्याज भारतले निर्यात रोक लगाएको हल्लासँगै मङ्गलबार प्याज एक्कासि महँगो भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलबार कालीमाटी बजारमा प्याजको अनुगमन गरी बढी मूल्य लिएका छ जना व्यापारीलाई दुई दिनभित्र खरिद मूल्यको बिलसहित विभागमा उपस्थिति हुन निर्देशन दिएको छ । विभागका अनुगमन निर्देशक सागर मिश्रको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमनका क्रममा व्यापारीले प्रतिकेजी १०० रुपियाँसम्म बिक्री गरेको भेटेको थियो ।
यसैबीच महानगरको अनुगमन टोलीले बुधबार नै चाबहिल चोक नजिकै रहेको सावरिया होलसेल मार्टको गोदामबाट म्याद गुजे्रका एक लाख रुपियाँभन्दा बढीका खाद्यसामग्री बरामद गरी नष्ट गरेको जनाएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?