logo
२०८० चैत्र १६ शुक्रवार



देवघाटमा दाहसंस्कारको लागि दाउरा अभाव

समाज |


देवघाटमा दाहसंस्कारको लागि दाउरा अभाव
सांकेतिक तस्बिर



प्रकाशचन्द्र भट्टराई
दमौली, साउन २० गते । सरकारले सालको काठ ढुवानीमा रोक लगाएपछि तनहुँको देवघाटधाममा दाहसंस्कारको लागि दाउरा अभाव भएको छ । सालको काठको अवैध ओसारपसार नियन्त्रणको लागि सरकारले गत जेठ २८ गतेको मन्त्रीपरिषद्को निर्णयअनुसार देशभर सालको काठको ढुवानीमा रोक लगाएको थियो ।

विशेष गरी तराईका जिल्लामा सालको काठको अवैध ओसारपोसार भइरहेको भन्दै सरकारले काठ ढुवानीमा रोक लगाएपछि देवघाटधाममा दाहसंस्कारमा दाउराको अभाव भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताउनुभयो । देवघाट क्षेत्र विकास समितिले यहाँको दाहासंस्कारको व्यवस्थापन गर्दैआएको छ । देवघाटमा दाहसंस्कारको लागि दैनिक १० देखि १५ वटासम्म शव ल्याउने गरिएको समितिका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यो सङ्ख्या पशुपति आर्यघाट पछिको दोस्राे हो ।

देवघाट क्षेत्र विकास समितिले चितवन र नवलपरासी बर्दघाट सुस्तापूर्वको जिल्ला वन पैदावर आपूर्ति समितिबाट खरिद गरी सालको दाउरा ल्याउने गर्छ । यसअघि गत चैत ६ गते नवलपरासीबाट ५० चट्टा दाउरा आठ लाख ८३ हजार रुपियाँमा खरिद गरी १० गते ल्याउने तयारी भएकोमा सो दिन ल्याउन नसकिएको र त्यसपछि लकडाउनको कारण ल्याउन नसकिएको अध्यक्ष पौडेलले बताउनुभयो । एक चट्टा दाउराले १४ वटासम्म शव जलाउन सकिन्छ ।

‘पहिला लकडाउनको कारण ल्याउन सकिएन, त्यसपछि जेठ २८ गतेपछि सरकारले नै काठ ढुवानीमा रोक लगायो’ अध्यक्ष पौडेलले भन्नुभयो ‘अहिले दाउराको अभाव भइसक्यो ।’ अब बढीमा १५ दिनको लागि मात्र दाउराको स्टक रहेको भन्दै त्यस बेलासम्म पनि सरकारले यो व्यवस्था हटाएन र दाउरा ल्याउन सकिएन दाहासंस्कार गर्न समस्या पर्ने अध्यक्ष पौडेलको भनाइ छ ।

सरकारको निर्णयको कारण दाउराको अभाव भएको बारेमा वनमन्त्री र सचिवसम्मलाई जानकारी गराए पनि मन्त्री परिषद्को बैठकले नै सालको काठ ढुवानीमा रोक लगाएको हुँदा मन्त्रालय स्तरबाट केही गर्न नसकिने मन्त्रालयबाट जानकारी प्राप्त भएको अध्यक्ष पौडेलले भन्नुभयो ।

यस समस्याको बारेमा मङ्गलबार देवघाट क्षेत्रको अवलोकनमा आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीकी जनसम्पर्क सल्लाहकार सीता पौडेललाई पनि जानकारी गराइएको अध्यक्ष पौडेलले बताउनुभयो । प्रधानमन्त्रीकी सल्लाहकार पौडेलले आफू काठमाडौँ फर्किएपछि प्रधानमन्त्रीलाई यस बारेमा जानकारी गराउने र समस्या समाधानको लागि पहल गर्ने बताउनुभयो ।

पवित्र कालीगन्डकी र त्रिशुलीको सङ्गमस्थल देवघाटमा शवको दाहासंस्कारको लागि देशका धेरै ठाउँबाट ल्याउने गरिन्छ । देशकै मध्यभागमा रहेको यस धाममा दाहासंस्कार गर्दा मृत आत्माले शान्ति पाउने जनविश्वास रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?