logo
२०८० चैत्र १६ शुक्रवार



नागरिकप्रति जिम्मेवार सरकार (सम्पादकीय)

विचार/दृष्टिकोण |




नोवल कोरोना भाइरस (कोभिड–नाइन्टिन) ले समस्याग्रस्त चीनको वुहानबाट नेपाल ल्याएर भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा रहेका नेपाली त्यहाँको व्यवस्थापनमा सन्तुष्ट रहेका छन् । आइतबार उहाँहरूलाई विशेष विमानको व्यवस्था गरी वुहानबाट ल्याइएको थियो । खरिपाटीमा रहेका उहाँहरूले आफूले सोचेभन्दा राम्रो व्यवस्थापन पाएको भन्दै बस्न, खानदेखि इन्टरनेटको सुविधा उपलब्ध रहेको बताउनुभएको छ । विश्व स्वास्थ्य
सङ्गठनको मापदण्डअनुसार नेपालले सुरक्षात्मक स्वास्थ्य विधि अपनाएकाले खरिपाटीमा रहेका र वरिपरि बस्तीमा कुनै जोखिम नरहेको विज्ञहरूले बताएका छन् । नेपाल ल्याइनुुअघि चीनको विमानस्थलदेखि नेपालसम्म पटक पटक उहाँहरूको स्वास्थ्य परीक्षण गरिएको र खरिपाटीमा पूर्ण सावधानीपूर्वक क्वारेन्टाइन सञ्चालन गरिएकाले सम्बन्धितलाई मनोवैज्ञानिक रूपमा ढुक्क बनाएको छ । हालसम्मका परीक्षणमा सङ्क्रमणको कुनै लक्षण नपाइएका उहाँहरू र उपचार तथा अन्य व्यवस्थापनमा संलग्न व्यक्ति पनि पूर्णतः सुरक्षित रहने चिकित्सकहरूले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित अधिकारीलाई कोभिडविरुद्ध लाग्न र सावधानी अपनाउन निर्देशन दिनुभएपछि खरिपाटीमा ४३ श्ययाको आइसोलेसन वार्ड तयार गरिएको हो । हाल उक्त केन्द्रमा विश्व स्वास्थ्य सङ्गठको मापदण्ड अनुसार स्वास्थ्य निगरानी, परीक्षण तथा आवश्यकता अनुसार उपचार गर्ने गरी चीनबाट फर्काइएकालाई राखिएकाले सरकारको प्रयास प्रशंसनीय देखिएको छ । क्वारेन्टाइनमा ६० वटा कोठामा १९९ बेडको व्यवस्था गरिएको छ र एउटा कोठामा उचित दूरीको फरकमा एकदेखि तीन जनासम्मको सामूहिक बसोवासको व्यवस्था गरिएको छ । त्यहाँ रहेका व्यक्ति सन्तुष्ट मात्र छैनन् रोगको जोखिम पनि देखिँदैन । हालसम्म स्वस्थ रहेका उहाँहरूबाट अरूलाई रोग सर्ने कुनै सम्भावना नरहने विज्ञको विश्वास छ ।
आकस्मिक समस्याको व्यवस्थापन आकस्मिक रूपमा नै गर्नुपर्ने हुन्छ । यस्तो समस्यामा विभिन्न पक्षको समन्वय हुन आवश्यक पर्छ । सरकारले सबै पक्षमा वैज्ञानिक र स्वास्थ्यमैत्री वातावरणमा क्वारेन्टाइन सञ्चालन गरिएकाले स्वयं त्यहाँ रहेका नेपाली दाजुभाइले सन्तोष मानिरहनुभएको छ तर बाहिर विभिन्न सामाजिक सञ्जाल र अनौपचारिक कुराकानीमा क्वारेन्टाइनका बारेमा नकारात्मक सन्देश फैलाउने प्रयास पनि भएका छन् । यस्तै अवस्थामा जिम्मेबार पत्रकारिताको भूमिका बढ्नेछ । क्वारेन्टाइमा रहँदा ज्वरो, रुघाखोकी देखिए तत्काल परीक्षण हुने र आइसोलेसनमा राखिने व्यवस्था मिलाइएकाले त्यहाँ रहने र खरिपाटीवासी कसैलाई पनि आत्तिनुपर्ने अवस्था छैन । यस विपरीत सत्यतथ्य नबुझी गरिएको हल्लाले ठूलो तरङ्ग नल्याए पनि सर्वसाधारण, खरिपाटीमा नहुने व्यक्ति, उहाँहरूका परिवार र खरीपाटीवासीमा नकारात्मक बुझाइ फैलिन सक्ने भएकाले अनधिकृत सूचना प्रवाह गर्ने प्रवृत्तिविरुद्ध सरकारले नियन्त्रणात्मक कारबाही गर्नु आवश्यक देखिएको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को गुम्बा बस्तीमा फैलिएको मौसमी रुघाखोकीलाई कोरोनो भाइरस भएको अनर्गल प्रचार गरिएको थियो तर सत्य त्यो थिएन । नेपालमा यतिधेरै सङ्ख्यामा उद्धार गरी क्वारेनटाइनमा राखिएको यो पहिलो घटना हो । यसअघि अफ्रिकामा फैलिएको इबोला भाइरसको परीक्षण गर्ने सिलसिलामा केही नेपाली सेना तथा नेपाल प्रहरीलाई यस्तै क्वारेनटाइनमा राखिएको थियो । त्यसले यति धेरै प्रचार पाएको थिएन । क्वारेन्टाइनमा राखेर निगरानी तथा उपचार गर्नु नेपालको नयाँ अनुभव भएकाले यसबाट थप शिक्षा हासिल गर्नु आवश्यक छ । आगामी दिनमा हुनसक्ने यस्तै प्रकोप नियन्त्रण गर्न नेपाललाई खुला स्थानलगायत चिकित्सकीय पूर्वाधार आवश्यक पर्ने सत्यलाई भने इन्कार गर्न हुँदैन । प्रकृति वा रोगव्याधको प्रकोपमा आवश्यक पर्ने खुलास्थानको अभावमा बस्तीबीचमा यस्ता शिविर राख्नुपर्ने बाध्यता हटाउनैपर्ने देखिन्छ  । यस सन्दर्भमा खरिपाटीका बासिन्दाले देखाउनुभएको चिन्ता र चासोलाई अत्युक्ति भन्नुहुँदैन तर उहाँहरूको चिन्तालाई अतिरञ्जना गरिनुलाई स्वाभाविक भन्न सकिँदैन । बरु यो चिन्ताले आगामी दिन सहरी क्षेत्रबाहिर यस्ता स्थानको पहिचान गरी आपत्कालीन शिविरका रूपमा उपयोगका लागि प्रेरित गरेको भनेर बुझ्नु आवश्यक छ । खरिपाटीबाहिर पनि स्वास्थ्य सुरक्षाका लागि प्रत्येक नागरिक र सरकारको जिम्मेबारी रहन्छ ।
आफूले गर्नुपर्ने तयारी वा होसियारीमा उदासीन रहने अनि सरकार र सरकारी निकायले गरेका काममा दोष मात्र लगाएर समस्याको
समाधान हुन सक्दैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?