logo
२०८० चैत्र १५ बिहीवार



वर्षासँगै खसेकाे पहिरोमा परी एक गम्भीर घाइने, सात घर स्थानान्तरण

प्रदेश |


वर्षासँगै खसेकाे  पहिरोमा परी एक गम्भीर घाइने, सात घर स्थानान्तरण
सांकेतिक तस्विर


अर्जुन काफ्ले
स्याङ्जा, असार २९ गते । चार दिनदेखिको अविरल वर्षासँगै ठाउँठाउँमा गएको पहिरोले घर, गोठ, भत्केका छन् भने बाटोहरू अवरुद्ध भएका छन् ।
वर्षासँगै खसेकाे पहिरोका कारण पुतलीबजार नगरपालिका-१ मा एक जना गम्भीर घाइते भएका छन् ।

सिद्धार्थ राजमार्गमा माथिबाट पहिरो खस्दा पुतलीबजार ११ घर भई कोठा भाडामा लिएर सिलाइ काम गरी बस्ने ६९ वर्षीय बुद्धिराम नेपाली गम्भीर घाइते हुनुभएको हो ।
राजमार्गमाथिको पहिरोका कारण जोखिमका रहेका पाँच घरका ४० जना व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, अर्जुनचौपारी-६ बोडीखोलामा ईन्द्रप्रसाद पङ्गेनीको गोठ पहिरोले पुरिँदा एक भैंसी मरेकाे छ भने छ लाख ८० हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

यस्तै हरिनाश गाउँपालिका-४ का लुद्रबहादुर रानाको दुईतले कच्ची घरको पूर्वपट्टिको कोठा, भान्छा कोठा र गोठ पहिरोले बगाएको छ भने एक भैंसी र एक पाडी मरेको अधिकारीले जानकारी दिनुभयो ।

पहिरोले तीन लाख बराबरको क्षति भएको छ भने घरमा रहेका आठ जनाको छिमेकी लिलबहादुर रानाको घरमा स्थानान्तरण गरिएको छ ।  यस्तै, पुतलीबजार-१, ट्राफिक चोकको सार्वजनिक शौचालयको तलबाट झरेको पहिरोले त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको चार वटा कोठाको सिसा फुटेको, चार थान कम्प्युटरमा क्षति पुगेको छ ।

यस्तै, बिरुवा गाउँपालिका-८, मोचाबारीका तुलबहादुर गुरुङको दुईतले कच्ची घर अविरल वर्षाको कारण भत्किएको छ र परिवारलाई स्थानान्तरण गरिएको छ ।
बिरुवा-६, चिन्नेवासका ३० वर्षीया अस्मिता विकले पालेका ३२० वटा कुखुरा रहेको फर्ममा पानीको भल पसी पुरिएको र सबै कुखुरा मरेको अधिकारीले जानकारी दिनुभयो । पहिरोका कारण जिल्ला एक दर्जन ग्रामीण सडकहरू अवरुद्ध भएका छन् भने सिदार्थ राजमार्ग छ घण्टापश्चात एकतर्फि सुचारु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?