logo
२०८० चैत्र १६ शुक्रवार



बन्दाबन्दीले अठार हजार मजदुर समस्यामा

पर्यटन |


बन्दाबन्दीले अठार हजार मजदुर समस्यामा


तारा चापागाईं दुवे

पोखरा, जेठ ६ गते । नेपालकै प्रमुख पर्यटकीय नगरी पोखरामा बन्दाबन्दीले गर्दा होटलमा १८ हजारभन्दा बढी कामदारले रोजगारी गुमाएका छन् । बन्दाबन्दीसँगै पोखराका सबै होटल बन्द भएपछि यति ठूलो सङ्ख्यामा होटलमा काम गर्ने कामदारले जागिर गुमाउनुपरेको हो ।
पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले पोखरामा पाँचवटा स्टार होटल रहेका छन् भने साना ठूला गरी ७०० होटल रहेका बताउनुभयो । ती होटल व्यवसायमा काम गर्ने १५ हजारभन्दा बढी प्रत्यक्ष र तीन हजारभन्दा बढी व्यक्तिले अप्रत्यक्ष गरी १८ हजारले रोजगारी गुमाउनुपरेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार भ्रमण वर्ष २०२० लाई लक्षित गरी होटल क्षेत्रमा थप लगानी बढाएको बताउँदै एक खर्ब २५ अर्ब रुपियाँ लगानी रहेकाले बन्दाबन्दीले होटल व्यवसाय धरापमा परेको उहाँले जानकारी दिनुभयो ।
पोखराका होटल आगामी असोज महिनासम्म बन्द गरिएका छन् । यहाँ होटल भाडामा लिएर होटल सञ्चालन भएका होटलको सङ्ख्या २०० भन्दा बढी रहेको छ । ती होटलहरूलाई भाडा कसरी तिर्ने भन्ने समस्याले पिरोलिरहेको उहाँले बताउनुभयो ।
अध्यक्ष तुलाचनले होटल सञ्चालक र घरधनीबीच आपसी समझदारीमा घरभाडा छुटसम्बन्धी विषय टुङ्गोमा पु¥याउन आग्रह गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विषम परिस्थितिलाई दृष्टिगत गर्दै सम्पूर्ण होटलधनी तथा सञ्चालकबीच मानवीय तथा आपसी भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउँदै सौहार्दपूर्ण तवरले दुवै पक्षको सहमतिमा छुट तथा सहुलियत प्रदान गरिदिन आग्रह गरेका छौँ । ”
होटल रानीवन अर्किटका सञ्चालक हरि भुजेलले भन्नुभयो, “देशको स्थिति र अवस्थाले लकडाउन खुलेपछि पनि केही वर्षसम्म बाह्य पर्यटकको आगमन हुने स्थिति नभएकाले यहाँको पर्यटन व्यवसाय निकै धराशयी हुने देखिन्छ । ”
उहाँका अनुसार पोखराका होटलमा काम गर्ने अधिकांश कामदार, कर्मचारी पोखराबाहिर रहेका छन् । ती सबै कामदार, कर्मचारीले पोखरा छोडिसकेका छन् ।
पोखराको एक मात्र पाँचतारे होटल पोखरा ग्रान्डमा कार्यरत १५० जना कर्मचारीले होटल छाडिसकेका छन् । होटल म्यानेजर रोशन खवासका अनुसार होटल बन्द भए पनि कर्मचारीको तलब, बत्ती, मर्मतसम्भार, सरकारलाई तिर्नुपर्ने करलगायत गरेर महिनामा एक करोडजति खर्च लाग्ने गरेको छ ।
पर्यटन व्यवसाय धराशयी हुन थालेका बेला आगामी वर्षको बजेटमा यस व्यवसायलाई उभो लगाउने खालको ठोस योजना सरकारले ल्याउनुपर्ने वरिष्ठ पर्यटन व्यवसायी तथा होटल बुम्राङका सञ्चालक गणेश भट्टराईको धारणा छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?