logo
२०८१ बैशाख ५ बुधवार



मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि फार्मको निरीक्षण   

प्रदेश |




पोखरा, असोज २७ गते । गण्डकी प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि फार्मको निरीक्षण गर्नुभएको छ ।    
    
 कोइरालाले आफ्नो प्रदेश निर्वाचन क्षेत्रअन्तर्गत कास्कीको रूपा गाउँपालिका–३ पोल्याङमा सञ्चालित नमूना कृषि गाउँको अवलोकन गर्दै त्यहाँका गतिविधिबारे जानकारी लिनुभयो । निरीक्षणका क्रममा सभापति कोइरालाले स्थानीयवासीलाई फार्ममा पूर्वाधार निर्माण भएकाले अब व्यावसायिक उत्पादनमा लाग्न आग्रह गर्नुभयो ।    
    
 उक्त क्रममा कृषकहरूले आफूहरूलाई प्राविधिकको समस्या भएको बताउँदै पूर्वाधारको काम पनि केही पूरा हुन बाँकी रहेको जानकारी दिए । सभापति कोइरालाले मन्त्रालयसँग समन्वय गरी केही दिनमा प्राविधिक पठाउने विश्वास व्यक्त गर्नुभयो ।    
    
 गण्डकी प्रदेशका ३६ वटा गाउँलाई नमूना कृषि गाउँको रूपमा विकास गर्ने गरी २०७५ चैत १० गते गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको औपचारिक शुरुआत गरेको थियो ।    
    
 प्रदेशसभा सदस्यको सिफारिसमा ‘एक निर्वाचन क्षेत्र एक नमूना कृषि गाउँ’का रूपमा विकास गर्ने गरी गण्डकी प्रदेशमा अहिले ३६ निर्वाचन क्षेत्रमा ३६ वटा वातावरणमैत्री कृषि फार्म सञ्चालन भएका छन् ।    
    
निरीक्षण कार्यक्रममा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले फार्म व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्ने बताउँदै अन्य ठाउँको भन्दा राम्रो गरी सञ्चालन गर्न आग्रह गर्नुभयो ।    
    
 उक्त स्थानमा दुई समूहले बङ्गुरपालनसँगै प्लास्टिक घरभित्र गोलभेँडा खेती गर्दै आएको छ । मन्त्रालयले सञ्चालित कार्यक्रमका साथै चालू आर्थिक वर्षमा प्रदेशसभाका थप ३६ निर्वाचन क्षेत्रमा सो कार्यक्रम सञ्चालन गर्ने गरी ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।    
    
 कार्यक्रम सञ्चालनले पछिल्लो समयमा व्यँवसायिक कृषितर्फ सर्वसाधारणको आकर्षण बढेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?