logo
२०८० चैत्र १६ शुक्रवार



साढे ५३ हजारभन्दा बढी नेपालीको उद्धार, यूएइबाट धेरै

विदेश |
फिचर |


साढे ५३ हजारभन्दा बढी नेपालीको उद्धार, यूएइबाट धेरै


मुकुन्द गैरे
काठमाडौँ, भदौ १३ गते । सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हाल सम्म ५३ हजार ६९९ जना नेपालीलाई उद्वार गरेको छ । सिसिएमसिले जारी गरेको आजसम्मको तथ्याङकअनुसार ५८ देशमध्ये सबैभन्दा बढी १५ हजार २१० जना नेपाली युएइबाट फर्किएका छन् ।

दोस्रो फर्किने मुलुक मलेसियाबाट आठ हजार २७६ जना नेपाली स्वदेश फर्किएका छन् । तेस्रोमा साउदीबाट आठ हजार २२८, कुवेतबाट छहजार ३२० जना नेपाली स्वदेश आएका छन् । यस्तै, कतारबाट पाँच हजार ७३९ जना स्वदेश फर्किएका छन् । यो अवधिमा जापानबाट एकहजार २८२ जना नेपाली स्वदेश फर्किएका छन् भने अस्ट्रेलियाबाट एक हजार ८७ जना स्वदेश फर्किएको उल्लेख छ । दक्षिण कोरियाबाट ९६७ जना फर्किएकोमा छिमेकी देश बङ्गलादेशबाट ८६५ जना फर्किएको सिसिएमसिले बताएको छ ।

यसैगरी, माल्दिभ्सबाट ७०९ जना फर्किएकोमा ओमानबाट ६६७ जना नेपाली स्वदेश फर्किएका छन् । हाल सम्म संयुक्त राज्य अमेरिकाबाट ५९१ जना नेपाली स्वदेश फर्किएको बताइएको छ । यस्तै, पाँच सयभन्दा कम नेपाली स्वदेश आएकोमा थाइल्याण्ड ३२६, संयुक्त अधिराज्य (बेलायत)बाट २४४ जना स्वदेश फर्किए ।
कोरोना भाइरसबाट सबैभन्दा पहिला उद्धार गरिएको छिमेकी मुलुक चीनबाट अहिलेसम्म २०८ जनाको उद्वार गरिएको छ ।
फर्कनै पर्ने अवस्थामा परी सोमालियाबाट एकजना मात्रै नेपाली स्वदेश फर्किएको सिसिएमसिले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
यस्तै सयभन्दा कम सङ्ख्यामा नेपाली स्वदेश फर्किएको देशहरुमा इराक, स्विजरल्याण्ड, इरान, ईथोपिया, ट्युनिसिया, सुडान, नाइजेरिया, युगाण्डा, पोर्चुगल, फ्रान्स, स्पेन, ग्रिस आदि रहेका छन् ।

साथै, अष्ट्रिया, नेदरल्याण्डस्, बेल्जियम, इटाली, चेक गणतन्त्र, पोल्याण्ड, जर्मनी, अर्मेनिया, स्विडेन, नर्वे, फिनल्याण्ड, डेनमार्क, क्यानडा, मकाउ, पाकिस्तान, अफगानिस्तान, कम्बोडिया, म्यानमार, इजरायललगायतका देशहरुबाट थोरै मात्रामा नेपाली स्वदेश फर्किएका छन् ।
सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने काम अहिले पनि जारी राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप