logo
२०८१ बैशाख ८ शनिवार



विदेशमा ज्यान गुमाउने नेपाली श्रमिक दस

विदेश |


विदेशमा ज्यान गुमाउने नेपाली श्रमिक दस


सीता शर्मा

काठमाडौँ, जेठ १० गते । कोरोना भाइरसका कारण वैदेशिक रोजगारीका क्रममा अहिलेसम्म विदेशमा १० जना नेपाली श्रमिकले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा गएकामध्ये १० जनाको कोभिड १९ बाट सङ्क्रमित भएर मृत्यु भएको हो । नेपाल सरकारले लकडाउन सुरु गरेदेखि विदेशमा मृत्यु भएका २०७ जना श्रमिकमध्ये १० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाएको हो ।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले नेपालमा लकडाउन सुरु भएदेखि अहिलेसम्म वैदेशिक रोजगारीमा रहेका १० जनाको कोभिड १९ कारण ज्यान गएको आधिकारिक जानकारी आएको बताउनुभयो । जसमा संयुक्त अरब इमिरेट्स (यूएई)मा पाँच जना, साउदी अरेबियामा तीन जना, कतार र टर्कीमा एक÷एक जना गरी १० जनाको कोभिड १९ कारण ज्यान गएको उहाँले जानकारी दिनुभयो ।
बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले कोभिड १९ कारण ज्यान गुमाएका सबैको परिवारसँग सहमति लिएर सम्बन्धित देशमा शवको अन्त्येष्टि गरिएको जानकारी दिनुभयो । कोभिडका कारण कोही नेपाली श्रमिकको वदेशमा ज्यान गएमा अहिलेलाई नेपाल ल्याउन सम्भव छैन । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै कोभिडका कारण ज्यान गुमाउनेको शव नेपाल ल्याउन कठिन हुने र गन्तव्य देशले पनि नदिने भएकाले गन्तव्य देशमै अन्त्येष्टि गर्नुको विकल्प छैन ।
बन्दाबन्दीले विदेशमा १९७ शव अलपत्र बोर्डका अनुसार कोरोना भाइरसका कारण बन्दाबन्दीले गर्दा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा १९७ जनाको शव उतै रोकिएको छ । बोर्डका अनुसार विभिन्न कारणले यस अवधिमा मलेसियामा ४४ जना, कुवेतमा ११ जना, बहराइन र दक्षिण कोरियामा तीन÷तीन जना, सेलेल्न्स, ओमानमा एक÷एक जनाले ज्यान गुमाएका छन् । नेपालमा लकडाउन सुरु भएदेखि यूएईमा ४६ जनाको मृत्यु भएकामा पाँच जनाको कोभिड १९ का कारण मृत्यु भएको छ ।
यस अवधिमा साउदीमा ४९ जनाको मृत्यु भएकामध्ये तीन जनाको मृत्यु कोरोनाबाट भएको छ । कतारमा मृत्यु भएका ४१ जनामध्ये एक जनाले कोभिड १९ का कारण ज्यान गुमाएको बोर्डले जनाएको छ । १० देशमा रहेका १९७ जना नेपाली श्रमिकको शव भने बन्दाबन्दी भएका कारण सम्बन्धित गन्तव्य देशमा रोकिएको छ । बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले खाडी देश र मलेसियामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले तत्काल ती शव स्वदेश ल्याउनसक्ने अवस्था नरहेको बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?