logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोनाको महामारीमा पनि कतारद्वारा मजदुरकाे तलब वृद्धि

विदेश |
अर्थ |


कोरोनाको महामारीमा पनि कतारद्वारा मजदुरकाे तलब  वृद्धि


मुकुन्द गैरे
काठमाडौँ, भदौ १५ गते । विश्वमा कोरोनाका कारण रोजगारी गुमाउने मानिसको सङ्ख्या बढिरहेको अवस्थामा कतारले नेपालीसहित कामदारको तलब बढाएको छ । नेपाली युवाको रोजगारीको गन्तव्य मुलुक कतारले कामदारको न्यूनतम तलब एक हजार कतारी रियल अर्थात् नेपाली ३२ हजार रुपियाँ तोकेको छ । साथै, कामदारलाई बस्न आवास खर्चबापत पाँच सय र खानाको लागि तीन सय गरी जम्मा १८ सय रियल तोकेको हो । तर, आवास र खानाको सुविधा कम्पनीले उपलब्ध गराएको खण्डमा एक हजार रियाल मात्रै दिए पुग्नेछ ।

यो न्यूनतम तलब घरेलु श्रमिकको हकमा पनि लागू हुने बताइएको छ । राजपत्रमा प्रकाशित भएको छ महिनापछि यो नियम कार्यान्वयनमा आउने कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले बताएको हो । साथै, कामदारले कम्पनी परिवर्तन गर्नका लागि रोजगारदाताको अनुमति चाहिने बाध्यकारी नियम पनि हटाइएको छ । यो नियमले कामदार अर्को कम्पनीमा काम गर्न जाने बाटो खुलेको छ ।
कतारले गरेको यो व्यवस्था नेपाली कामदारको लागि स्वागतयोग्य भएको वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ बताउनुहुन्छ ।

कतारमा सन् २०२२ मा विश्वकप फुटबलको आयोजना हुने लागेकाले पनि समयमै निर्माणको काम सिध्याउन विदेशी श्रमिकको आवश्यक पर्ने भएकाले पनि कामदारहरूको तलब बढाएको हो ।
मानव अधिकारवादी संस्थाहरूले त्यहाँ कार्यरत कामदारको हकहितको बारेमा सुक्ष्म तरिकाले हेरेको र कामदारको विषयमा नराम्रो सन्देश जाने डर र दबाबको कारण तलब बढाउन कतार बाध्य भएको डा. गुरुङ बताउनुहुन्छ ।
एक कामदार अर्को कम्पनीमा काम गर्न सीधै पाइने नियम राम्रो भएको र अब कामदार थुनिएर एउटै कम्पनीमा काम गर्ने बाध्यता हटेको उहाँ बताउनुहुन्छ । कतारमा विश्वकप तयारीको लागि होटल, एअरपोर्ट, सडकलगायत निर्माणका काम समयमै सम्पन्न गर्नको लागि कतारसामु चुनौती बनेको छ । उक्त चुनौतीलाई पूरा गर्न कामदारलाई खुशी पार्न यो नियम ल्याइएको डा. गुरुङको दाबी छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका सचिव मेघनाथ भुर्तेलले कतारले नेपाली कामदारको तलब बढाउने कुरा वैदेशिक रोजगारीमा जाने कामदारको लागि राम्रो कुरा भएको प्रतिक्रिया दिनुभयो ।
नेपाली कामदार विदेशमा गएर लगनशील, इमानदार भएका कारण विदेशमा नेपाली कामदारको माग बढिरहेको भुर्तेल बताउनुहुन्छ । कतारमा चार लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेका छन् । कतारमा त्यसको लगभग १५ प्रतिशत मात्रै कतारीहरूले ओगट्ने र बाँकी अन्य देशबाट गएका श्रमिक रहेको बताइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप