logo
२०८१ बैशाख १२ बुधवार



एकैदिन ६६२ पर्यटकको उद्धार

पर्यटन |


एकैदिन ६६२ पर्यटकको उद्धार


विश्वास रेग्मी

काठमाडौँ, चैत १६ गते । नेपाल पर्यटन बोर्डले एकैदिन ६ सय ६२ पर्यटक उद्धार गरेर काठमाडौँ ल्याएको छ । शनिबार मात्रै बोर्डले स्थानीय निकाय सँगको सहकार्यमा लुक्लाबाट एक सय ७७ र पोखराबाट ४ सय २७ पर्यटक उद्धार गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले जानकारी दिनुभयो । त्यस्तै शनिबार नै ५८ पर्यटकलाई जोमसोमबाट उद्धार गरी काठमाडौँ ल्याइएको पनि उहाँले बताउनुभयो ।
शनिबार मात्रै लुक्ला र पोखराबाट डेढ दर्जन उडानबाट पर्यटकलाई उद्धार गरी काठमाडौँ ल्याइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले जानकारी दिनुभयो । लुक्लाबाट शनिबार मात्रै १७३ पर्यटकलाई उद्धार गरी काठमाडौँ ल्याइएको छ ।
शनिबार नेपाल वायुसेवा निगमका पाँच, सीता र तारा एयरका दुई र समिट एयरको एउटा उडानबाट पर्यटकको उद्धार गरिएको थियो । लुक्ला क्षेत्रमा अझै पनि ९५ जना पर्यटक रहेकाले आइतबार नै ती पर्यटकलाई पनि काठमाडौँ पठाउने तयारी रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिका—२ का अध्यक्ष आङफुर्बा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार ६२ जना नेपाली पर्यटक पनि सो क्षेत्रमा छन् ।
यसअघि बिहीबार सगरमाथा क्षेत्रमा पदयात्रामा निस्केका १५ जना पर्यटकलाई तारा एयरको चार्टर्ड विमानमार्फत नेपालस्थित फ्रान्सेली राजदूतावासले काठमाडौँ ल्याएको थियो । त्यस्तै जोमसोममा अलपत्र परेका ४० पर्यटक र २० गाइडलाई पनि काठमाडौँ ल्याइएको छ । टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अनुसार बिहीबार नै स्याफ्रुबँेसीमा रहेका तीन जना फिनल्यान्डका पर्यटक र चितवनबाट दुई जना पर्यटकलाई समन्वयमा काठमाडौँ ल्याइएको थियो । त्यस्तै मनास्लु क्षेत्रबाट त्यहाँको धार्चे मनास्लु गाउँपालिकासँगको सहकार्यमा १० जना पर्यटकको उद्धार गरिएको थियो ।
शुक्रबार मात्रै पोखराबाट ५६ जना र लुक्लाबाट २८ जनाको बोर्डले उद्दार गरेको थियो । प्रमुख कार्यकारी रेग्मीका अनुसार अहिलेसम्म विभिन्न ठाउबाट गरेर ९ सय ६४ पर्यकको उद्दार गरिएको छ । आइतबार घुमघाममा निस्किएर अलपत्र परेका नेपालका आन्तरिक पर्यटकलाई पनि उद्दार गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।
उद्धार गरी काठमाडौँसम्म ल्याइएका पर्यटकलाई सम्बन्धित देशका राजदूतावासले आफ्नो देश फर्काउने क्रम पनि जारी छ । शनिबार मात्रै कतार एयरवेजका दुईवटा जहाजमार्फत ६०८ जना युरोपेली यात्रु फर्काइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सबै यात्रुमध्ये दुवै जहाजमा गरेर ३०५ जना जर्मन यात्रु थिए । शुक्रबार मात्रै कतार एयरवेजबाट नेपालस्थित जर्मन राजदूतावासले ३०७ यात्रु आफ्नो देश फर्काएको थियो ।

ताप्लेजुङबाट पनि फर्किए
ताप्लेजुङ समाचारदाताका अनुसार लकडाउनका कारण रोकिएका तीन पर्यटक र पथप्रदर्शक शनिबार काठमाडौँ फर्किएका छन् ।
यस्तै कञ्चनजङ्घाको भ्रमणमा आएका अन्य ११ विदेशी पर्यटक हाल कञ्चनजङ्घा क्षेत्रमै रोकिएको बताइएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?