logo
२०८१ बैशाख १३ बिहीवार



थारु संस्कृतिको संरक्षणमा नयाँ पुस्ता

समाज |


थारु संस्कृतिको संरक्षणमा नयाँ पुस्ता
थारु संस्कृतिमा रमाउँदै थारु समुदायका युवा । तस्बिर - दीवाकर पोख्रेल



दीवाकर पोख्रेल
देउखुरी, फागुन १३ गते । विद्यालयको वार्षिक उत्सव होस् या कुनै मेला महोत्सव । दाङमा थारु संस्कृतिसहितको नाच अनिवार्य जस्तै बन्न थालेको छ । त्यस्ता कार्यक्रमहरुमा प्रायः थारु गीतसहितको नृत्यले अतिथिलाई स्वागत गर्न थालिएको छ ।

यसले थारु जातिको कला र संस्कृतिको प्रचारप्रसारसँगै संरक्षणमा टेवा पुगेको छ । मेला, महोत्सवसँगै विभिन्न कार्यक्रमहरुमा थारु जातिको मौलिक संस्कृतिको रुचि बढ्न थालेपछि थारु नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको छ ।

हरेक प्रकृतिका कार्यक्रममा थारु जातिसँग सम्बन्धित विभिन्न नाचहरुको माग हुन थालेपछि त्यस्ता कार्यक्रममा सहभागी हुँदै आएको लमही नगरपालिका वडा नम्बर ३ मजगाउँका युवा जानकीराम चौधरीले बताउनुभयो । आफ्नो पहिचानसहितको मयुर, लठ्ठी, जुम्रालगायतका नाच लिएर विभिन्न कार्यक्रममा जाने गरेको चौधरीले बताउनुभयो ।

नयाँ पुस्ताका युवा युवती गाउँमा समूह, क्लब गठन गरेर संस्कृति संरक्षण सम्बन्धि गतिविधि गर्दै आएका छन् । ‘क्लवबाट हामीहरुले नाच देखाउन जिल्ला बाहिर पनि जाने गरेका छांै’, लमही ३ का भैसकुर्माका शिव क्लवका सदस्य हरिराम चौधरीले भन्नुभयो ।

गढवा ५ रामनगरकी सुस्मिता चौधरी पनि संस्कृति संरक्षणमा जुट्नु भएको छ । सुरुका दिनहरुमा आफ्नो मौलिक पहिचानका रुपमा रहेका थारु पोशाक लगाउन नजान्ने उहाँ अहिले विभिन्न कार्यक्रममा थारु पोशाकमा सजिएर जान थाल्नुभएको छ ।

१७ वर्षीया सुस्मितालाई थारुको पहिचानका रुपमा रहेका बड्का, छोक्रालगायतका नाचमा रुचि बढेको छ । अगुवा चन्द्रप्रसाद चौधरीका अनुसार आधुनिकतासँगै बाह्य संस्कृतिका कारण ओझेलमा परेको थारु संस्कृतिको विकासमा युवा पुस्ताको अग्रसरता प्रशंसनीय छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?