logo
२०८० चैत्र १५ बिहीवार



सुर्खेतबाटै कोरोना परीक्षण, पहिलो परीक्षणमा भाइरस फेला परेन

प्रदेश |


सुर्खेतबाटै कोरोना परीक्षण, पहिलो परीक्षणमा भाइरस फेला परेन
प्रदेश अस्पतालमा जडान गरिएको कोरोना भाइरस परीक्षण मेसिन ।



ललित बसेल
सुर्खेत, चैत २० गते । कर्णाली प्रदेशका लागि कोरोना भाइरसको परीक्षण सुर्खेतबाट शुरु भएको छ । चीन सरकारले पठाएको मेसिन बुधबार जडान गरेपछि प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशालाबाट बिहीबारदेखि परीक्षण शुरु भएको हो । अब कर्णालीबाट कोरोना भाइरस परीक्षण गर्न काठमाडौं पठाउन नपर्ने भएको छ ।

पहिलो दिन बिहीबार तीन वटा परीक्षण भएकोमा पहिलो परीक्षण नेगेटिभ आएको छ । अन्य दुई वटा परीक्षणका क्रममा रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारी जोशीले पहिलो दिन तीन वटा स्वाब संकलन भएको र पहिलो परीक्षण नेगेटिभ आएको जानकारी दिनुभयो ।

मेसिन जडानका साथै अन्य सामानहरु जुटाउन र स्वाब संकलन गर्न पनि केही समय लागेकाले पहिलो दिन तीनवटा स्वाब संकलन भएको उहाँको भनाइ छ । आज शुक्रबारदेखि परीक्षणको क्रम वृद्धि हुने जानकारी दिँदै निर्देशक भण्डारीले अब कोरोना भाइरसको परीक्षणका लागि केन्द्र पठाउन नपर्ने बताउनुभयो ।

कोरोनो भाइरस परीक्षण मेसिनले दैनिक १० वटा परीक्षण गर्ने बताइन्छ । कर्णाली प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले मेसिन २४ घन्टा चलाएमा बढीमा १५ वटाको परीक्षण गर्न सकिने क्षमता भए पनि जनशक्तिलगायतको समस्याले हाललाई दैनिक १० वटा परीक्षण गरिने बताउनुभयो ।

कोरोना भाइरस परीक्षणको लागि अहिले विशेषज्ञ डा. रामकृष्ण श्रेष्ठ रहनुभएको छ । सूचना अधिकारी बस्नेतले विशेषज्ञ डा.श्रेष्ठ यही चैत २४ गतेसम्म सुर्खेतमा बसेर कोरोना परीक्षणको काम गर्दै र यहाँका अन्य स्वास्थ्यकर्मीहरुलाई सिकाउनु हुने र त्यसपछि यहींका जनशक्तिले कोरोना परीक्षण गर्ने जानकारी दिनुभयो । कोरोना परीक्षण मेसिन आएपछि परीक्षणको काम पनि बढ्ने अनुमान गरिएको छ ।

यदि परीक्षणको मात्रा बढ्दै गएमा यो मेसिनले नथेग्ने अस्पतालले जनाएको छ । अहिलेसम्म कर्णालीबाट २८ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो । अस्पतालका सूचना अधिकारी बस्नेतका अनुसार परीक्षणका लागि पठाइएका सबैको नतिजा नेगेटिभ आएको छ ।

मेसिन जडान गर्न १२ घन्टा

यसैबीच प्रदेश अस्पतालमा कोरोना भाइरस मेसिन जडान गर्न १२ घन्टा समय लागेको छ । स्वास्थ्य निर्देशनालयका ल्याव युनिट इन्चार्ज ओम आचार्यका अनुसार बुधबार विहान १० बजेदेखि राति १० बजेसम्म लागेर परीक्षण मेसिन जडान गरिएको हो । बुधबार जडान गरिएका कारण बिहीबारदेखि कोरोना भाइरस परीक्षण गर्न पाएको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?