logo
२०७६ चैत्र २० बिहीवार

कोरोनाको आतङ्कमा अमेरिका

विचार/दृष्टिकोण |




कृष्णराज खनाल

यतिखेर अमेरिका हारेको छ । एउटा सिपाही वा देश हार्दा त्यो सिपाही वा देशलाई कस्तो अनुभव हुन्छ अहिले अमेरिकालाई त्यस्तै अनुभव भएको महसुस गरेको छु । अमेरिका विश्वको सर्वाधिक शक्तिशाली राष्ट्र हो, सामरिक युद्धका दृष्टिले । तर पनि ऊ हारेको छ एउटा भाइरससँग । अमेरिकामा बस्ने करोडौँ मानिस आफैसँग हारेका छन्, आतंकित बनेका छन् ।
चीनको वुहानमा पहिलोपटक देखापरेको कोभिड १९ अर्थात् कोरोना भाइरससँग अमेरिका हारेको हो । जहिलेसुकै प्रकृतिमाथि हामी सांसारिक प्राणीले हार्ने नै हो । प्रकृतिमाथि जबजब हामी धावा बोल्छौँ र उसमाथि हामी वज्र प्रहार गरिरहन्छौँ तब उसले पनि हामीमाथि जवाफी हमला लिइरहन्छ, जस्तालाई तस्तै ढिँडालाई निस्तै । शायद यो त्यसैको परिणति हो ।
करिब १० वर्षदेखि अमेरिकामा बस्दै आएको छु । अहिलेजस्तो प्राकृतिक विपद् न भूतो न भविष्यति नै हो भन्ने लाग्छ मलगायत मेरो पुस्तालाई । बूढापाकाहरूका मुखबाट सुन्छु, यस्तो सन्त्रस्त, भयावह र आतंकित परिस्थिति पहिलो र दोस्रो विश्वयुद्ध मात्र होइन, अमेरिकामा कहिल्यै पनि आएको थिएन, हामीले त देख्ने कुरै भएन, शताब्दी पुरानो इतिहासका पन्नाहरूमा थन्किएको भए थाहा भएन । ...तर योपटक अमेरिका अमेरिकाजस्तो छैन । जो कसैसँग भेटे पनि, जो कसैसँग कुरा गरे पनि उसको अनुहारमा, उसको भावभंगीमा, उसको बेचैनीमा अमेरिका हारेको आभास हुन्छ । संसारको कुनै शक्ति वा व्यक्तिसँग नहारेको अमेरिका एउटा विषाणुसँग हारेको छ । शक्तिवान देशलाई पनि एउटा विषाणुले केही क्षणमै, केही दिनमै कसरी धूलिसात् बनाउन सक्दोरहेछ भन्ने योभन्दा ठूलो प्रमाण खोज्न अन्यत्र जानैपर्दैन, अमेरिकाको वर्तमान परिस्थिति आँखै अगाडि देख्दा छर्लंग भएको छ । बुधबारमात्र अमेरिकी सिनेटमा दुई ट्रिलियन (खर्ब) डलरको राहत प्याकेज (कार्यक्रम) विनियोजन गर्ने सहमति हुनुले पनि यो पुष्टि हुन्छ । अमेरिकी इतिहासमै यति ठूलो एकीकृत राहत प्याकेज एउटा भाइरसविरुद्धको लडाइँका लागि घोषणा गरिएको छ ।
जीवनेच्छाका कारण मान्छे मर्न चाहँदैन । सकेसम्म नमर्न पाए हुन्थ्यो भन्ने नै चाहना हुन्छ । तर पनि प्रकृतिले हामीलाई हाम्रो इच्छा र चाहना अनुसार चल्न भने अनुमति दिन्नन् । सम्पूर्ण कुरा उनले नै नियन्त्रणमा लिएकी हुन्छिन्– सृष्टि, स्थिति र प्रलय । शायद यो त्यही प्रलयको संकेत हो । अहिले त्यही छ, त्यही भएको छ । यत्रो विशाल देश अमेरिकामा बसोवास गर्ने राष्ट्रपतिदेखि रातोबत्तीमा बसेर भिख माग्ने र सडक किनारामा सुत्नेसम्मका सबै पात्र र चरित्र हारेको अनुभूत गरिरहेका छन् ।
