logo
२०७६ चैत्र २० बिहीवार

आत्मदाह (कथा)

शनिवार |


2020-03-21-10528


प्रा.डा. उषा ठाकुर

‘आई एम सो प्राउड अफ यु नमिता’ भन्दै प्रशान्तले पत्नीको अनुहार हत्केलाले माथि उचालेर हर्षले विभोर भएर उनलाई हेर्न लागे । नमिता पनि पतिको प्रेम पाएर गद्गद् भएकी थिइन् । उनको हृदयको खुसी सहिनसक्नु भइरहेको थियो । प्रशान्तले नमितासँग आँखा जुधाएर भनिरहेका थिए । “देख्यौ, तिमीले त भनेकी थियौ नि, पीएचडी गर्नका निम्ति अत्यन्तै कुशाग्र बुद्धि चाहिन्छ । तर, कसरी आज हेर्दाहेर्दै तिमीलाई ‘डाक्टर अफ फिलोसाफी’को डिग्री प्राप्त भयो ।”
“यसको श्रेय त तपाईंलाई जान्छ प्रशान्त ! नत्र त...” हर्षले विभोर भएकी नमिताका आँखा अश्रुपूर्ण भए । प्रशान्तको पनि हर्षको सीमा थिएन । हर्षविभोर भएर धेरै बेरसम्म उनले नमिताको केश सुम्सुम्याइरहे । नमिताचाहिँ मन्त्रमुग्ध भएर अपलक दृष्टिले उनलाई नै हेरिरहिन् । विवाहभन्दा पहिल्यै नमिता पीएचडी गर्न शोधकार्यमा संलग्न भएकी थिइन् । अत्यधिक लगन र परिश्रमपूर्वक उनी आफ्नो शोधकार्यलाई सम्पन्न गर्न दिन–रात प्रत्यनशील थिइन् । यसैबीच विवाहको कुरो टुङ्गियो । मनमनै उनी चिन्तित हुन थालिन् । तर, प्रशान्तको प्रोत्साहनले उनको आत्मबललाई सबलता प्रदान ग¥यो । हेर्दाहेर्दै डा. बर्माको निर्देशनमा नमिताले आफ्नो शोध प्रबन्ध पूरा गरिन् । परिणामस्वरूप आजको यो शुभघडी ।
प्रशान्त शिक्षा मन्त्रालयमा माथिल्लो तहमा कार्यरत थिए । छ फुट अग्लो प्रशान्तको गठिलो शरीर, गोरो रङ, तीखो नाक, केही भनिरहेझैँ उठेका आँखा र अनुहारमा सधैँभरि विजयको मुस्कान हुन्थ्यो । आफ्नो सूर्यजस्तो छोरोलाई आमाले अपलक हेरिरहन्थिन् । अनि चन्द्रमाजस्ती बुहारी ल्याउने कल्पना गरिरहन्थिन् । विधिको इच्छा, आमाको सपना सपनामै सीमित रह्यो । अनुहारमा साधारण लावण्य भए पनि नमिताको गहुँगोरो रङले उनलाई कहिल्यै खुसी तुल्याउन सकेन । तर दुब्ली, पातली, लाज मान्ने स्वभावकी नमितामा प्रशान्तले केही यस्तो विशेषता पाए जुन सबैसँग हुँदैन । प्रथम साक्षात्कारमै नमिताको प्रभावशाली व्यक्तित्व उनको आँखामा गड्यो । अनि उनले नमितासँग बिहेका निम्ति स्वीकृति दिएका थिए । “मलाई त पढाइभन्दा बढी महŒवपूर्ण अरू कुनै पनि कुरो लाग्दैन,” प्रशान्तले नमिताकी आमासँग भनेका थिए । नमिताकी आमाले आत्मविश्वाससहित प्रशान्तको अनुहारमा आशाले भरिएको दृष्टिले हेरिन् र गद्गद् भएकी थिइन् । हर्षले भरिएको वातावरणमा नमिता र प्रशान्तको इन्गेजमेन्ट पूरा भएको थियो ।आज परिणाम आएपछि प्रशान्तको सपना साकार भयो ।
“अब अगाडि के गर्ने विचार छ ?” प्रशान्तले नमितालाई सहज रूपमा प्रश्न गर्दा बडो उत्साहपूर्वक उनले भनेकी थिइन्, “विभागमा लेक्चररको ठाउँ खाली छ अप्लाई गरूँ ?” “किन नगर्ने ? अवश्य पनि गर नमिता ! तिमीलाई धेरै अगाडि जानु छ । अन्य महिलाजस्तो केवल घरगृहस्थीमा तिमीलाई अल्झनु छैन । कुनै यस्तो अनुपम प्रयास गर कि, अरूका निम्ति तिमी एउटा उदाहरण बन्न सक्नुपर्छ । दुनियाँले तिमीलाई मेरो नामले होइन, तिम्रो आफ्नै नामले चिनून् ।”
