logo
२०८१ बैशाख १२ बुधवार



कोरोनासँग लड्दै किसान

समाज |


कोरोनासँग लड्दै किसान


रसुवा, चैत १९ गते । खेतीपातीको याममा कोरोना भाइरसको त्रास बढे पनि दक्षिणी रसुवाका बासिन्दा भने आफ्नो परम्परागत खेती प्रणालीलाई निरन्तरता दिइरहेका छन् । लकडाउनको पूर्ण पालना गर्दै किसानहरु आफ्ना घर नजीकैको खेतबारीमा मकै रोप्ने तयारीका लागि जमीन खन्ने काम गरिरहेका छन् ।
एउटै घरका मानिस पनि कोदालो लिई खेतबारीमा काम गर्न जाँदा अलि टाढा छुटृाछुटृै काम गरिरहेका छन् । लकडाउनका कारण छरछिमेकीलाई भारोपर्ममा बोलाउने र आपसी भेटघाट गर्ने काम पनि तिनले बन्द गरेका छन् ।
वसन्त ऋतुमा रोपिने पहिलो प्रमुख बाली मकै भएकाले खेतबारीको जोतखन तथा माटो हल्का बनाउने काम अगाडि बढाइएको किसानले बताएका छन् । माथिल्लो क्षेत्रका प्रायःजसो किसानले मकै तथा आलु रोप्ने काम गरिसकेका छन् भने दक्षिणी रसुवाको धैबुङ, मनिगाउँ, जिबजिबे, भोर्लेलगायत क्षेत्रमा परम्परादेखि रोपिँदै आएको मकै रोप्ने समय शुरू भएको बताइएको छ ।
दक्षिणी भेकको तल्लो क्षेत्रमा भने वैशाख महिनामा मकै रोपण गरिने जनाइएको छ । किसानले आफ्ना खेतबारीमा जाने गोरेटा बाटोदेखि घरसम्मका फोहरमैलासमेत नियमित सफा गरिरहेका छन् । जिबजिबे क्षेत्रको सडकलगायत मानव बस्तीको ससाना गल्लीगल्लीमा समेत कीटाणुनाशक औषधि छर्ने काम सम्पन्न गरिसकिएको कालिकास्थान ५ का वडाध्यक्ष रामहरि देवकोटाले बताउनुभयो ।
जिल्लामा मानिसहरु निकै सजग छन् । कोभिड १९ बाट बच्न र बचाउन नियमित साबुनपानीले हात धुने, मास्क लगाउने, पानी उमालेर खाने, भेटघाट नगर्ने तथा लकडाउन अवधिभर इष्टमित्रको घरमा ओहरदोहर नगर्ने जस्ता विषयमा सतर्क रहेको जिबजिबेका बासिन्दा बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?