logo
२०८१ बैशाख १३ बिहीवार



उपत्यकाको फोहोर फागुनदेखि बन्चरेडाँडामा

मुख्य समाचार |


उपत्यकाको फोहोर फागुनदेखि बन्चरेडाँडामा


शान्ति लामा

बन्चरेडाँडा, पुस १९ गते । काठमाडौँ उपत्यकाको फोहोरमैला आउँदो फागुनदेखि बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट लैजाने तयारी भएको छ । नुवाकोटको ककनी–२, बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइटको सेल नं. १ माघ अन्तिमसम्म तयार हुने जनाइएको छ ।
आगामी फागुन १ देखि फोहोरमैला व्यवस्थापन गर्न दिने तयारी भइरहेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । बन्चरे डाँडा काठमाडौँबाट २७ किलोमिटर उत्तरपश्चिममा पर्छ । विभागका महानिर्देशक मणिराम गेलालका अनुसार तत्काल फोहोर व्यवस्थापनका लागि तयार पार्नुपर्ने भएकाले यो ल्यान्डफिल साइट दुई भागमा विभाजन गरी निर्माण हुँदैछ । पहिलो चरणमा सेल नं. १ मा फोहोर व्यवस्थापन गर्दै सेल नं. २ को बाँकी काम गरिनेछ । अब कुनै पनि बहानामा काम नरोकी समयमै निर्माण सम्पन्न गरी व्यवस्थापनका लागि हस्तान्तरण गरिने विभागका अधिकारीहरू बताउँछन् ।
स्यानिटरी ल्यान्डफिल साइटले बाहिरी क्षेत्रसहित एक हजार सात सय रोपनी जमिन ओगटेको महानिर्देशक गेलालले जानकारी दिनुभयो । त्यसमध्ये १०४ रोपनी क्षेत्रफल जमिनमा फोहोर फाल्ने सेल बनाइनेछ । जमिनको भागमध्ये ४० प्रतिशत भागमा हाल ल्यान्डफिल साइटको सेल नं. १ तयार हुँदैछ ।
यो स्यानिटरी ल्यान्डफिल साइट फोहोरमैलाको वैज्ञानिक प्रणालीमा आधारित सेमिएरोबिक विधिअनुसार निर्माण गरिएको महानिर्देशक गेलालले बताउनुभयो । “जमिनमुनिको पानी व्यवस्थित गर्न सबैभन्दा मुनि ट्रेन्च बनाइएको छ । ट्रेन्चमाथि पिबल (गोला ढुङ्गा)लाई जियोटेक्सटायलले बेरेर खाल्डो भरिन्छ । त्यसपछि चिम्ट्याइलो माटोले वाटर प्रुफिङ गरिनेछ । त्यसमाथि पानी नछिर्ने गरी जियोमेम्ब्रेन ओछ्याइने छ । त्यसमाथि पिबल राखेर लेदो (लिचेट) पानी निकाल्ने पाइप बिछ्याइन्छ”, उहाँले भन्नुभयो ।
लेदो सङ्कलन गर्न साइटको बाहिरपट्टि दुईवटा पोखरी बनाइनेछ । पोखरीमा जम्मा भएको लेदो प्रशोधन गरेर मात्र खोलामा पठाइनेछ । फोहोरबाट निस्कने ग्यास सङ्कलन गर्न पनि पाइप बिछ्याइनेछ ।
यस ल्यान्डफिल साइटले हाल सिसडोलमा फालिँदै आएको फोहोर २० वर्षसम्म धान्ने प्राविधिकहरू बताउँछन् । फोहोरलाई स्रोतमै छुट्याएर अधिकतम पुनः प्रयोग तथा उत्पादन गरी बाँकी फोहोर मात्र ल्याइएमा यो ल्यान्डफिल साइटमा एक सय वर्ष फोहोर व्यवस्थापन गर्न सकिने महानिर्देशक गेलाल बताउनुहुन्छ ।
गएको वैशाखदेखि निर्माण सुरु भएको बन्चरेडाँडा ल्यान्डफिल साइटमा मङ्सिरदेखि नै फोहोर लैजान दिने विभागको योजना थियो । निर्माण ढिला हुँदा क्षमता सकिएको सिसडोलमा नै उपत्यकाका १८ वटा नगरको फोहोरमैला व्यवस्थापन हुँदै आएको छ । लुम्बिनी–कोसी–न्यौपाने जेभीले ३५ करोड रुपियाँको लागत सम्झौतामा बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माण गरिरहेको छ ।

राज्यमन्त्रीले नियमित अनुगमन गर्ने
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माण आफ्नो मन्त्रालयको प्राथमिकताप्राप्त योजना रहेको बताउनुभएको छ । शुक्रबार निर्माणाधीन ल्यान्डफिल साइट अनुगमन गर्दै उहाँले समयमै निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो । हरेक हप्ता आफू ल्यान्डफिल साइट निर्माणको स्थलगत अनुगमनमा आउने राज्यमन्त्री मानन्धरले बताउनुभयो । साथै सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दाको समस्या र मागलाई पनि यथासम्भव पूरा गर्ने प्रयास गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
स्थानीयवासीको आशङ्का
बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट तयार भएसँगै गएको १४ वर्षयता थुपारिएको फोहोरले जनस्वास्थ्य र कृषिमा गम्भीर असर पु¥याएको भन्दै सिसडोलवासीले गर्दै आएको गुनासो सम्बोधन हुने अपेक्षा गरिएको छ । तर यो स्यानिटरी ल्यान्डफिल साइटको वैज्ञानिक व्यवस्थापनबारे स्थानीयवासी विश्वस्त छैनन् ।
सिसडोल–बन्चरेडाँडा सरोकार समितिका संयोजक विश्वास डीसीले भन्नुभयो, “२०६२ जेठ २२ गते दुई वर्षका लागि अस्थायी रूपमा फोहोर व्यवस्थापन गर्न भनी निर्माण गरिएको सिसडोलमा पनि सुरुमा वैज्ञानिक पद्धतिबाट फोहोर डम्प गर्ने भनिएको थियो । त्यसैले बन्चरेडाँडामा पनि वैज्ञानिक तरिकाको स्यानिटरी ल्यान्डफिल साइट बन्छ भन्नेमा हामीले विश्वास गरेका छैनौँ । ’’ अवैज्ञानिक तरिकाले फोहोर फालिँदा नुवाकोटको ककनी र धादिङको धुनिबेँसी क्षेत्रको जनजीवन प्रभावित भएको ती ठाउँका जनप्रतिनिधिले बताउँदै आएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?