logo
२०८१ बैशाख ८ शनिवार

  निको भएका सङ्क्रमितको अनुभव  



न कुनै लक्षण थाहा भयो, न त कुनै असर

निको भएका संक्रमितको अनुभव

प्रदेश |


न कुनै लक्षण थाहा भयो, न त कुनै असर


नवराज कट्टेल
विराटनगर, वैशाख २८ गते । साउदी अरबबाट घर फर्केको ४६ दिनपछि कोरोना (कोभिड–१९) सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरिनुभएका भोजपुरका उपेन्द्र राईले कोरोनाको असर बुझ्नै नपाई डिस्चार्ज हुनुभयो ।
भोजपुर हतुवागडी–६ का २६ वर्षीय राई वैशाख १३ गतेदेखि अस्पतालमा उपचारत भई आइतबार डिस्चार्ज हुनुभएको हो । तर, उहाँले संसारलाई असर पु¥याइरहेको कोरोनाले आफ्नो स्वास्थ्यमा कुनै प्रभाव नपारेको बताउनुभयो ।
मलाई केही भएकै थिएन र अहिले पनि केही भएकै छैन, राईले भन्नुभयो– मलाई कोरोना छ भनेर डाक्टरलाई मात्रै थाहा छ ।
उहाँ फागुन २७ गते साउदी अरबबाट घर फर्कनु भएको थियो । घर फर्केको ४६ दिनपछि सङ्क्रमित भएको खबरले आफूलाई सुरुमै कुनै पनि डर उत्पन्न नभएको उहाँले बताउनुभयो ।
गाउँघरमा अलिअलि हल्ला गरेछन्, राईले हस्यौली गर्दै भन्नुभयो– भाग्यो रे पनि भनेछन् । उहाँले आफूलाई कुनै लक्षण बिना पोजेटिभ र कुनै असर बिना नेगेटिभ भएको कुराले सचेत गराएको बताउनुभयो । डिस्चार्जपछि १४ दिनसम्म घर नफर्कने बताउँदै उहाँले स्थानीय तहको क्यारेन्टीनमा बस्ने ईच्छा जाहेर गर्नुभएको छ ।
डिस्चार्जपछि अस्ताल परिसरमा हँसिलो मुद्रामा प्रतिक्रिया दिँदै उहाँले घरपरिवार र छरछिमेकमा पर्नसक्ने मनोवैज्ञानिक असरलाई कम गर्न आफूले तत्काल क्वारेन्टीनमै बस्नु उचित हुने निर्णयमा पुगेको बताउनुभयो । संसारका अन्य मुलुकका नागरिकको अवस्था त्यस्तो हुँदा नेपालमा कोरोना सङ्क्रमित धमाधम घर फर्कन पाउनु भाग्य रहेको उहाँको बुझाइ थियो ।
बिदाईमा स्वास्थ्यकर्मीसँग हार्दिकता साटेर हातमा पुष्पगुच्छासँगै निस्कनुभएका झापा बाह्रदशीका ४० वर्षीय मुजाइर आलमले चिकित्सकको सुझावका आधारमा दैनिकी व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीसँग परामर्शमा रहिरहने बताउँदै सङ्क्रमणलाई सजिलै परास्त गर्न सकेको बताउनुभयो ।
अस्पतालमा बस्नु घर वा मस्जिदमा बसेजस्तो नहुने बताउँदै उहाँले सबैको हार्दिकता पाएकोमा खुसी व्यक्त गर्नुभयो । तवलिगी जमात समूहका सदस्य आलमले अस्पतालमा पानीको आपूर्ति व्यवस्थापनमा केही समस्या परेको भन्दै त्यस्ता मिलाउन सुझाव भने दिनुभयो ।
फागुन ३० गते भारतबाट नेपाल आउनुभएका आलमलाई स्थानीय तहसँगको समन्वयमा मदरसामा राखेर स्वास्थ्य निगरानी गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एवम् अस्पताल व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।
डिस्चार्जपछि सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थले दुवैजनालाई शुभकामना तथा बधाई दिदैं विदाई गर्नु भएको थियो । उहाँले घरमा वा अन्य जुनसुकै स्थानमा बस्दा पनि आफ्नो व्यक्तिगत सरसफाईदेखि सरकारले तोकेको १४ दिनसम्मको क्वारेन्टीन मापदण्ड कायम गर्नका लागि अनुरोध समेत गर्नु भएको थियो ।
कोभिड–१९ उपचार केन्द्रमा बैशाख २३ गतेसम्म भर्ना भएका ३१ जनामध्ये बैशाख २४ गते ६ जना डिस्चार्ज हुनु भएको थियो । त्यसपछि बैशाख २६ गते थप ८ जनालाई डिस्चार्ज गरिएको थियो । आइतबार २ जनासहित १६ जना डिस्चार्ज हुनु भएको छ । त्यस बाहेक बैशाख २७ गते भर्ना गरिएका ३ र २८ गते भर्ना गरिएका १ जना गरि १९ जना उपचारतः रहनु भएको व्यवस्थापन संयोजक बस्नेतले जानकारी दिनुभयो । भर्ना गरिएकामध्ये झापाका १ जना र बाँकी १८ जना उदयपुर भुल्केस्थितका संक्रमित हुनुहुन्छ । उदयपुरको भुल्केबाट शनिबार र आईतबार भर्ना गरिएका चारजना महिला हुन् ।

याे पनि पढ्नुहाेस्

कोशी अस्पतालबाट दुई सङ्क्रमित निको भई डिस्चार्ज

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?