logo
२०८० चैत्र १६ शुक्रवार



डोल्पासम्म आवतजावतकाे लागि भेरी करिडोरको स्तरोन्नति गरिने

प्रदेश |


डोल्पासम्म आवतजावतकाे लागि भेरी करिडोरको स्तरोन्नति गरिने
 जाजरकोट डोल्पा सडक खण्ड अन्तर्गत रुकुम पश्चिम र जाजरकोटको सीमाना रिम्नामा रहेको ठूलीभेरी नदीको पुल । तस्बिर – सुरेन्द्र खत्री 



सुरेन्द्र खत्री
रुकुम (पश्चिम), कात्तिक ४ गते । भेरी करिडोर अन्तर्गत पर्ने जाजरकोट–डोल्पा सडक खण्डको स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा कालोपत्रेको प्रक्रिया सुरु गरिएको छ । पहिलो चरणमा यस सडकको जाजरकोट पाछागाडदेखि र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको चिसापानी सम्मको २८ किलोमिटर सडक कालोपत्रे हुने भएको हो  ।

यस खण्डको सडक कालोपत्रे स्तरमा स्तरोन्नति गर्न बहुवर्षीय स्वीकृति लिने प्रक्रियामा रहेको चौरजहारी सडक डिभिजन कार्यालयका प्रमुख इन्जिनियर नरेन्द्र भट्टले जानकारी दिनुभयो । ‘अहिले हामी ठेक्का व्यवस्थापनको चरणमा छौँ ।’ उहाँले भन्नुभयो,‘जग्गा प्राप्ति र वातावरणीय प्रभाव मूल्यांकन लगायतका प्रक्रिया अन्तिम चरणमा रहेको छ ।’ बहुवर्षीय स्वीकृति पाउनेवित्तिकै लागत अनुमान तयार गरेर यसै वर्ष टेण्डर आह्वान गर्ने योजना रहेको उहाँको भनाइ छ ।

साथै, पाछागाडदेखि तल्लुबगरसम्म रहेका आठवटा खोलाहरुमा पुल निर्माणको लागि समेत ठेक्का व्यवस्थापन गरिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । यी खोलाहरुमा समेत यसै वर्ष पुल निर्माणको काम सुरु हुने डिभिजन प्रमुख भट्टले बताउनुभयो । तल्लुबगरदेखि डोल्पासम्मका ११ वटा खोलाहरुमा बेलिब्रिज निर्माण गर्ने योजना रहेको उहाँको भनाइ छ । स्तरोन्नति सम्पन्न भएपछि जाजरकोटदेखि डोल्पासम्मको एकसय १८ किलोमिटर सडकमा बाह्रै महिना सवारी आवतजावत हुनेछ ।

चिसापानीबाट मोटरेबल पुल पार गरी सडक जाजरकोट हुँदै डोल्पातिर लाग्ने भए पनि यहाँदेखि रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको केन्द्र राडीबजारसम्मको थप सातकिलोमिटर सडक समेत कालोपत्रेको तयारीमा रहेको छ । पाछागाडदेखि चिसापानीसम्मको सडक भेरी करिडोरमा पर्ने भएकोले संघीय सरकारको लगानीमा कालोपत्रे हुने र चिसापानीदेखि राडी सम्मको खण्डको सडक कालोपत्रेको काम कर्णाली प्रदेश सरकारले गर्ने भएको छ ।

चिसापानी–राडी सडकका लागि प्रदेश सरकारले २१ करोड रुपैयाँको लागत अनुमान तयार गरिएको छ । जसका लागि चालु आर्थिक वर्षमा कर्णाली प्रदेशले ८ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । बहुवर्षीय ठेक्का अन्तर्गत उक्त सडकको काम हुन थालेकोले आगामी वर्षमा थप बजेटको व्यवस्था हुने बताइएको छ । उक्त सडक कालोपत्रेका लागि पनि ठेक्का आह्वानको तयारी भइरहेको छ ।

चिसापानीसम्मको सडक संघीय सरकारमार्फत कालोपत्रे हुने भएपछि आठबीसकोटको केन्द्रसम्मको ७ किमि सडक कालोपत्रे गर्न गराउन कर्णाली प्रदेश सरकारसमक्ष नगरपालिकाले अनुरोध गरेको थियो । आफूहरुको धेरै लामो प्रयास र पहलपछि रिम्ना–राडी सडक कालोपत्रे हुन थालेको आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले बताउनुभयो । सडक कालोपत्रे भएपछि रुकुम र जाजरकोट हुँदै डोल्पासम्म आवतजावत गर्ने यात्रुलाई सुविधा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?