logo
२०८० चैत्र १६ शुक्रवार



अमेरिकामा कार दुर्घटनामा तीन नेपालीको मृत्यु

विदेश |


अमेरिकामा कार दुर्घटनामा तीन नेपालीको मृत्यु
सांकेतिक तस्विर


कृष्णराज खनाल,

वोस्टन, भदौ २० गते । अमेरिकामा भएको एक कार दुर्घटनामा परि तीनजना नेपालीको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

अमेरिकाको टेक्ससबाट तीज मानेर मिजोरीको कन्सास आउने क्रममा बाटोमा सो दुर्घटना भएको हो । दुर्घटनामा परि एकै घरका श्रीमान् श्रीमती र एक छोरीको मृत्यु भएको छ ।

पारिवारिक स्रोतका अनुसार, गत मंगलवार टेक्ससबाट आफ्नो बासस्थान भएको नगर कन्सास आउने क्रममा पाँचजना सवार टोयोटा र्याफ फोर गाडीलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएपछि सो घटना भएको हो ।

घटनामा परि मृत्यु हुनेहरुमा विराटनगरको शंकरपुर स्थायी घर भइ गत जूनमा अमेरिका आउनुभएका ६६ वर्षीय पण्डित गोविन्द खनाल, उहाँकी धर्मपत्नी ५२ वर्षीया शान्ता खनाल र उहाँहरुकी छोरी श्रद्दा खनाल रहेका छन् । गोविन्दको घटनास्थलमा, उहाँकी पत्नी शान्ताको उपचारका लागि अस्पताल ल्याउने क्रममा र २५ वर्षीया छोरी श्रद्दा खनाल ओझाको अस्पतालमा दुखद निधन भएको हो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका श्रद्दाका श्रीमान् प्रभास ओझा र चार वर्षीय छोराको भने अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबैजना प्रभासको भाइको घरबाट तीज मनाएर घर फर्कने क्रममा हुनुहुन्थ्यो ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका प्रभासकी श्रीमती श्रद्दा भने छ वर्ष अघि मात्र अमेरिका आउनुभएको हो । ओझा विराटनगरका स्थायी वासिन्दा हुनुहुन्छ ।
अहिले तीनै जनाको शव अस्पतालमा राखिएको छ । सम्भवत आइतबार उहाँहरु तीनैजनाको अन्तिम संस्कार हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?