logo
२०८१ बैशाख ७ शुक्रवार



एकान्त बासले फेरिएको दैनिकी, पुस्तक बन्दै धेरैको साथी

मुख्य समाचार |
समाज |


एकान्त बासले फेरिएको दैनिकी, पुस्तक बन्दै धेरैको साथी


शान्ति लामा

काठमाडौँ, चैत १४ गते । कोरोना भाइरस (कोभिड १९) को महामारी रोक्न सरकारले लक डाउन (एकान्त बास) घोषणा गरेपछि धेरैको दैनिकी फेरिएको छ । सधैँ पेशा, व्यवसाय तथा मजदुरीमा व्यस्त रहने सर्वसाधारण अहिले घरभित्रै बसिरहेका छन् ।

यो समयलाई विभिन्न तरिकाले सदुपयोग गरिरहेका छन् । अध्ययनमा रुचि हुनेहरुका लागि यो पुस्तक पढ्ने राम्रो अवसर बनेको छ । कामले व्यस्त भएर पढ्न नपाएका पुस्तक पढ्न थालेका छन् ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि यतिबेला पुस्तक अध्ययनमा व्यस्त हुनुहुन्छ । गएको हप्ता ट्वीट गर्नुभयो, ‘कोरोनासिर्जित गृहबन्दी अवस्थाको सदुपयोग गर्न र देशको आन्तरिक राष्ट्रियता सम्बन्धी ज्ञान गहिरो पार्न बालकृष्ण पोखरेलको झण्डै ९०० पेजको ‘खस जातिको इतिहास’ पढ्ने सुर कसियो ।’ अध्ययनशील राजनेता भट्टराईले पुस्तकबारे सानो पूर्वटिप्पणीसमेत गर्नुभएको थियो ।

पत्रकार शुष्मा बराली यतिबेला घरमै बसी काम गरिरहनुभएको छ । आफ्नो काम सकेपछि दिनमा धेरै समय खाली हुन्छ । यस्तो बेला पुस्तकहरु उहाँको पनि साथी भएका छन् । ‘दिनभरि काम हुँदैन । पुस्तक पढेर रमाइरहेको छु,’ उहाँले भन्नुभयो, ‘यी पुस्तकले मलाई एक्लो भएजस्तो वा फुर्सदमा भएजस्तो भान पर्न दिएका छैनन् ।’

ज्ञान आर्जनको माध्यम र फुर्सदको समय बिताउन सजिलो उपाय भएका कारण पुस्तक पढ्न उत्साहित हुने गरेको उहाँले सुनाउनुभयो । अहिले आफ्नो हातमा युग पाठकको ‘माङ्गेना’ र आहुतिको ‘नेपालमा वर्णव्यवस्था र वर्गसंघर्ष’ नामक पुस्तक रहेको पत्रकार बरालीले बताउनुभयो ।
व्यवसायी सुमित रेग्मी पनि लकडाउनको समय पुस्तक पढेर बिताइरहनुभएको छ । नेपाली साहित्यमा रुचि राख्ने उहाँ नेपाली आख्यानहरु पढेर बिताउने र आफ्नो छोरीलाई समेत पढ्न प्रेरित गर्ने बताउनुहुन्छ ।

‘घरमा बसेपछि सानी छोरी पनि मोबाइल र टिभीमा भुल्न खोज्छिन् । त्यसैले उनलाई पढ्न लगाउन पनि आफैँ पढ्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
यसरी घरबसाइलाई रमाइलो र ज्ञानबद्र्धक बनाउन सर्वसाधारणले पुस्तक रोजेका छन् । सामाजिक सञ्जालको लत र अफवाहबाट छुटकारा पाउने उपायका रुपमा समेत पुस्तकलाई उपयोग गरिरहेका छन् । आफूले पढिरहेको पुस्तकको बारेमा सामाजिक सञ्जालमा चर्चा गरी मानिसहरु अरुलाई पनि पढ्न प्रेरित गरिहेका छन्
सुर्खेतनिवासी विनोद शाहीले समाजिक सञ्जालमार्फत फुर्सदको समयमा पढ्न सकिने एक दर्जन किताबहरु सुझाउनुभएको छ । नेपाली साहित्यका बहुचर्चित लेखकहरु लक्ष्मीप्रसाद देवकोटा, बिपि कोइराला, पारिजात, शंकर लामिछाने लगायतका पुस्तकहरु ‘सेल्फ क्वारेन्टाइन’का साथी हुन सक्ने उहाँले ट्वीट गर्नुभएको छ ।
घरमै बसेर सामाजिक दूरीको अभ्यास गर्नुपरेको यो समयका लागि विभिन्न इपुस्तकालयहरु पनि उपयुक्त विकल्प हुन सक्छन् । घरमा इन्टरनेट भएमा आफ्नो मोबाइल वा कम्प्युटरमा आफूले चाहेजस्तो पुस्तक डाउनलोड गरी पढ्न सकिन्छ । इ–पुस्तकालय नामक डिजिटल लाइब्रेरीले सित्तैमा विभिन्न पुस्तकहरुको अनलाईन भर्जन उपलब्ध गराएको छ । बालसाहित्यदेखि कलेज युनिभर्सिटीका किताब तथा सन्दर्भ सामग्री, राजनीति, दर्शन, समाजशास्त्र, विज्ञान, इतिहास, स्वास्थ्यसम्बन्धी पुस्तकहरु सुन्न, हेर्न र पढ्न सकिने गरी उपलब्ध गराइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?