logo
२०८१ बैशाख ८ शनिवार



सिञ्जा सभ्यताको पहिचान गर्न महोत्सव हुने

प्रदेश |


सिञ्जा सभ्यताको पहिचान गर्न महोत्सव हुने


नेत्र शाही
सिञ्जा, कात्तिक ५ गते । सिञ्जा सभ्यताको पहिचान गर्ने उद्देश्यका साथ सिञ्जा महोत्सव हुने भएको छ । यहाँको कनकासुन्दरी गाउँपालिकाको आयोजना तथा कर्णाली कला समाजको सहआयोजनामा वैशाख ८ गते देखि १० गतेसम्म तत्कालिन विशाल सिञ्जा साम्राज्यको राजधानी सिञ्जाको कनकासुन्दरीमा वृहत सिञ्जा साँस्कृतिक तथा पर्यटन महोत्सव हुने भएको छ ।

गाउँपालिकाले पत्रकार भेटघाट गरी पर्यटन महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने जानकारी दिइएको छ । गाउँपालिका अध्यक्ष नरवीर रावतले यहाँका ऐतिहासिक, प्राकृतिक, साँस्कृतिक तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको सम्पदाहरुको प्रचार प्रसार, सिञ्जा सभ्यतालाई एकपटक फेरि झल्काउने उद्देश्यका साथ सिञ्जा सभ्यता सांस्कृतिक तथा पर्यटन महोत्सव गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले कार्यक्रममा स्थानीय सम्पदा झल्काउनका साथै खस भाषाका नृत्य, सिंगारा नाच, देउडा, धाउसिला, वालो नाच, चम्फा नाच लगायतका विभिन्न नाचहरु समेत देखाइने बताउनुभयो । साथै खस सभ्यताको बहस छलफल तथा प्रदर्शनसमेत गरिनेछ ।

गाउँपालिकाका अनुसार महोत्सव स्थलमा प्रख्यात कनकासुन्दरी, तत्कालिन राजाको दरवार क्षेत्र, विराट दरवार, पाण्डव गुफा, लामाथाडा, लासिपाटन, धोविघाट, स्यूबाघ, गौरी नौधारा, घास ओडार, फुटाशिली तथा कालिका मन्दिर, शिव मन्दिरलगायत दुई दर्जन बढी सिञ्जा सभ्यताको पर्यटकीय सम्पदाहरुको फोटो प्रदर्शनी समेत गरिनेछ ।

महोत्सवमा अर्गानिक खाना तथा नेपाली पोसाक तथा खस सभ्यता झल्काउने पोशाकलाई प्रथामिकता दिइने कनकासुन्दरी गाउँपालिका उपाध्यक्ष उर्मिला खत्री भण्डारीले जानकारी दिनुभयो । निमित्त प्रशासकीय अधिकृत दामोदर आचार्यका अनुसार महोत्सवमा स्थानीय खानालाई प्रथामिकता दिइनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?