“तर, आमाले बुहारी जागिर खान्छे भनेर सुन्नुभयो भने त्यसबेला कस्तो बबाल उठ्ला ? घरपरिवारलाई म त त्यतिबेला पनि यथावत् सम्हालुँला । तर पनि ....।” प्रश्न भरिएको आँखाले प्रशान्ततिर हेरेर भनिन् नमिताले । तर, प्रशान्त नै खारिएको फलाम थिए । परम्परागत विश्वासलाई आँखा चिम्लेर मान्नेखालका उनी कदापि थिएनन् । “पुरातनपन्थी नबन नमिता ! नयाँ जमानाको नयाँ आवश्यकतालाई चिन । तिमीलाई त्यो गर्नु छ । जुन उचित छ, जुन तिम्रो उन्नतिको हकमा छ । जागिर खानु कुनै नराम्रो कुरा हैन । अझ भन्ने हो भने यो त घरका निम्ति गर्वको कुरा हो ।”
नमिताको नियुक्ति अर्थशास्त्र विभागमा भयो । प्रशान्तको प्रेमपूर्ण प्रोत्साहनले उनी अघि बढ्दै गइन् । विभागीय कार्यबाहेक नमिताले आफ्नो विषयसँग सम्बन्धित लेख–रचना विभिन्न पत्रपत्रिकामा पठाउन थालिन् । ती प्रकाशित भएको देखेर नमितालाई जति खुसी लाग्दथ्यो, त्योभन्दा सयगुना बढ्ता खुसी प्रशान्तलाई हुन्थ्यो र दिनप्रतिदिन कलेजमा उनको ख्याति पनि बढ्दै गयो ।
प्रशान्त र नमिताको दाम्पत्य जीवन अत्यन्त सुखी थियो । उनीहरूको जीवनमा चारैतिर वसन्त ऋतु छाएको थियो । हेर्दाहेर्दै प्रशान्तको घर रोहित र रोहिणीका हाँसोले भरियो । आफ्ना छोराछोरीको तोते र मायालु बोलीले पतिपत्नी खुसीमा झुम्दथे । नमिता माया गरेर आफ्ना बच्चाहरूलाई सम्झाउने, लेखपढ गर्न सिकाउने र उनीहरूलाई योग्य बनाउन भरमग्दुर प्रयत्न गर्थिन् । उनीहरूको हरेक इच्छा पु¥याउने कोसिस गर्थिन् । आफ्नी अस्वस्थ नन्द रश्मीलाई उनी विशेष ध्यान र सेवा पु¥याउँथिन् । उनको औषधोपचारमा कुनै कमी हुन दिइनन् । परिवारप्रतिको आफ्नो दायित्व पूर्ण रूपले निर्वाह गर्दै उनी आफ्नो कार्यक्षेत्रमा सफलतापूर्वक अघि बढ्दै गइन् । विश्वविद्यालयको अध्यापनबाहेक उनलाई देश–विदेशमा पनि ख्याति प्राप्त गर्ने इच्छा भयो । त्यसपछि लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि उनी अर्थ मन्त्रालयको उपसचिव पदमा काम गर्न थालिन् । पतिको प्रोत्साहनले उनीभित्रको आकाङ्क्षा बढ्दै गयो । उनले मनमनै धेरै अघि बढ्ने सपना बुन्न लागिन् । उनीहरूको आर्थिक अवस्था पनि राम्रो हुँदै गयो । सुन्दर, सुसज्जित बंगला र साथमा नोकरचाकर थिए । अत्यन्त सुन्दर कार पनि थियो । सबै सुख–सुविधा थिए । सुखका दिन त्यसरी नै बितिरहेका थिए । प्रशान्तको मुखबाट आफ्नो प्रशंसा सुनेर नमिता कृतकृत्य हुन्थिन् । छोराछोरीको मायामा डुबेर उनी आफ्नो थकान बिर्सन्थिन् ।
एकपछि अर्काे गर्दै वर्षहरू बित्दै गए । नमिताको अपूर्व लगनशीलता एवम् उनको सफल कार्यकुशलताको प्रशंसा मन्त्रालय तथा बाहिर पनि चारैतिर हुन लागेको थियो । अब उनी पुनः लोकसेवा आयोगको सहसचिवका निम्ति परीक्षा दिने तयारीमा लागेकी थिइन् । उनीभित्र यो सपना उम्लिन लाग्यो कि सहसचिव भएपछि सचिव भएर मन्त्रालय र देशको सेवा गर्न सकूँ । एक दिन अचानक आफ्नी नन्द रश्मीको शारीरिक अवस्था बढी नै बिग्रेको देखेर उनी दुःखी र चिन्तित भइन् । उत्तिनै खेर उनले नन्दलाई डाक्टरकहाँ पु¥याइन् । आवश्यक चेक–जाँच र विभिन्न परीक्षण डाक्टरले भनेअनुसार गराइन् । रिपोर्ट हेरेपछि नमिताको पैतालामुनिको धर्ती भासिएझैँ भयो । डाक्टरको भनाइअनुसार उनको नन्दलाई क्यान्सर रोगले ग्रसित गरिसकेको थियो र उनलाई तुरुन्तै बैङ्कक अथवा दिल्ली लैजान आवश्यक थियो ।
