logo
२०८१ बैशाख ८ शनिवार



महामारी र जनस्वास्थ्यका कार्यक्रम

विचार/दृष्टिकोण |




प्रदिप्नराज पन्त

सृष्टिको सुरुवातदेखि नै मानिसहरूले महामारी झेलेका छन् । महामारीको प्रकृति समयअनुसार फरकफरक तरिकाले हुने गर्छ । अहिले कोरोना भाइरस डिजिज (कोभिड १९) को प्रकोपले विश्व नै त्रासमा छ । यसको नियन्त्रण कहिलेसम्म हुन्छ भन्ने बारेमा अन्यौल कायमै छ । कोभिड १९ को सङ्क्रमण गति हेर्दा वैज्ञानिकहरू यसले ठूलै विनाश निम्त्याउन सक्ने आँकलन गर्न थालेका छन् ।
काँडे भाइरस
वैज्ञानिकहरूले कोभिड १९ को प्रभावलाई भविष्यवाणी गर्न नसकिने भाइरसका रुपमा लिएका छन् किनभने यो मानिसहरूमा छिटो सङ्क्रमण हुन्छ । भाइरस किन तीव्रगतिमा सङ्क्रमण भयो भनेर वैज्ञानिकहरू अध्ययन अनुसन्धानमा जुटेका छन् । आनुवंशिक र संरचनात्मक विश्लेषण अनुसार कोभिड १९ को सतहमा प्राप्त भएको प्रोटिनले गर्दा सार्स, स्वाइनफ्लु, मर्सर जिका भाइरसको आक्रमणमा भन्दा कोभिड १९ को आक्रमणमा मानिसहरूको श्वासप्रश्वास प्रणालीमा १० गुणा बढी सङ्क्रमण हुने देखियो । यसका साथै कोभिड १९ लाई वैज्ञानिकहरूले काँडादार भाइरस, झगडालु भाइरस (स्पाइकी इन्भेडर्स) भनेर नामकरणसमेत गरे । कोभिड १९ ले मानव शरीरको एक अङ्गलाई मात्र नभई फोक्सो, कलेजो र सानो आन्द्रामा एकैचोटी आक्रमण गर्दछ । जसले गर्दा सङ्क्रमित भइसकेपछि मानव शरीरका यी अङ्गले विस्तारै काम गर्न छोड्छन् र अन्त्यमा मृत्युसमेत हुने गर्दछ । तुलनात्मक रुपमा शरीरको प्रतिरोधात्मक क्षमतालाई नष्ट गर्न कोभिड १९ अन्य भाइरसभन्दा कमजोर मानिए पनि यो भाइरसले एकैचोटि मानिसका धेरै अङ्गलाई प्रभाव पार्ने हुनाले कम प्रतिरोधात्मक क्षमता भएका रोगी, अशक्त र वृद्धहरूलाई यसले बढी प्रभाव पार्छ । तर यसको मतलब कोभिड १९ ले प्रतिरोधात्मक क्षमता कम भएका या वृद्धहरूबाहेक जवान मानिसलाई प्रभावित गर्दैन भन्ने सोच्नुचाहिँ गलत हुने र कोभिड १९ लाई अहिल्यै कमजोर भाइरस भनेर निक्र्योल गर्न नहुने निर्णय केही वैज्ञानिकको छ ।
अहिलेसम्म करिब आठ लाख मानिसमा यो भाइरसको सङ्क्रमण देखिएको छ र झण्डै ३८ हजार जनाको मृत्यु भएको तथ्याङ्क भए पनि वैज्ञानिकहरूका अनुसार सङ्क्रमितमध्ये दुई देखि तीन प्रतिशत मानिसमात्र कोभिड १९ को कारणले मृत्यु हुने बताएका छन् । वैज्ञानिकहरूको आँकलन अनुसार परीक्षण भएका मानिसभन्दा परीक्षण नै नगरिकन आफैँ स्वस्थ भएका मानिस पनि प्रशस्त छन् र यो कोभिड १९ को आक्रमणबाट झण्डै ८५ प्रतिशत मानिस उपचारविना नै स्वस्थ हुन्छन् ।
विगतको पाठ
सन् १९१८ देखि १९२० सम्म इन्फ्लुएन्जाले आतङ्क मच्चाएको थियो । स्पेन फ्लु नाम दिइएको यस फ्लुद्वारा पाँच करोड मानिसको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ । कोभिड १९ को सङ्क्रमण र स्पेन फ्लु भाइरसको सङ्क्रमणको प्रकृतिमा केही समानता छन् । अहिले झन् अन्तर्राष्ट्रिय भ्रमणहरू अनिवार्य जस्तै भएको सन्दर्भमा कोभिड १९ को सङ्क्रमणलाई सामान्य ठान्न मिल्दैन । रोगव्याधिबाट फैलिने महामारीहरू धेरैजसो कहिले एसिया, कहिले अफ्रिकाबाट सुरु भएको इतिहास छ । यसकारण पनि केही देशले यी मुलुकलाई अपमानित समेत गर्ने गरेका छन् तर अन्तर्राष्ट्रिय भ्रमणलगायत प्रकृतिमा