logo
२०८० चैत्र १६ शुक्रवार



श्रीलङ्काको प्रधानमन्त्रीमा महिन्दा राजापाक्षे नियुक्त

अन्तर्राष्ट्रिय |


श्रीलङ्काको प्रधानमन्त्रीमा महिन्दा राजापाक्षे नियुक्त


कोलम्बो, मङ्सिर ५ गते ।
श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित गोटाबाया राजापक्षेले आफ्नै दाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति गोटाबायाले प्रधानमन्त्रीका रुपमा महिन्दालाई बिहीबार नै सपथग्रहण गराउने अधिकारीहरुले जनाएका छन् ।
प्रधानमन्त्रीमा नियुक्त हुनुभएका राजापक्षे यसअघि झण्डै दश बर्ष राष्ट्रपति हुनुभएको थियो । सन् २००५ देखि २०१५ सम्म उहाँले राष्ट्रपतिको रुपमा श्रीलङ्कामा शासन गर्नु भएको थियो । यसअघि बुधबार निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजिनामाको घोषणा गर्नुभएको थियो । नयाँ राष्ट्रपतिलाई आफ्नो अनुकुलको सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन उहाँले राजिनामा दिनु भएको हो ।
राजिनामा दिने बारेमा विक्रमासिंघेले मङ्गलबार नै नवनिर्वाचित राष्ट्रपति राजापाक्षेसँग छलफल गर्नुभएको थियो । भेटवार्ताका क्रममा प्रधानमन्त्री विक्रमासिंघेले राष्ट्रपति राजापाक्षेलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिनु भएको समाचारमा जनाइएको छ । विक्रमासिंघेले राजिनामा घोषणा गरेपछि राष्ट्रपति राजापाक्षेले आफ्नै दाई महिन्दालाई प्रधानमन्त्री बनाउनु भएको हो । महिन्दा नेतृत्वको नयाँ सरकारको मन्त्रीमण्डल सानो आकारको हुने जनाइएको छ ।
सन् २०२० को मार्च १ पछि नयाँ संसद बन्ने भएकाले त्यतिबेलासम्म नै सानो मन्त्रीपरिषद् मात्रै रहने अनुमान गरिएको छ । श्रोतका अनुसार नयाँ मन्त्रीपरिषद् १५ सदस्यीय हुनेछ । नयाँ मन्त्रीहरु सवै राजापाक्षेत्रको पार्टीबाट हुने भएका छन् । तत्कालिन सत्तारुढ दल युनाइडेट नेसनल पार्टी ९युडीपी०का तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बन्नु भएका सजिथ प्रेमादासलाई झण्डै १३ लाख मत अन्तरले पराजित गर्दै ७० वर्षीय राजापाक्षे राष्ट्रपति बन्नु भएको हो । पराजित हुनुभएका प्रेमादास भने ५३ बर्षको हुनुहन्छ ।

निर्वाचनका बेला उम्मेदवारहरुले राष्ट्रिय सुरक्षा, आर्थिक सुधार, भ्रष्टाचार न्युनिकरण, सार्वजनिक सेवाको सुधार लगायतका विषयलाई मुख्य एजेण्डा बनाएका थिए । अन्तर्राष्ट्रिय विषयमा भने राजापाक्षले श्रीलङ्कालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नु पर्नेमा जोड दिने गर्नुभएको थियो । झण्डै दश बर्ष अगाडी रक्षा सचिव रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्नु भएका राजापाक्षे राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
श्रीलङ्काली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहनु भएका राजापाक्षे दाई महिन्दा राष्ट्रपति भएका बेला रक्षा सचिव बन्नु भएको थियो ।
नयाँ राष्ट्रपति चयनका लागि श्रीलङ्कामा गत शनिबार मतदान भएको थियो भने मत परिणाम आइतबार घोषणा गरिएको थियो ।
निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशाप्रियाले शनिबार भएको मतदानका क्रममा कुल मतदाता मध्ये झण्डै ८० प्रतिशत मतदाता सहभागी भएको बताउनु भयो ।
मतदानका लागि देशभरी १२ हजारभन्दा बढी मतदान केन्द्र राखिएको थियो भने ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
राष्ट्रपति चयनका लागि एक करोड ६० लाख मतदाता रहेका थिए भने ३५ जना उम्मेदवार चुनावी प्रतिश्पर्धामा थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?