logo
२०८१ बैशाख ५ बुधवार



पारिश्रमिकको रकम सामाजिक संस्थालाई

प्रदेश |


पारिश्रमिकको रकम सामाजिक संस्थालाई


खोटाङ, भदौ १० गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लीलाकुमार चौहानले राज्यबाट आफूले पाएको तलबभत्तावापतको रकम सामाजिक सङ्घसंस्थालाई प्रदान गर्नुभएको छ । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष चौहानले आफूले पाएको रु एक लाख २० हजारमा रु एक लाख १० हजार थपेर सामाजिक सङ्घसंस्थालाई प्रदान गर्नुभएको हो ।

वडामा गठन भएका १३ आमा समूहलाई रु १०/१० हजारका दरले रु एक लाख ३० हजार, उत्कृष्ट टोल विकास समितिलाई रु १० हजार, नेवाः पुँच खललाई रु ५० हजार, आफुले अभिभावकत्व ग्रहण गरेका छात्र नीरकुमार खत्रीलाई रु १० हजार र धामीलाई रु तीन हजार प्रदान गर्नुभएको वडासदस्य हरि चाम्लिङले बताउनुभयो । आमा समूहलाई प्रदान गरिएको रकम घुम्तीकोषमा जम्मा गरेर अप्ठ्यारामा परेका व्यक्ति तथा परिवारलाई बिनाब्याज चलाउन दिने गरी प्रदान गरिएको हो ।

बाँकी रहेको रु १७ हजार रकम लोपोन्मुख अवस्थामा पुगेको सङ्गिनी नृत्य टोलीका लागि साडी खरीद गर्न सहयोग गर्नुभएको जनाइएको छ । उमेरले भर्खर ३३ वर्षका हुनुभएका वडाध्यक्ष चौहानले आगामी दिनमा राज्यबाट पाउने रकमसमेत सामाजिक काममै खर्च गर्ने बताउनुभयो ।

उहाँले गत वर्ष पनि प्राप्त रु एक लाख ६८ हजार र व्यक्तिगत रु ८३ हजार १११ थपेर रु दुई लाख ५१ हजार १११ नगद सामाजिक सङ्घसंस्थालाई प्रदान गर्नुभएको थियो । उहाँले आफ्ना स्व बुबा नैनसिं चौहानको स्मृतिमा आफूले अध्ययन गरेको अन्नपूर्ण माविमा रु एक लाख ११ हजार १११ को अक्षयकोष स्थापना गर्नुभएको छ ।

गत वर्ष नै स्थापना गरिएको अक्षयकोषबाट आएको ब्याजले प्रत्येक वर्ष दुई गरीब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले अध्यक्षकोष स्थापना गरिएको वडाध्यक्ष चौहानले बताउनुभयो । भारतीय सेनाका पेन्सनरसमेत रहनुभएका वडाध्यक्ष चौहान २१ वर्षको उमेरमा दुर्घटनामा परेपछि पेन्सनमा घर आउनुभएको बताइएको छ । (रासस) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?