अमेरिकाका हरेक नागरिकले यतिखेर ठूलो संकट झेलेका छन् । हतप्रभ छन् । बाँच्नका लागि अनेक संघर्ष गरेका छन् । मर्नबाट डराएका छन् । त्यसैले त उनीहरू कुनै पनि हालतमा आफ्ना दैनिक अत्यावश्यक सामान वा खाद्यान्नबाट विमुख हुन नपरोस् भनेर ठूलाठूला होलसेल पसल वा खुद्रा पसलमा सरसामान किन्न लामबद्ध छन्, हारालुछ गरिरहेछन् । मृत्युबोध जीवनबोध हो । मृत्यु र जीवनबोध एकसाथ हिँडिरहेका हुन्छन् । जसले जीवनबोध गरेको छ, त्यो मृत्युदेखि पर भाग्छ । त्यसैले त उनीहरू भागिरहेका छन्, जिजीविषाका लागि, जीवन बाँच्नका लागि र पुकार गरिरहेछन् हे, जिसस यो संकटबाट हामीलाई पार लगाऊ ! तर यो प्रकृतिको नियम हो, न कि जिससको । अहिलेको संकट जिससको कुनै पनि क्षेत्राधिकारभित्र पर्ने विषय होइन । प्राकृतिक नियममा बाँधिने र प्रकृतिको नियमलाई अवलम्बन गर्ने यो सर्वाेत्तम समय हो ।
अमेरिका स्वतन्त्रता भएको मुलुक हो । वैयक्तिक स्वतन्त्रताको सर्वोच्चता रहेको अमेरिका यतिखेर खुम्चिएर बसेको छ । लाग्छ, मानिसहरू ठूलो कैदखानामा स्वकैद छन् । आफ्नो कोठा वा घरमा स्वनिर्वासित हुन बाध्य छन् । भैँसी देख्दा जोगी र जोगी देख्दा भैँसी डराए जसरी एकबाट अर्को र एक परिवारबाट अर्को परिवार सशंकित छ, डराएको छ । मानिसहरू घरबाट बाहिर निस्कन र हिँडडुल गर्न डराएका छन् । प्रत्येक गल्ली, चोक, पार्क, खेलमैदान, रंगशाला, जिम वा व्यायामशाला, कलेज वा स्कुल, चाइल्डकेयर सेन्टर, फिल्महल, ब्युटीपार्लर तथा सैलुन व्यवसायका ढोका बन्द छन् । सामाजिक तथा सांस्कृतिक र खेल गतिविधि ठप्प छन् । अधिकांश सरकारी वा गैरसरकारी संघसंस्था वा कार्यालयमा काम गर्ने कर्मचारी घरबाटै ‘वर्क फ्रम होम’ गरिरहेका छन् । कलेजका विद्यार्थी घरबाटै स्काइपमा क्लास लिन बाध्य छन् । सडकमा गाडीहरू एकदमै कम गुडेका छन् । सरकारले नै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आह्वान गरेको छ । सार्वजनिक यातायात, रेल, हवाई तथा पानीजहाजको उडान तथा गुडानमा ठूलो कटौती भएको छ । कतिपय सानादेखि ठूल्ठूला व्यापार व्यवसाय बन्दप्रायः छन् ।
अमेरिकामा दुई हप्ताको बीचमा करिब तीन लाख मानिसले जागिरबाट हात धोएका छन् र यो संख्या केही दिनमा लाखौँ बढ्नेछ । रेष्टुरेन्ट वा अरू कफी पसलमा बसेर खान मनाही गरिएको छ । कलकारखाना, उद्योग र होटल व्यवसाय चौपट छ । सधैँ भीडभाड हुने डाउनटाउन मृत सहरमा रूपान्तरण भएको छ । पौराणिक कथाहरूमा चित्रित राक्षसहरूले देवताहरूविरुद्ध सिर्जना गरेको आतङ्क जस्तै कोरोना आतङ्कले अमेरिका त्राहिमाम् छ । लाखौँ मानिस कालको मुखमा पुग्ने अनुमान गरिएको छ ।
के अमेरिका यो महाव्याधिको दशाबाट बौरिएला ? यसै भन्न सकिने स्थिति छैन । हामीले प्रकृतिमाथिको दोहन र अत्याचार नरोक्ने हो भने फेरि पनि यस्तै यस्तै भाइरस वा जीवाणुले हामीमाथि निरन्तर प्रहार गरिरहन्छन् । माल्थसको सिद्धान्तले पनि त्यही भन्छ, होइन र ?
(लेखक अमेरिकामा रहेर पत्रकारिता गर्नुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?