logo
२०८० चैत्र १६ शुक्रवार



भ्रमण वर्ष – पर्यटकीय गन्तव्य बन्दै छिम्केश्वरी   

पर्यटन |


भ्रमण वर्ष – पर्यटकीय गन्तव्य बन्दै छिम्केश्वरी   


 
तनहुँ, फागुन १४ गते । आँबुखैरेनी गाउँपालिकामा अवस्थित छिम्केश्वरीमाई मन्दिर पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । समुन्द्री सतहबाट करिब दुई हजार १३४ मिटर उचाइमा रहेको सो क्षेत्रबाट धवलागिरिदेखि लाङटाङसम्मको हिमशृङ्खलाको मनोरम दृश्यावलोकन, सूर्योदय, सूर्यास्त र महाभारत पहाडहरु सजिलै अवलोकन गर्न सकिन्छ ।    
सो गाउँपालिकामा गुरुङ, मगर, नेवार, क्षेत्री, ब्राह्मण, दलित, अति सीमान्तकृत वर्ग चेपाङ र भुजेल जातिको मिश्रित बसोबास रहेको छ ।    
    
छिम्केश्वरी सडक सञ्जालले जोडिएपछि त्यहाँस्थित मन्दिर दर्शन गर्न जाने भक्तजनको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने विश्वास गरिएको आँबुखैरेनी गाउँपालिका–४ का वडाध्यक्ष पूर्णबहादुर आलेले जानकारी दिनुभयो । सो सडकको १६ किलोमिटर खण्ड तीन वर्षमा कालोपत्र सम्पन्न गरी हस्तान्तरण गर्नेुपर्ने सम्झौता गरिएको छ । सडकमा धमाधम ट्र्याक खोल्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । पर्वतीय शृङ्खलाको सबैभन्दा उचाइमा रहेको सो मन्दिरसम्म पुग्न प्रदेश सरकारको रु ३० करोडको लागतमा नयाँ ट्र्याक खोल्न शुरु गरिएको हो ।    
    
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मन्दिरको पुनर्निर्माणका लागि रु ८० लाख लाग्ने अनुमान गरिएको छ । उच्च पहाडी क्षेत्र भएकाले यसलाई ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो ।    
    
धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक तथा जडीबुटीलाई पर्यटनसँग जोड्दै मन्दिरको धार्मिक महत्वलाई प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमी कच्ची सडकमा जीप यात्रा र त्यसपछि करिब डेढ घण्टाको उकालो पैदलयात्रापछि छिम्केश्वरी पुग्न सकिन्छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई र बूढीदेवीमाईको दर्शन तथा जैविक विविधताले भरिपूर्ण छिम्केश्वरीलेक क्षेत्र धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा बहुमूल्य जडीबुटीका कारण महत्वपूर्ण क्षेत्र हो । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । भनिन्छ सातमध्ये ६ वटै देवीको दर्शन गरे तापनि छिम्केश्वरीमाईको दर्शन नगरेसम्म मनोकाङ्क्षा पूरा नहुने जनविश्वास रहिआएको छ ।    
    
यी ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं जैविक सम्पदालाई पर्यटनसँग जोड्दै संरक्षण एवं विकास गरी छिम्केश्वरी क्षेत्रलाई एक आकर्षक, सुन्दर एवं सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य रहेको थापाले बताउनुभयो ।    
    
महोत्सवको तयारी    
    
पर्यटकीय गतिविधिका माध्यमद्वारा प्रवद्र्धन गर्ने उद्देश्यले यही फागुन २५ देखि २७ गतेसम्म छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ गर्ने तयारी गरिएको छ । ‘छिम्केश्वरी हाम्रो आधार ग्रामीण पर्यटन विकासको पूर्वाधार’ भन्ने नाराका साथ गाउँपालिका–५ र ६ को सक्रियता तथा गाउँपालिकाको आयोजनामा उक्त महोत्सव गर्न लागिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो ।    
    
तनहुँ सभागृह ६५ प्रतिशत निर्माण    
    
गण्डकी प्रदेशकै ठूलो आयोजनाका रुपमा रहेको तनहुँ सभाहलको निर्माण ६५ प्रतिशत सम्पन्न भएको छ । व्यासनगरपालिका–३ बिपी वनवाटिकामा निर्माण गरिएको उक्त भवनको इँटाको गारो लगाउने कार्यसम्पन्न गरी प्लास्टर कार्य थालिएको छ । करिब छ हजार पाँच सय स्क्वायर फिट क्षेत्रफलमा निर्माण गरिएको उक्त भवनको दुई ब्लकमा निर्माण गरिएको हो । भवनको लम्बाइ ७५ र चौडाइ ४५ सेन्टिमिटरको बिम निर्माण गरिएको छ ।    
    
चार ढलानको उक्त भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तल्लामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम कक्षलगायत सुविधा रहेका छन् । भवन निर्माणमा नेपाल सरकार र विदेशी दाताको संयुक्त कोष रहेको बताइएको छ । रु २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा निर्माणाधीन उक्त भवनको श्री डाँफे एम.ए. प्रतिष्ठा जे.भी.काठमाडौँले निर्माणको जिम्मा पाएको छ । विसं ०७४ पुस १३ मा सम्झौता गरी विसं ०७७ असार १३ मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो । सभाहल ७५० जना क्षमताको रहेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?