logo
२०८० चैत्र १६ शुक्रवार



कर्णाली प्रदेशमा २३ जना कोरोना सङ्क्रमित थपिए, पाँच जना ट्राभल हिस्टी नभएका

फिचर |
पढ्नै पर्ने |


कर्णाली प्रदेशमा २३ जना कोरोना सङ्क्रमित थपिए, पाँच जना ट्राभल हिस्टी नभएका


मुना हमाल

सु्र्खेत, साउन २८ गते । कर्णाली प्रदेशमा थप २३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । बुधबार मात्रै दैलेख र सुर्खेतमा गरेर २३ जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३४ पुगेको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १९ र दैलेख अस्पलतामा गरिएको परीक्षणमा दैलेखका चार जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

यस्तै बुधबार तीन जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । एक हजार ८९४ जना निको भएर घर फर्किसकेका छन् । अब प्रदेशका सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १३४ रहेको छ । अहिलेसम्म प्रदेशमा छ जना कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

वीरेन्द्रनगरमा जोखिम बढ्यो

वीरेन्द्रनगरमा पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिम बढेको छ । समुदाय स्तरमा कोरोना सङ्क्रमण देखिन थालेपछि वीरेन्द्रनगर नगरपालिका कोरोना सङ्क्रमणको उच्च जोखिमा रहेको छ । बुधबार सुर्खेतमा देखिएको १९ जनामा कोराना सङ्क्रमित सबै वीरेन्द्रनगरमा भेटिएका हुन् । त्यसमध्ये पनि कुनै पनि ट्राभल हिस्टी नभएका समुदाय स्तरमा पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ । क्वारेन्टिनमा रहेका आठ जना र कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा छ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय सुु्र्खेतले समुदाय स्तरमा भेटिका पाँच जनाको कुनै पनि ट्राभल हिस्टी नभएको जनाएको छ । कार्यालयका प्रमुुख चेतननिधि वाग्लेले पछिल्लो समय स्थिति हेर्दा वीरेन्द्रनगरमा कोरोनाको जोखिम बढेको र यसले समुदायमा कोरोनाको जोखिम बढी छ भन्ने सङ्केत दिएको बताउनुभयो । सुर्खेतका अन्य पालिकाभन्दा कोरोनाको उच्च जोखिममा वीरेन्द्रनगर नगरपालिका रहेको उहाँले बताउनुभयो । । चाडपर्व नजिकिँदै गएसँगै मानिसहरूको बढी भिड हुने गरेकोले पनि जोखिम बढी भएको उहाँको भनाइ छ ।

उहाँले वीरेन्द्रनगरमा पछिल्लो समय सरकारी कार्यालयका सवारी चालक, सैलुन व्यवसायी र पर्साबाट आएका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको जानकारी दिनुभयो । प्रमुुख वाग्लेले समुदायमा कोरोना जोखिम बढेपछि यहाँ कोरोना परीक्षण समुदाय स्तरमा गरिएको बताउनुभयो । स्थानीय व्यवसायी, मजदुर, बढी भिडभाड हुुने कार्यालयहरूमा कोरोना परीक्षण गर्ने गरीएको उहाँले उल्लेख गर्नुभयो । अब समुुदायमा कोरोना जोखिम बढी भएकाले आफुहरूले स्थानीय प्रशासनलाई भिड कम गर्नका लागि बजार व्यवस्थापनलगायत विषयमा सुझाव दिएको बताउनुभयो । सुर्खेतमा अहिलेसम्म ६६६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यसमध्ये ६१८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । ४८ जना सक्रिय कोरोना सक्रमित छन् । अहिलेसम्म सुर्खेतमा दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?