आएको परिवर्तनले यो कुनै एक देशको समस्या भनेर पन्छिन मिल्दैन र पृथ्वीमा भएका यस्ता घटनाले जो कोही जस्तोसुकै अवस्थाका भए पनि प्रभावित हुनसक्ने स्वाभाविक छ । सन् २००३ मा केही अफ्रिकी मुलुक विशेष गरेर नाइजेरियाले पोलियोका लागि प्रतिरोधात्मक कार्यक्रमहरू बन्द ग¥यो तर पछि संसारमा फेरि पोलियो बल्झियो र अहिलेसम्म पोलियो भाइरस सक्रिय भइरहेको छ । यसकारण कोभिड १९ को प्रकोप कुनै देशमा थोरै सङ्ख्यामा देखिएको छ भनेर यसको नियन्त्रण गर्न अर्को देशले चुप लागेर बस्न मिल्दैन र कसैलाई आरोप प्रत्यारोप लगाउनुभन्दा यसको नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायसँग सामूहिक प्रतिबद्धताका साथ हातेमालो गरेर अगाडि बढ्नुपर्छ ।
अपरिहार्य जनस्वास्थ्यका कार्यक्रम
विगतबाट पाठ लिँदा महामारीमा पहिलो आवश्यकता भनेको नियन्त्रण तथा सुरक्षाका लागि जनस्वास्थ्यका कार्यक्रम सञ्चालन गर्दा नागरिकको अधिकार र मानव हितका लागि गरिने विश्वव्यापी क्रियाकलापका बीचमा केही सन्तुलन मिलाउन आवश्यक हुन्छ । बिफर उन्मूलन कार्यक्रम गर्दा बिफरबाट प्रभावित मानिसलाई मात्र बिफरको खोप लगाइएन, बरु बिफर प्रभावित घरका मानिसलगायत सम्पूर्ण समुदायमा बिफरको खोप अनिवार्य गराइयो । बहुजन मानिसको हितलाई ध्यानमा राखेर केही देशमा भ्याक्सिन प्रयोग गर्न नचाहने मानिसलाई जबर्जस्ती भ्याक्सिन लिन लगाइयो । अहिले पनि इन्फ्ल्युएन्जाको मौसममा एसियाका केही मुलुकका नागरिकलाई इन्फ्ल्युएन्जाको भ्याक्सिन नलिई विकसित मुलुकमा प्रवेश दिइँदैन । यसकारण रोगव्याधिद्वारा फैलिएको महामारीबाट आफ्ना नागरिकको बृहत्तर हितका लागि सरकारले निर्ममतापूर्वक अन्तर्राष्ट्रिय समुदायले जस्तै कठोर कदम चाल्नैपर्छ ।
नेपालमा अहिलेको लकडाउन सान्दर्भिक छ । विश्व स्वास्थ्य सङ्घले नियन्त्रणका लागि चार तहमा वर्गीकरण गर्न सुझाएकोमा लकडाउन चौथो तथा अन्तिम तह हो तैपनि कमजोर स्वास्थ्य संयन्त्र र कतिपय अवस्थामा स्वास्थ्य सेवा प्रदान गर्ने सिलसिलामा अरुहरूसँग समेत भर पर्न‘पर्ने अवस्था र कहिलेकाहीँ जनहितमा जारी सरकारी सूचनासमेत अवज्ञा गर्ने परिपाटी भएको अवस्थामा नेपाल सरकारको यो तहको निर्णय स्वागतयोग्य छ । तर यो प्रक्रियालाई सरलीकृत गर्न पनि सरकार पछाडि पर्नहुँदैन भने कतिपय सन्दर्भमा अझै केही गर्न सकिने प्रयासका बारेमा पनि लेखाजोखा गर्न जरुरी छ ।
विगतको महामारीमा रोगको कारणभन्दा पनि उपभोग्य वस्तुहरूको समुचित वितरण प्रणाली नभएको र चरम अभाव भएकाले मानिसहरू बढी प्रभावित भए र कष्टपूर्ण जीवन गुजारे । अहिले विश्वभरिकै सरकारहरू विगतको यो समस्याप्रति चिन्तित भएको देखिन्छ । महामारीको कारणले काम गर्न नपाएका मानिसलाई समेत विभिन्न किसिमका सहयोग दिएर सुरक्षित बनाउने प्रत्याभूति सरकारहरूले गरेको देखिन्छ तर दैनिक आवश्यक वस्तुको उपलब्धताले मात्रै मानिसहरूको आवश्यकता पूरा हुनसक्दैन । मानिसले समाजसँग घुलमिल नगरिकन स्वस्थ जीवन प्राप्त गर्न सक्दैन । एक्लै अरुसँग अलग्गिएर बस्नुपर्दा सामान्यदेखि जटिल प्रकृतिको मानसिक समस्या उब्जिन सक्छ । उपभोग्य वस्तुको आपूर्ति र वितरण प्रणालीमा सुधारचाहिँ केही निश्चित समयपछि भएको देखिन्छ तर मानसिक प्रभाव वर्षौं पनि यथावत् रहेको इतिहास महामारी हुँदा देखिएको छ । त्यसका साथै मानसिक प्रभाव धेरै डरलाग्दो हुने वैज्ञानिकहरू बताउँछन् ।
