logo
२०८१ बैशाख १३ बिहीवार

 दोस्राे मृतकको अन्तिम संस्कारको तयारी 



नरैनापुरका मृतकका तीनै भाइ भारतमै हाेटेलमा काम गर्थे

प्रदेश |


नरैनापुरका मृतकका तीनै भाइ भारतमै हाेटेलमा काम गर्थे
नरैनापुरको क्वारेन्टाइन


सिराज खान
नेपालगञ्ज, जेठ ४ गते । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवक नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ को नयाँबस्तीका स्थानीय बासिन्दा ती युवक पछिल्लो पटक पाँच महिनाअघि मात्र रोजगारीका लागि मुम्बई गएको उनका काकाले बताएका छन् ।
मृतकका काकाका अनुसार १५ वर्षको उमेरदेखि नै मुम्बईको होटलमा काम गरिरहेका ती युवक यसपटक धेरै दिन मुम्बई बस्न सकेनन् । लकडाउनले गर्दा उनको होटल बन्द भएपछि उनलाई त्यहाँबाट निकालियो ।
ती युवकलगायत गाउँका अन्य थुप्रै युवा मुम्बईबाट कतै पैदल त कतै ट्रक ट्याक्टर गरेर एक साताअघि सिमानामा पुगेका थिए । वैशाख ३० गते उनलाई गाउँपालिकाको पहलमा भित्र्याएर दीपेन्द्र माविको क्वारेन्टाइनमा राखिएको थियो ।
सात वर्षअघि भारतको नासिरगन्जमा विवाह गरेका मृतकका एक छोरा र एक छोरी छन् । छोरा ५ वर्षका छन् भने छोरी ११ महिनाकी रहेको उनका आफन्तले बताएका छन् ।
मृतकका २ जना भाइहरू पनि भारतको दिल्लीमा होटलमा काम गर्दै आएकोमा एकजना केही दिनपहिले नेपाल आएका थिए भने अर्का भाइ अहिले सीमापारि आएर अड्किएको मृतकका काकाले बताउनुभयो ।

याे पनि पढ्नुहाेस्...

सङ्क्रमितको मृत्युपछि उच्च सुरक्षा सतर्कता

नयाँबस्तीका अधिकांश बासिन्दा निकै गरिब र विपन्न रहेकोले त्यहाँका सबै युवा रोजगारीका लागि भारतमा जाने गरेका थिए ।
ती युवकको मृत्यु बिहानै भएपनि कोरोना परीक्षण रिपोर्ट आउन ढिलाई भएकोले उनको शवलाई विद्यालयको चौरमै छोडिएको थियो ।
विद्यालयलाई मृतकका आफन्त र स्थानीय बासिन्दाले घेरेर बसेको वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले बताउनुभयो । विद्यालयको चारैतिर नेपाली सेनासहितको सुरक्षाकर्मीहरू ठूलो सङ्ख्यामा तैनाथ गरिएको छ ।
मृत्युको कारण कोरोना पुष्टि भैसकेपछि सरकारले बनाएको शव व्यवस्थापन नीतिअनुसार नेपाली सेनाले शवको अन्तिम संस्कार गर्न लगाउने तयारी शुरु गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो ।
मृतकका दुईजना आफन्त र सुरक्षाकर्मीले मिलेर शवको अन्तिम संस्कार गर्ने तयारी भैरहेको नरैनापुर गाउँपालिकाले जनाएको छ ।
यसअघि ती युवकको मृत्युपछि नरैनापुर क्षेत्रमा तनाव र आक्रोश बढ्दै गएकोले जिल्ला सदरमुकामबाट थप सुरक्षाकर्मी पठाएर सुरक्षा कडा पारिएको थियो ।
ती युवकको मृत्यु कोरोनाबाट भएको पुष्टि भएपछि वडा नम्बर ५ स्थित दीपेन्द्र माविको क्वारेन्टाइनमा रहेका ४० जना निकै त्रसित र आतङ्कित देखिएको वडा कार्यालयले जनाएको छ ।
नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ स्थित दीपेन्द्र माविको क्वारेन्टाइनमा चारदिन अघिदेखि बसेका ती २५ वर्षीय युवकको बान्ता लागेर बेहोस भएपछि आइतबार बिहान मृत्यु भएको थियो ।
उनको मृत्यु हुनुअगाडि नै शनिबार सङ्कलन गरिएको स्वाब परीक्षणमा उनलाई कोरोना पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले आइतबार अपरान्ह पुष्टि गरेको छ ।
नरैनापुरमा दुई दिनअघि भेटिएका ८ जना सङ्क्रमितको सम्पर्कमा आएका ती युवकको शनिबार दिउँसो स्वाब सङ्कलन गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?