logo
२०८१ बैशाख ८ शनिवार



अपाङ्गता हुनेको तथ्याङ्क सङ्कलन गरिँदै

समाज |


अपाङ्गता हुनेको तथ्याङ्क सङ्कलन गरिँदै


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १९ गते । सातवटै प्रदेशका पुनस्र्थापना केन्द्र, विशेष विद्यालय स्रोत कक्षा छात्रावास र निजी होस्टेलमा आवासीय रूपमा बसिरहेका अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरिएको छ ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले सातवटै प्रदेश कार्यालयसँग समन्वय गरी सङ्कलन गरिएको उक्त तथ्याङ्क अनुसार एक हजार २८९ अपाङ्गता भएका व्यक्ति त्यस्ता केन्द्रमा बसिरहेका छन्  । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरेपछि सामूहिक रूपमा बसिरहेका अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सेवाको व्यवस्थापन गर्न सजिलो होस् भन्ने लक्ष्यका साथ उक्त तथ्याङ्क सङ्कलन गरिएको महासङ्घका महासचिव राजु बस्नेतले जानकारी दिनुभयो । उहाँले सामूहिक आवासमा बसोबास गरिरहेका पूर्ण अशक्त अपाङ्गता ह्विल चेयर प्रयोगकर्ताका लागि डाइपर, क्याथेटर, सेनिटाइजर, मास्क, स्यानिटरी प्याड लगायतका सामग्रीको उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको जानकारी दिनुभयो ।
लकडाउनका कारण अपाङ्गता भएका व्यक्तिको दैनिक दिनचर्यामा देखिएका समस्या सम्बोधन गर्न सरकारका तर्फबाट राहत प्याकेजका कार्यक्रमको व्यवस्था गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा प्रस्ताव गरिएको महासङ्घका महिला उपाध्यक्ष रमा ढकालले बताउनुभयो ।
त्यसैगरी महासङ्घले कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी जनचेतनामूलक अपिल पनि नेपाली र अङ्ग्रेजी भाषामा अडियो, कोरोना भाइरसबारे साङ्केतिक भाषा सहितको पहुँचयुक्त भिडियो पनि सार्वजनिक गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?