logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना सङ्क्रमित मृतकका परिवारसहित ४३ जनाले कोराना जिते

प्रदेश |


कोरोना सङ्क्रमित मृतकका परिवारसहित ४३ जनाले कोराना जिते
कोरोनालाई जितेर डिस्चार्ज भएकाहरुलाई सम्मानपूर्वक विदाई गर्दै स्वास्थ्यकर्मीहरु


धीरेन्द्रप्रसाद साह

राजविराज, साउन २२ गते । सप्तरीमा एकैदिन ४३ जनााले कोरोना जितेका छन् । कोरोना सङ्क्रमणबाट मृतक सङ्क्रमितका सिङ्गो परिवारका पाँच जना, छिमेकी र सीधा सम्पर्कमा आएका एक नर्स दम्पतीसहित ४३ जनाको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । उनीहरूलाई गएराति आइसोलेसनबाट डिस्चार्ज गरी घर पठाइएको छ ।

यससँगै जिल्लामा कोरोना सङ्क्रमणबाट निको भएको सङ्ख्या ३७९ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । गत साउन १ गते राजविराज नगरपालिका वडा नं. ६ निवासी ७३ वर्षीय व्यापारीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । उहाँको सीधा सम्पर्कमा आएका श्रीमती छोरा, बुहारी, नाति नातिनी, नर्स दम्पतीसहित कोरोना सङ्क्रमण भेटिएपछि १२ जना होम आइसोलेसनमा बसेका थिए । व्यापारीबाटै उनीहरूसहित छरछिमेक र अन्य सीधा सम्पर्कमा आएका ४३ जना सङ्क्रमणको सिकार भएका छन् । केही सङ्क्रमित अझै आइसोलेसनमा उपचाररत रहेको बताइएको छ ।

जिल्लामा बिहीबारसम्म कुल सङ्क्रमितको सङ्ख्या ५३९ रहेको छ । तीमध्ये ३७९ जना सङ्क्रमितहरू निको भएर घर फर्किसकेका छन भने ११० जना आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले जानकारी दिनुभयो । जिल्लामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ ।

जिल्लाको १८ वटै स्थानीय तहमा सङ्क्रमण

जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय तहहरू छन् । सबै स्थानीय तहहरूमा सङ्क्रमण फैलिएको छ । सबभन्दा बढी राजविराज नगरपालिकामा सङ्क्रमितको सङ्ख्या रहेको छ । स्वास्थ्य कार्यालयका अनुसार राजविराज नगरपालिकामा ९३, कञ्चनरुप नगरपालिकामा पाँच, डाक्नेश्वरी नगरपालिकामा २६, बोदेबरसाईन नगरपालिकामा ४३, खडग नगरपालिकामा १९, शम्भुनाथ नगरपालिकामा ११, सुरुङ्गा नगरपालिकामा २१, सप्तकोशी नगरपालिकामा ११ र हनुमाननगर कङ्कालिनी नगरपालिमामा ६३ जना सङ्क्रमितको सङ्ख्या रहेको छ ।

त्यसै गरी राजगढ गाउँपालिकामा २९, अग्निसाइर कृष्णसबरन गाउँपालिकामा ११, छिन्नमस्ता गाउँपालिकामा ३२, महदेवा गाउँपालिकामा १६, तिरहुत गाउँपालिकामा १२, तिलाठी कोइलाडी गाउँपालिकामा ७९, रुपनी गाउँपालिकामा आठ, विष्णुपुर गाउँपालिकामा छ र बलान बिहुल गाउँपालिकाम ५४ जना कोरोना सङ्क्रमित भएका छन् ।  

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?