logo
२०८१ बैशाख ७ शुक्रवार



शहीद : जीवन्त योद्धा (कविता)

शनिवार |


शहीद : जीवन्त योद्धा (कविता)


प्रह्लाद पोख्रेल


तोडी सारा समस्या अघिअघि जसरी लम्कियो वीर जाति
गोर्खाली नाम राखी अभयसित बढ्यो वीरता नै समाती
कैल्यै तोडेन जल्ले असल मनुजको बज्रजस्तो इमान
छोड्दै छोडेन जल्ले हृदयगत गरी प्राणझैँ स्वाभिमान !

अग्लो आदर्श पक्री सफलतम भए जोसिला ‘शुक्रराज’
सोही उत्कृष्ट बाटो अनुगमन गरी हिँड्नुपर्नेछ आज
बन्दा कर्मिष्ठ योद्धा जटिल समयमा तेजिला ‘धर्मभक्त’
सच्चा सिद्धान्तलाई कठिन कहरमै पार्न सक्थे सशक्त !

श्री ‘गङ्गालाल’ आई डर–भर नलिई देशलाई उठाए
आओस् सङ्कष्ट जस्तो तर पनि नडरी ज्यान आफ्नो चढाए
त्यस्तै उल्लेख्य योद्धा ‘दशरथ’ दरिए ज्यान अर्पेर लड्ने
खन्दै स्वाधीनताको नव–पथ गतिलो लम्किई नित्य बढ्ने ।

मान्दैनन् भोकतिर्खा तपन–जलनको दुक्ख चाहिन्न नीँद
सच्चा आदर्श बाटो अनुसरण गरी ज्यान दिन्छन् शहीद
त्यस्ता जीवन्त योद्धा–स्मृति मनन गरूँ देशका निम्ति मर्ने
खोजी भित्री उज्यालो हरतरह सधैँ जागृति–ज्योति छर्ने । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?