logo
२०८० चैत्र १५ बिहीवार



तनहुँमा मानव र वन्यजन्तुको द्वन्द्व बढ्यो

वन्यजन्तुको आक्रमणबाट चार बालबालिकाको मृत्यु, सातजना घाईते

प्रदेश |


तनहुँमा मानव र वन्यजन्तुको द्वन्द्व बढ्यो
सांकेतिक तस्बिर


अमरराज नहर्की
तनहुँ, भदौ १९ गते । तनहुँमा वन्यजन्तु आहारा खोज्न मानव बस्तीमै पुग्न थालेका छन् । वनजङ्गलमा आहारको अभाव हुन थालेपछि चितुवा, भालु मानव बस्तीमा पसेर मान्छेमाथि आक्रमण गर्न थालेको पाइएको छ । वन्यजन्तुको आक्रमणबाट एक वर्षको अवधिमा चार जना बालबालिकाको मृत्यु भइसकेको छ ।

दुईवर्ष अघि एकजना र आर्थिक वर्ष २०७५/०७६ मा तीनजना गरि चारजनाको चितुवाको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार वन्यजन्तुले आक्रमण गरी गत वर्ष ६ र यो वर्ष एक गरी सातजना घाईते बनाएको छ । कार्यालयका प्रमुख केदार बरालले मानव बस्तीमा बाख्रा तथा कुकुरको खोजीमा चितुवा आउने तर त्यतिबेला बालबालिका भेटेमा भोक मेट्ने उपाएको लागि आक्रमण गरेको बताउनुहुन्छ ।

चितुवाको आहारा मानिसले मारेर खाईदिने गरेकोले आहारा अभावका कारण मानव बस्तीमा आउन थालेको हो । ‘मुहानको पुरै पानी बस्तीमा लगियो भने पानीको खोजीमा पनि बस्तीतिर जङ्गली जनावर आउँछन् ।’ बरालले भन्नुभयो ।

ठुलो मान्छेलाई चितुवाले आक्रमण गर्न डराउने बताउँदै डिभिजन प्रमुख बराले भन्नुभयो, भोकले आत्तिएको चितुवाले आफ्नो उचाई भन्दा स्यानो मान्छे, बसेर भाँडाकुँडा माझेको र घाँस काँटेको समयमा महिलामाथि पनि चितुवाले आक्रमण गर्ने गर्छ ।’

चितुवाको आक्रमणले मृत्यु हुनेमा चारजना भानु नगरपालिकाका रहेका छन् । भानु नगरपालिका वडा नम्बर २ को भकुन्थोकमा जेठ २४ गते इश्वर भन्ने तुलबहादुर अधिकारी र दुर्गा अधिकारीको नौ वर्षकी छोरी पुष्पा अधिकारीको चितुवाको आक्रमणले मृत्यु भएको थियो ।

२०७३ साल कात्तिक २९ गते चितुवाको आक्रमणबाट भानु नगरपालिका–४ जोखाने निवासी चार वर्षीया बालिका रञ्जिता लम्सालको मृत्यु भएको थियो । रञ्जिताको मृत्यु भएको १७ औँ दिनपछि २०७३ साल फागुन १ गते राति सोही ठाउँका १० वर्षीय अमृत गुरुङ समेत चितुवाको आक्रमणबाट मृत्यु थियो । त्यस्तै मंसिर १ गते नै भानु नगरपालिका –२ मा सात वर्षीय सञ्जन नेपालीलाई समेत चितुवाले आक्रमण गरी घाईते बनाएको थियो । दुई वर्ष अघि पनि नरभक्षी चितुवाको आक्रमणबाट भानु नगरपालिका–३ का एक बालकको मृत्यु भएको थियो । जङ्गली पंक्षी समेत मार्न नहुने तनहुँ स्थित भानुभक्त प्राणी उद्यानका प्रमुख वीरेन्द्रप्रसाद कँडेल बताउनुहुन्छ । ‘ठुलो आहारा नपाएको बेला पंक्षी पनि मारेर चितुवाले आहारा बनाउँछ त्यो उसलाई खाजाको काम हुन्छ । कँडेले भन्नुभयो ।

चितुवाको विगबिगी बढेपछि भानु नगरवासी घर बाहिर निस्कन डराई रहेको भानु नगरपालिकाका मेयर उदयराज गौली बताउनुहुन्छ । तत्काल समस्या समाधानको लागि बन्यजन्तुको आहाराको लागि खरायो लगायतका घरेलु जनावरहरु किनेर जङ्गलमा छाड्ने सोच बनाईएको मेयर गौली बताउनुहुन्छ । नरभक्षी चितुवाको नियन्त्रण हुन सकेन भने फेरि मान्छेलाई आक्रमण गर्ने भय भएको छ, आहाराको व्यवस्था गर्न सकियो भने वच्न सकिन्छ कि भन्ने लागेर खरायो छोड्न उपयुक्त हुने हामीलाई लागेको छ ।’ मेयर गौली भन्नुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?