logo
२०८१ बैशाख ६ बिहीवार



महोत्तरीका १४ स्थानीय तह खुला दिसामुक्त घोषित

प्रदेश |


महोत्तरीका १४ स्थानीय तह खुला दिसामुक्त घोषित


महोत्तरी, भदौ २३ गते ।  महोत्तरी जिल्लाका १४ स्थानीयतह खुला दिसामुक्त तथा पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएका छन् । पछिल्लोपटक जिल्लाको लोहारपट्टी नगरपालिका आइतबार खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएपछि यो सङ्ख्या १४ पुगेको हो । अब जिल्लामा जिल्ला सदरमुकाम रहेको जलेश्वर नगरपालिका मात्र खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा हुन् बाँकी छ ।

जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति र पूर्ण खोप जिल्ला समन्वय समितिले भदौ महीनाभित्रै जिल्ला नै खुला दिसामुक्त र पूर्ण खोपयुक्त घोषणा गरिसकिने जनाउँदै आएका छन् ।
भदौ महीनाभित्रमा नै औरही र मटिहानी नगरपालिका एवं महोत्तरी र एकडारा गाउँपालिका यसअघि खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएका हुन् । त्यसअघि साउन मसान्तका दिन भङ्गाहा नगरपालिका खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएको थियो ।
जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहले आइतबार जिल्लाकै पवित्र धार्मिकस्थल गेरुकाधाममा लोहारपट्टी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा अब असोज सङ्क्रान्तिका दिन जिल्लाका कुनै स्थानीयतह खुला दिसा गर्ने र खोप छुटेका हुने छैनन् भन्नुभयो ।
जिल्लाका एकलाख ११ हजार ३४ परिवारमध्ये अब जलेश्वर नगरपालिका भित्रका करीब ४०० घरमा शौचालय बन्न बाँकी रहेको समितिले जनाएको छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहमध्ये सदरमुकाम रहेको नगर नै खुला दिसामुक्त र पूर्ण खोपयुक्त बन्न नसक्नु जिल्लाको लागि गौरवको विषय नभएको यहाँका वुद्धिजीवीले टिप्पणी गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?