logo
२०८० चैत्र १६ शुक्रवार

 भ्रमणवर्ष प्रचार गर्ने नयाँ प्रयास 



नेपाली पोशाकमा ठाँटिएर प्रश्न सोध्दै, गीत गाउँदै

विदेश |
पढ्नै पर्ने |
पर्यटन |


नेपाली पोशाकमा ठाँटिएर प्रश्न सोध्दै, गीत गाउँदै


इश्वरचन्द्र झा
काठमाडौं, माघ ६ गते । क्यानडाको प्रमुख शहर टोरन्टोको अति ब्यस्त भाग ‘डाउन टाउन’को सडकमा एक युवा नेपाली पोशाकमा ठाँटिएर त्यहाँका स्थानीयसँग जिज्ञासा राख्छन् तपाईंलाई नेपालबारे थाह छ ?
जोडीमा रहेका एक युवाले आफूलाई कुनै जानकारी नरहेको बताउँदा छेउमा रहेकी एक युवतीले भने केही सोचेर जवाफ दिइन भारतको छिमेकमा पर्ने नेपाल एसियाली देश हो ।
नेपालमा सरकारले भ्रमण वर्ष २०२० को घोषणा गरेसँग काठमाडौंमा जन्मिएका एक नेपाली ठिटोले भ्रमण वर्ष र नेपाल बारे क्यानाडेली नागरिकलाई जानकारी गराउन नयाँ अभियान चलाउनुभएको हो ।
काठमाडांैमा जन्मिएका २४ वर्षीया चन्दन उप्रेतिले सडकमा हिँड्ने बटुवालाई नेपालबारे जिज्ञासा राख्दै गरिएको अन्तर्वार्तालाई सामाजिक सञ्जालमा पनि राख्ने गर्नुहुन्छ ।
उहाँले स्थानीयसँग गरिएको कुराकानी सामाजिक सञ्जाल यू ट्युबमा पनि शृङखलावद्ध रुपमा सेयर गर्ने गर्नुभएको छ । आफ्नो अभियानबारे उहाँ भन्नुहुन्छ, “यसरी जानकारी गराउँदा पर्यटकलाई कौतुहलता बढ्नुका साथै नयाँ जानकारी पाउँदा नेपालबारे थप बुझ्ने अवसर पाउँछन् ।”
आफ्नो अभियानले नेपाल सरकारले लिएको भ्रमण वर्षको सफलतामा थोरै भए पनि टेवा पुग्ने विश्वास उहाँले इमेल मार्फत गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
“क्यानाडाको टोरन्टो शहर विविधताले भरपूर छ । त्यहाँको समुदायमा विश्वका थुप्रै देशका नागरिक बस्छन् त्यसकारण यो अभियानले केहीलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने मेरो विश्वास छ ।”
केटीएम केटा च्यानल बनाएर उहाँले हालसम्म दुईवटा अन्तवार्ताको शृङखला सेयर गर्नुभएको छ । पहिलो शृङखलामा नेपालको भौगोलिक अवस्थिति, नेपालको चिनारी लगायतबारे स्थानीयसँग प्रश्न गर्नुभएको छ । दोस्रोमा भने उहाँलाई ढाका टोपी र दौरा सुरुवालमा सजिएर आफूसँगै बटुवालाई नेपाली गीत–संगित गाउँदै रमाएको देख्न सकिन्छ ।
उप्रेतीले सडकमा हिंड्ने बटुवालाई रोकेर अन्तवार्ता गर्नु निकै चुनौतीपूर्ण भएको बताउनुहुन्छ । “५० प्रतिशतले कुरा गर्न अस्वीकार गर्छन्, यद्दपी स्वीकार गर्नेले सहजै प्रश्नको उत्तर दिने र नेपालबारे थप बुझ्न जिज्ञासा राख्छन् ।”, उहाँ बताउनुहुन्छ ।
टोरन्टो शहरमा यसरी अन्तवार्ताको क्रममा स्थानीयले सगरमाथाको देश भनेर नेपाललाई चिनेको देखिन्छ । र नेपालबारे जानकारी गराएकोमा उप्रेतीले कतिपय अवस्थामा धन्यवाद पनि पाउनुभएको छ । उप्रेती भन्नुहुन्छ, “कला, संस्कृति, रहनसहन, सामुदायिक एवम् सांस्कृतिक विविधता, भौगोलिक विविधता सहित नेपाललाई चिनाउने थुप्रै माध्यम छ, जसबारे बिस्तारै क्यानाडाका नागरिक समक्ष पस्किन्छौं ।”
बुवा दिपक उप्रेतीसँगै तीन वर्षकै उमेरमा बङ्गलादेश जानुभएका उप्रेती अफ्रिकी राष्ट्र जाम्बिया र मध्यपूर्वी एसियाको लाओस हुँदै हाल क्यानाडाको टोरन्टो पुग्नुभएको छ । सन् २००८ मा पुरा परिवार अल्वार्टामा सर्नुअघि उहाँ छ महिना नेपाल बस्दा विभिन्न स्थानको अन्वेषण गर्नुभयो । भौगोलिक–सांस्कृतिक विविधताले भरिपुर देशलाई विश्व सामु चिनाउन आवश्यक रहेको त्यत्तिबेलाको अठोटलाई पुरा गर्न आफूले उक्त अभियान सञ्चालन गरेको उहाँ दाबी गर्नुहुन्छ ।
अध्ययनसँगै हाल उहाँ टोरन्टोस्थित एक कम्पनीका लागि सुरक्षा परामर्शदाताको रुपमा कार्यरत हुनुहुन्छ । साथै उहाँ टोरन्टोमा स्नातकोत्तरमा अध्ययनरत हुनुहुन्छ ।
क्यानाडामा खाली समयमा वा विदामा विदेश यात्रा गर्नु तेस्रो÷चौथो विकल्प हो । यद्दपी पछिल्लो केही वर्षमा भने नेपाल भ्रमण गर्ने क्यानेडाली नागरिकको संख्यामा वृद्धि भएको छ । सन् २०१४ मा एघार हजार ६१० जना क्यानेडाली नागरिकले नेपाल भ्रमण गरेकोमा भूकम्प गएपछि सन् २०१५ मा उक्त संख्या घटेर छ हजार ४९५ मा सीमित भयो । तर त्यस यता भने संख्या बढ्दो छ । अध्यागमन विभागका अनुसार सन् २०१६ मा १२ हजार ४९१ र सन् २०१७ मा १५ हजार १२५ जनाले नेपाल भ्रमण गरेका छन् । सन् २०१८ मा नेपाल भ्रमण गर्ने क्यानेडालीको संख्या १७ हजारभन्दा बढी भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?