विश्का अधिकांश देशमा जस्तै नेपाल पनि लकडाउनमा छ यसकारण मानसिक स्वास्थ्यका बारेमा सुरुदेखि नै प्रतिबद्ध भएर योजनाबद्ध कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । केही सर्त र सल्लाहका साथ मानिसहरूको आवतजावत लगायत व्यक्तिगत दूरी कायम गर्न भनिए पनि सामाजिकरुपमा नजिक हुन अन्य विकसित मुलुकले चालेका कदम जस्तै नेपालले पनि चाल्न आवश्यक देखिन्छ ।
महामारीको अवस्थामा मानिसले विभिन्न तनाव झेल्ने गर्छन् । एकान्त हँुदैमा एकाग्रता प्राप्त हुँदैन, एकाग्रता प्राप्त गर्न व्यवस्थापन गर्न पनि जान्नुपर्छ । मनोवैज्ञानिकहरूका अनुसार एकाग्रता प्राप्त गर्न, त्रास बिर्साउन, सन्तुलित स्नायुप्रणाली विकास गर्न प्रकृतिसँगको सामीप्य आवश्यक हुन्छ । स्नायुप्रणालीमा हुने विभिन्न रासायनिक परिवर्तनले मानिसलाई शान्त या भनौँ मुडमा परिवर्तन गर्ने गर्छ । चिन्ता र उदासीनता कम गराउँछ भने बोटबिरुवाहरूले फाइटोनसाइड उत्पादन गर्ने हुँदा त्यसको प्रभावले तनाव कम हुने मात्र नभई रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । भौतिकरुपमा टाढा भए पनि भावनात्मक रुपमा मानिसहरू सधैँ नजिक हुनुपर्छ । यसकारण सामाजिक सञ्जालमार्फत सक्रिय रहेर विचार आदानप्रदान गरिरहनु आवश्यक हुन्छ भने प्रकृतिसँग साक्षात्कार हुन घरको छतमा उमारिएका ससाना बिरुवा, पार्क र सार्वजनिक स्थलमा सुरक्षित तरिकाले मनोविनोदका लागि बस्ने व्यवस्था मिलाउनुपर्छ ।
अहिले ब्रिटेनमा अत्यन्त कडा लकडाउनको व्यवस्था गरिएको छ तर त्यहाँ मानसिक स्वास्थ्यमा गम्भीर प्रभाव पार्ने भएकाले प्रकृतिसँग सान्निध्य प्राप्त गर्न मानिसहरूलाई छुट दिइएको छ जसअनुसार व्यायाम गर्न र पार्क आदि स्थलमा नागरिकलाई निश्चित सुरक्षाको मापदण्ड बनाई घुम्न या मनोरञ्जन गर्न दिइएको छ । यसका साथै पत्रकारहरूलाई पनि पठनयोग्य सामग्री पाठकसमक्ष पु¥याउन आह्वान गरिएको छ, यस्ता सामग्रीको उत्पादन गर्न कतिपय देशमा त झनै सरकारले पत्रकारहरूलाई विशेष सहयोग प्रदान गरेको छ ।
सतर्क बनौँ तर नतर्सौं
महामारी नौलो होइन, संसारमा आइरहेको छ कुनै न कुनै रुपमा । यसकारण यसलाई सहजताका साथ सामना गर्न सक्नुपर्छ । विश्वले यस्तो महामारी धेरै देख्यो र विजय प्राप्त गरिसकेको छ यसकारण सकरात्मक सोचका साथ सबै अघि बढ्ने हो भने कोरोनाविरुद्धको लडाइँमा पनि मानिसले अन्य रोगमा जस्तै विजय प्राप्त गर्नेछन् । कोभिड १९ सँग सतर्क बन्न आवश्यक छ तर त्रास लिनुपर्दैन ।
अहिले जी २० समूहका शक्तिशाली देशले सबैसँग मिलेर कोभिड १९ को प्रकोप नियन्त्रण गर्ने प्रतिबद्धतासहित प्राथमिकताका साथ सुरक्षाको उपाय गरेका छन् र ठूलो धनराशि अनुसन्धानमा खर्चिएका छन् । १०२ वर्षअघि अहिलेको जस्तो विकसित विज्ञान नभएको अवस्थामा समेत इन्फ्लद्रएन्जाको आक्रमणलाई मानिसहरूले निस्तेज बनाए भने कोभिड १९ लाई पनि मानिसले छिट्टै निस्तेज बनाउँछन् भन्नेमा शङ्का छैन ।
(लेखकसँग अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गरेको लामो अनुभव छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?