logo
२०८० चैत्र १५ बिहीवार



निर्माण सामग्रीको मूल्यवृद्धि

अर्थ |


निर्माण सामग्रीको मूल्यवृद्धि


सीता शर्मा

काठमाडौँ, साउन २८ गते । कोरोना भाइरसका कारण विकास निर्माणको काम अवरुद्ध छ तर पनि निर्माण सामग्रीको मूल्य भने बढेको छ । ढुवानी भाडा बढेका कारण निर्माण सामग्री मात्र नभई हरेक सामग्रीको मूल्य वृद्धि भएको बताइएको छ ।
गत चैतयता ढुवानीमा दोब्बर भाडा वृद्धि भएसँगै निर्माण सामग्रीको भाउ महँगो भएको व्यापारी तथा निर्माण व्यवसायीले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले पछिल्लो समयमा निर्माण सामग्री खरिद गर्दा सीधै महँगो नभए पनि यसको ढुवानीमा दोब्बर वृद्धि भएका कारण देखाउँदै हरेक निर्माण सामग्रीको मूल्य बढाइएको जानकारी दिनुभयो ।
उहाँले ढुवानीका कारण देखाउँदै प्रत्येक निर्माण सामग्रीको भाउ १० देखि १५ प्रतिशत बढेकाले यसको प्रत्यक्ष असर निर्माण कम्पनीलाई परेको बताउनुभयो । निर्माण सामग्री बिक्रेता व्यापारी निर्माण सामग्रीको भाउ बढ्नुको अन्य कारण नभएर पछिल्लो समयमा ढुवानीमा दोब्बर वृद्धि हुँदा भएको बताउँछन् । सामान्य अवस्था वा चैतअघि वीरगञ्जबाट काठमाडौँसम्म प्रतिकेजी ढुवानी भाडा दुई रुपियाँ रहेकोमा अहिले बढेर चार रुपियाँ पुगेको बताइएको छ ।
अहिले ढुवानीकर्ताले फर्किंदा रित्तै फर्किनुपर्ने भन्दै आउँदाजाँदाको भाडा जोडेर लिने गरेको र त्यसको असर सामानको भाउमा परेको कलङ्कीका निर्माण सामग्री बिक्रेता वेदबहादुर थापाले बताउनुभयो । निर्माण व्यवसायी महासङ्घका महासचिव दाहालका अनुसार भूकम्पलगत्तै चरमचुलीमा पुगेको निर्माण सामानको भाउ आर्थिक वर्ष २०७५÷७६ र २०७६÷७७ मा घटेर सामान्य अवस्थामा आएको थियो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना नियन्त्रणका लागि सरकारले गरेको देशव्यापी बन्दाबन्दीपछि निर्माण सामग्रीको ढुवानी बढेर भाउ महँगो भएको उहाँको भनाइ छ ।
महासङ्घका अनुसार निर्माण सामग्रीको भाउ आव २०७३÷७४ मा भन्दा आर्थिक वर्ष ३०७४÷७५ र २०७५÷७६ मा क्रमशः घटेको थियो । आव २०७३÷७४ मा प्रतिबोरा सिमेन्ट एक हजार एक सय रुपियाँ र प्रतिकेजी डन्डी ९० रुपियाँसम्म पुगेको थियो । यस्तै अन्य सामान बालुवा, गिट्टी, इँटा लगायतका निर्माणमा प्रयोग हुने सामानमा पनि पनि त्यही अनुपातमा मूल्य बढेको थियो ।
तर आर्थिक वर्ष २०७५÷७६ मा सिमेन्ट प्रतिबोरा ६५० देखि सात सय रुपियाँ र डन्डी प्रतिकेजी ५८ देखि ६० रुपियाँसम्ममा किनबेच भएको थियो । आर्थिक वर्ष २०७६÷७७ को सुरुतिर श्रमिकको ज्यालाका कारण देखाउँदै उद्योगीले सिमेन्ट प्रतिबोरा नौ सय रुपियाँ र डन्डी प्रतिकेजी ८०÷८२ रुपियाँसम्म पु¥याए । निर्माण व्यवसायीको विरोधपछि त्यसमा केही घटेको सिमेन्ट र डन्डीको भाउ अहिले पुनः बढेको निर्माण व्यवसायीले बताएका छन् ।
महासङ्घका अनुसार सिमेन्ट प्रतिबोरा ८५० देखि नौ सय रुपियाँ, डन्डी प्रतिकेजी ८० रुपियाँ र एक नम्बर इँटा प्रतिहजारको १७ हजार पाँच सयदेखि १८ हजार रुपियाँमा कारोबार भइरहेको छ । गिट्टी र बालुवा पनि त्यही अनुपातमा बढेको महासङ्घले जनाएको छ ।
हेटौँडादेखि काठमाडौँसम्मको ढुवानीमा एक बोरा सिमेन्टमा ५० रुपियाँ बढेको भन्दै महासचिव दाहालले भन्नुभयो, मूल्य बढेसँगै निर्माण कार्यको लागत पनि करिब १५ प्रतिशत बढ्छ । यता निर्माण सामग्री उत्पादन गर्ने उद्योगले अहिले हरेक सामानको माग र खपत कम भइरहेको र उद्योगीका कारण मूल्य नबढेको स्पष्ट पारेका छन् ।
यता ढुवानी व्यवसायीले भने बन्दाबन्दीपछि सामान लिएर गएपछि रित्तै फर्किनुपर्ने भएकाले जाँदा र आउँदाको भाडा लिनुपर्ने बाध्यता भएको बताउँदै आएका छन् । ट्रक चालक विजय तामाङले भन्नुभयो, पहिले सामान लिएर आएको ट्रक फर्किंदा सामान लिएर फर्किने गथ्र्यो तर अहिले त रित्तै फर्किनु पर्छ । अनि आउँदा जाँदाको भाडा जोडेर लिँदा पहिलेभन्दा महँगो हुनु स्वभाविक हो ।
बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने केही समयपहिले निर्माण सामग्रीको मूल्य बढेको भनेर उजुरी आए पनि हाल कुनै उजुरी नआएको जनाएको छ । विभागका निर्देशक सागर मिश्रले अहिले निर्माण सामग्रीको भाउ बढ्नुका कारण नभएकाले अनुगमन गरेर कैफियत भेटिए कारबाही गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, अहिलेको समयमा ढुवानी बढाउन ठीक हो वा होइन, यस विषयमा पनि सरोकारवालासँग बसेर छलफल गरिने छ, उपभोक्तालाई धेरै नै मर्का पर्ने गरी ढुवानी बढाएको पाइए कानुन अनुसार कारबाही प्रक्रियामा जान्छौँ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?