logo
२०८० चैत्र १६ शुक्रवार



इन्टरनेट र फोन समस्याले आजित

प्रदेश |


इन्टरनेट र फोन समस्याले आजित


गलकोट, जेठ १६ गते ।  साविक धवलागिरि अञ्चलका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा पछिल्लो केही दिनयता फोन र इन्टरनेटको समस्याले सेवाग्राही आजित बन्न थालेका छन् । देशमा जारी बन्दाबन्दीले नागरिक घरभित्रै बस्नुपरेको बाध्यात्मक अवस्थामा अहिले इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या अधिक भए पनि छिनछिनमै जाने फोनको नेटवर्क र इन्टरनेटले धवलागिरिवासीलाई आजित बनाएको छ ।

इन्टरनेट र टेलिफोन सेवा पछिल्ला केही दिनमा पटक–पटक अवरुद्ध हुन थालेपछि सेवाग्राही समस्या खेप्न बाध्य भएका छन् । पूर्ववत सूचनाबिना नेपाल टेलिकमले घण्टौँसम्म फोन, इन्टरनेट अवरुद्ध गराउँदा सेवाग्राही अन्योल र मारमा परेको बागलुङकी स्थानीय सविता शर्माले गुनासो गर्नुभयो । “मोबाइलमा नेटको टावर देखिन्छ तर काम नगरेपछि मोबाइल नै बिग्रियो कि भनेर बन्दाबन्दीकै बीच मोबाइल पसल खोज्दै गएँ”, शर्माले भन्नुभयो, “त्यहाँ पुगेर देखाउँदा पसलेले मोबाइल बिग्रिएको नभइ इन्टरनेटले नै काम नगरेको भनेपछि फर्किए ।”

बागलुङमा पछिल्लो समय विद्युत्सँगै इन्टरनेटसमेत अवरुद्ध हुन थालेपछि सेवाग्राहीले टेलिकमप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन् । नेपाल टेलिकम बागलुङ शाखाले भने सडक निर्माणकार्यमा समन्वय नगरी डोजर चलाउँदा फाइवर काटिने र पटक–पटक अवरुद्ध हुने गरेको बताएको छ । नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्माले पछिल्लो साता फाइवर नेटमा धेरै समस्या आएको स्वीकार गर्नुभयो ।

“अहिले पोखरा–बागलुङ मध्यपहाडी लोकमार्गअन्र्तगतकोे हेम्जा र नौडाँडा खण्डमा काम भइरहेकोे छ, त्यहाँ हामीलाई जानकारी नगराइ फाइवर तार काटिने गरी डोजर चलाउँदा समस्या भएको छ”, कार्यालय प्रमुख शर्माले भन्नुभयो, “सडक आयोजनाले पनि समन्वय गर्दैन, विद्युत्ले पनि आफ्नै ढङ्गले पोल सार्दिन्छ, अनि त्यहाँ एउटा तार काटिनासाथ यता सिङ्गो धवलागिरिभर इन्टरनेट अवरुद्ध हुने अवस्था आउँछ ।” मर्मतसम्भारका लागि अवरुद्ध नभइ आकस्मिक अवरुद्ध हुँदा पूर्ववत सूचना दिन नपाइएको र यसबारेमा सम्बन्धित निकायमा जानकारी गराए पनि समन्वय नभएर समस्या दोहोरिएको शर्माको भनाइ छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जिल्लामा पटक–पटक फोन र इन्टरनेट जाने समस्याबारे कार्यालय प्रमुखलाई तत्काल समाधान खोज्ने गरी निर्देशन दिइएको बताउनुभयो । “म आफैँ पनि फोन, इन्टरनेट प्रयोगकर्ता भएकाले यो समस्याबारे जानकार छु”, प्रजिअ शैजुले भन्नुभयो, “यदि लामो समय जाने अवस्थामा पूर्ववत सूचना जानकारी दिएर मात्र मर्मतसम्भारको काम गर्नुपर्छ ।” फोन तथा इन्टरनेटका कारण बन्दाबन्दीको समयमा अनलाइन कक्षा लिइरहेका विद्यार्थी समेत समस्यामा पर्दै आएका छन् । फोन र इन्टरनेट गएपछि कहिले तत्कालै आउँछ भने कहिले दिनभर नआउँदा सेवाग्राही आजित भएका हुन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?