प्रशान्तमाथि पनि वज्र नै प¥यो । उनकी प्यारी, एउटीमात्र बहिनी । सानैदेखि आमा र बहिनीप्रति अगाध ममता थियो उनलाई । एमएसम्मको शिक्षा दिएपछि उनले आफ्नी बहिनीको विवाह धूमधामसित डाक्टर दीवाकरसँग सम्पन्न गराएका थिए । तर रश्मीको पति डाक्टर होइन, कसाईजस्तो प¥यो । बिहे गरेको सात दिन पनि भएको थिएन, दाइजोको विषय लिएर उसका बा–आमाले उत्पात मच्चाए । पैसा र गरगहनाका लागि उनीहरू सबै मिलेर रश्मीलाई यातना दिने, मारपिट गर्ने र तिरस्कृत गर्न थाले ।
प्रशान्त राखी बाँध्नका निम्ति रश्मीको घर गए । यही बेला रश्मीको शरीरमा जताततै उनले चोट देखे । उनी स्तब्ध भए । बारम्बार सोधेपछि पनि रश्मीले केही पनि भनिनँ । बस, हिक्क–हिक्क गरेर रोइरही । प्रशान्तले रश्मीलाई घर लिएर आए र अब कहिल्यै पनि उसलाई उसको पतिको घर नपठाउने वाचा गरे । उनले सोचेका थिए कि आफ्नी योग्य शिक्षित बहिनीलाई स्वाबलम्बी बनाएर एउटा नयाँ जीवन दिनेछु । तर, दुःखको भुमरीले रश्मीको जिन्दगी बर्बाद पारिदियो । ऊ भित्रभित्रै टुटिसकेकी थिई । पूरा हेरचाह र डाक्टरको औषधि खाएर पनि ऊ स्वस्थ रहन सकिनँ । फलस्वरूप..... आजको यो मेडिकल रिपोर्ट ।
प्रशान्त मरणासन्न अवस्थामा अत्यन्त व्यग्र बने । अब के गर्ने ? न त उनले वृद्धा आमालाई छोड्न सक्दथे न त अस्वस्थ बहिनीलाई । मन्त्रालयको जिम्मेवारी अलग्गै थियो । प्रशान्त भित्रभित्रै आफ्नी बहिनी रश्मीको बिग्रँदै गरेको अस्वस्थतालाई देखेर आहत भए । रश्मीलाई उपचार गराउन दिल्ली लैजाने वा नलैजाने अन्तद्र्वन्द्वमा उनी परे । फेरि क्यान्सरको उपचार गर्न लामो समय चाहिन्छ । अन्त्यमा उनी यो निर्णयमा पुगे कि, रश्मीको उपचार गराउन नमितालाई दिल्ली पठाउने र उनीचाहिँ यहीँ बसेर आमा र बच्चाको हेरचाह गर्ने र मन्त्रालयको जिम्मेवारी वहन गर्ने ।
प्रशान्तको निर्णय सुनेर नमिता हतप्रभ भइन् । चार दिनपछि उनको परीक्षा थियो । रश्मीको उपचारका निम्ति उनी दिल्ली जान त चाहन्थिन् तर उनको परीक्षा ? उनको भविष्य ? उनको सपना ? एउटा गहिरो अन्तद्र्वन्द्वमा डुबेर उनले सोचिन्– पतिको कुरा मान्ने कि नमान्ने ? किङ्कर्तव्यविमूढ भएर कोठाबाहिरको पर्खाललाई एकटक लाएर हेरिरहेकी थिइन्, हठात् उनको आफ्नो दिवङ्गत आमाको आकृति आँखाअघि देखापर्न गयो । उनलाई विगतको सारा कुरा सम्झना हुन थाल्यो कि कसरी आदर्श, मर्यादा र बोधले परिपूर्ण आमाले जिन्दगीको चुनौतीलाई निर्भीक भएर उत्साहको साथमा सामना गरेकी थिइन् र आफ्नो परिवारलाई, आफ्नो सन्तानलाई खुसी प्रदान गर्ने गर्दथिन् ।
नमिताको हृदयमा अनेकप्रकारका प्रश्न उठिरहेका थिए । पारिवारिक जिन्दगीलाई सार्थक बनाउन नारी दायित्व आत्मसात् गर्ने ? तर, मेरो महŒवाकाङ्क्षाहरू जुन मेरो हृदयमा आश्रय लिइरहेका छन् ?
त्यही क्षण नमिताले आफ्नो शिरमा स्मृतिशेष आफ्नी आमाको आशिर्वादले भरिएको शीतल स्पर्श अनुभव गरिन् । उनले एकाएक आफ्ना विचारलाई तत्कालै पन्छाएर उठिन् । उनको हृदयमा उद्वेलित कर्तव्यबोधले उनलाई त्यागका निम्ति उत्प्रेरित र सजग तुल्यायो । अनि उनले रश्मीलाई औषधोपचारका निम्ति आफ्नो साथमा लिएर दिल्ली लैजाने तयारी गर्न थालिन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?